29
अरीएललाई धिक्कार, ए अरीएल, सहर जहाँ दाऊदले छाउनी हाले ! वर्षमाथि वर्ष थप् । चाडहरू फेरो मार्दै आऊन् !2 तर म अरीएललाई घेरा हाल्नेछु, र त्‍यसले विलाप र शोक गर्नेछ । त्‍यो मेरो निम्ति बलिको वेदी जस्‍तो हुनेछ ।3 तेरो विरुद्धमा गोलाकार छाउनी म हाल्नेछु र तेरो विरुद्धमा पर्खालसहित घेरा म हाल्नेछु, र तेरो विरद्धमा घेरा-मचानले म घेर्नेछु ।4 तँ जमिनमा ढालिनेछस् र जमिनबाट बोल्नेछस् । तँ धूलोबाट मलिन स्‍वरमा बोल्नेछस् । तेरो आवाज जमिनबाट बोल्ने आत्मा जस्‍तै हुनेछ र धूलोबाट तेरो आवाजले सुस्केर हाल्नेछ ।5 ठूलो सङ्ख्यामा भएका तेरा आक्रमणकारीहरू मसिनो धूलो जस्ता हुनेछन् र असङ्‌ख्य निर्दयीहरू उडेर जाने भुस जस्‍तै हुनेछन् । यो तुरुन्‍तै, एकै क्षणमा नै हुनेछ ।6 सर्वशक्तिमान् परमप्रभु तँकहाँ गर्जन, भूकम्प, ठूलो आवाज, शक्तिशाली हावाहुरी र हिंस्रक आँधी र भस्‍म पार्ने आगोको ज्वालासहित आउनुहुनेछ ।7 यो सपना जस्‍तो अर्थात् रातको दर्शन जस्‍तो हुनेछः सबै जातिहरूका हुलले अरीएल र त्‍यसको किल्ला विरुद्धमा लडाइँ गर्नेछन् । त्‍यसमाथि दबाब पार्न तिनीहरूले त्‍यसलाई र त्‍यसका किल्लाहरूलाई आक्रमण गर्नेछन् ।8 यो भोकाएको मानिसले खाइरहेको सपना देखेको, तर त्‍यो ब्युँझदा त्‍यसको पेट रित्तो भए जस्‍तै हुनेछ । यो तिर्खाएको मानिसले पानी पिइरहेको सपना देखेको, तर त्‍यो ब्युँझदा आफ्नो प्यास नमेटिएर छट्पटाइरहेको जस्‍तै हुनेछ । हो, सियोन पर्वतको विरुद्धमा लडाइँ गर्ने धेरै जातिहरूलाई त्‍यस्तै हुनेछ ।9 आफै चकित होओ र अचम्म मान । आफैलाई अन्धा बनाओ र अन्धा होओ ! मतवाला होओ, तर दाखमद्यले होइन । लरखराओ, तर मद्यले होइन ।10 किनकि परमप्रभुलले तिमीहरूमाथि गहिरो निद्राको आत्मा खन्‍याउनुभएको छ । उहाँले तिमीहरू अर्थात् अगमवक्ताहरूका आँखाहरू बन्‍द गर्नुभएको छ र तिमीहरू अर्थात् दर्शीहरूलाई, तिमीहरूको शिरहरू ढाक्‍नुभएको छ ।11 सबै प्रकाश तिमीहरूको निम्ति मोहोर लगाइएको एउटा पुस्तक जस्‍तो हुनेछ, जसलाई मानिसहरूले कोही जान्‍ने मानिसलाई "पढिदिनुहोस्" भन्‍दै देलान् । उसले पनि भन्‍छ, "म पढ्न सक्दिनँ, किनकि यसमा मोहोर लगाइएको छ ।"12 कोही पढ्न नसक्‍नेलाई "यो पढिदिनुहोस्" भन्‍दै दिँदा, उसले भन्‍छ, "म पढ्न सक्दिनँ ।"13 परमप्रभुले भन्‍नुभयो, "यी मानिसहरू आफ्ना मुखले मेरो नजिक आउँछन् र आफ्ना ओठले मेरो आदर गर्छन्, तर तिनीहरूका हृदय मबाट टाढा छ । मेरो निम्ति तिनीहरूले गर्ने आदरचाहिँ मानिसहरूले सिकाएका आज्ञा मात्र हुन् ।14 यसकारण, हेर्, म यी मानिसहरूका माझमा अचम्मका कुरा, आश्‍चर्यमाथि आश्‍चर्य गर्नलाई अघि बढ्नेछु । तिनीहरूका बुद्धिमान् मानिसहरूका बुद्धि नष्‍ट हुनेछ र तिनीहरूका विवेकशील मानिसहरूका समझ लोप हुनेछ ।15 परमप्रभुबाट आफ्ना योजनाहरूलाई गहन रूपमा लुकाउनेहरू र अन्धकारमा काम गर्नेहरूलाई धिक्कार ! तिनीहरू भन्‍छन्, "हामीलाई कसले देख्छ, र हामीलाई कसले चिन्‍छ ?16 तिमीहरूले कुराहरूलाई उल्टा बनाउँछौ ! के कुमालेलाई माटो जस्‍तै ठान्‍ने, ताकि बनाइएको थोकले आफूलाई बनाउनेलाई यसो भनोस्, "त्‍यसले मलाई बनाएको होइन" वा बनाएको थोकले आफूलाई बनाउनेलाई भन्‍ने, "त्‍यसले मलाई बुझ्दैन ?"17 केही क्षणमा नै लेबनानलाई खेत बनाइनेछ र खेतचाहिँ जङ्‌गल हुनेछ ।18 त्‍यो दिनमा बहिराले वचनको पुस्तक सुन्‍नेछ र अन्धाका आँखाले गहन अन्धकारबाट देख्‍नेछ ।19 अत्‍यचारमा परेकाहरूले फेरि परमप्रभुमा आनन्‍द मनाउनेछन् र मानिसहरूका माझमा भएका गरीबहरूले इस्राएलको परमपवित्रमा आनन्‍द मनाउनेछन् ।20 किनभने निर्दयीहरूको अन्‍त हुनेछ र गिल्ला गर्नेहरू लोप हुनेछन् । दुष्‍ट गर्न रुचाउनेहरू सबै जनालाई निर्मूल पारिनेछ,21 जसले एक वचनले मानिसहरूलाई दोष लगाउने बनाउँछ । तिनीहरूले न्‍याय खोज्‍ने व्यक्तिलाई ढोकामा पासो थाप्छन् र झूट बोलेर धर्मीलाई तल खसाल्छन् ।22 यसकारण, परमप्रभुले याकूबको घरानाको बारेमा, अब्राहामलाई उद्धार गर्नुहुने परमप्रभुले यसो भन्‍नुहुन्‍छ, "याकूब कुनै पनि हालतमा लज्‍जित हुनेछैन, न उसको मुहार नै पहेँलो हुनेछ ।23 तर उसले आफ्ना छोराछोरी अर्थात् मेरा हातका कामलाई देख्छ, तब तिनीहरूले मेरो नाउँलाई पवित्र तुल्याउनेछन् । तिनीहरूले याकूबको परमपवित्रको नाउँलाई पवित्र तुल्याउनेछन् र तिनीहरू इस्राएलको परमेश्‍वरको भयमा खडा हुनेछन् ।24 ती आत्मामा गल्ती गर्नेहरूले समझ प्राप्‍त गर्नेछन् र गनगन गर्नेहरूले ज्ञान सिक्‍नेछन् ।"