28
एफ्राइमका प्रत्येक मतवालाहरूले लगाएका गौरवशाली फूलमाला र त्यसको महिमित सुन्दरताको ओइलाउने फूललाई, दाखमद्यले लट्ठ परेकाहरूका हरियाली बेँसीको शिरमा लगाइएको फूलमालालाई धिक्कार !2 हेर, परमप्रभुले शक्तिशाली र बलियो एक जनालाई, असिनाको हुरीबतासझैँ अनि विनाशकारी आँधीझैँ, मुसलधार झरी र बाढीको पानीझैँ पठाउनुहुन्छ र उहाँले प्रत्येक फूलमालालाई जमिनमा फाल्नुहुनेछ ।3 एफ्राइमका मतवालाहरूका गौरवशाली फूलमालालाई खुट्टाले कुल्चिमिल्ची गरिनेछ ।4 त्यसको महिमित सुन्दरताको ओइलाउने फूल अर्थात् धनी बेँसीको शिरमा रहेको छ, त्यो पहिले पाकेको अञ्जीर जस्तो हुनेछ, जब कसैले त्यसलाई देख्छ, तब आफ्नो हातमा हुँदा नै त्यसले त्यो निलिहाल्छ ।5 त्यो दिनमा सर्वशक्तिमान् परमप्रभु नै सुन्दर मुकुट बन्नुहुनेछ र आफ्ना बाँकी रहेका मानिसहरूका निम्ति महिमाको मुकुट बन्नुहुनेछ ।6 न्याय आसनमा बस्नेको निम्ति न्यायको आत्मा र आफ्ना ढोकाहरूमा आफ्ना शत्रुलाई फर्काउनेहरूका निम्ति सामर्थ्य हुनुहुनेछ ।7 तर यिनीहरू पनि दाखमद्यले लरबराउँछन् र कडा मद्यले लरखराउँछन् । पूजाहारी र अगमवक्ता कडा मद्यले लरखाराउँछन् र दाखमद्यले तिनीहरूलाई निल्छ । कडा मद्यले तिनीहरू लरखराउँछन्, तिनीहरू दर्शनमा लरखराउँछन् र निर्णयमा लरबराउँछन् ।8 साँच्चै नै सबै टेबिलहरू बान्ताले ढाकेको छ, जसले गर्दा त्यहाँ कुनै सफा ठाउँ नै छैन ।9 त्यसले कसलाई ज्ञान सिकाउनेछ र त्यसले कसलाई सन्देश बताउनेछ ? जसलाई दूध छोडाइएका छन् वा जसलाई भर्खरै दूधबाट अलग गरिका छन् ?10 किनकि यो आज्ञामाथि आज्ञा, आज्ञामाथि आज्ञा, नियममाथि नियम, नियममाथि नियम, अलिकति यहाँ, अलिकति त्यहाँ ।11 साँच्चै, यी मानिसहरूसँग उहाँले गिल्ला गर्ने ओठहरू र विदेशी भाषामा बोल्नुहुनेछ ।12 विगतमा उहाँले तिनीहरूलाई भन्नुभयो, "यो विश्राम हो, जो थकित हुन्छ त्यसलाई विश्राम गर्न देओ । अनि यो ताजा हुने कुरा हो", तर तिनीहरू सुन्दैनन् ।13 त्यसैले तिनीहरूको निम्ति परमप्रभुको वचन आज्ञामाथि आज्ञा, आज्ञामाथि आज्ञा, नियममाथि नियम, नियममाथि नियम, अलिकति यहाँ, अलिकति त्यहाँ हुनेछ । ताकि तिनीहरू जान र पछि हट्न र तोडिन र समातिन सक्छन् ।14 त्यसैले ए गिल्ला गर्नेहरू हो, तिमीहरू जसले यरूशलेममा भएका यी मानिसहरूमाथि राज्य गर्छौ, तिमीहरूले परमप्रभुको वचन सुन ।15 तिमीहरूले यसो भनेका हुनाले यस्तो हुनेछ, "हामीले मृत्युसित करार बाँधेका छौँ र चिहानसँग हामी समहति गरेका छौँ । त्यसैले डरलाग्दो कोर्राले हामीलाई भेट्टाउँदा, त्यो हामीकहाँ पुग्नेछैन । किनकि हामीले झूटलाई हाम्रो शरणस्थान बनाएका छौँ र असत्यमा वास बसेका छौँ ।16 यसकारण परमप्रभु परमेश्वर भन्नहुन्छ, "हेर्, म सियोनमा एउटा जगको ढुङ्गा, जाँचिएको ढुङ्गा, बहुमूल्य कुने-ढुङ्गा, एउटा बलियो जग राख्नेछु । जसले विश्वास गर्छ ऊ लाजमा पर्नेछैन ।17 न्यायलाई म नाप्ने लट्ठी र धार्मिकतालाई साहुल बनाउनेछु । असिनाले झूटको शरणस्थानलाई बढार्नेछ र बाढीले लुक्ने ठाउँलाई डुबाउनेछ ।18 मृत्युसँग गरेको तिमीहरूको करार खारेज हुनेछ र चिहानसँगको तिमीहरूको सहमति रहनेछैन । जब उर्लँदो बाढी आउँछ, त्यसले तिमीहरूलाई डुबाउनेछ ।19 जब त्यो आउँछ त्यसले तिमीहरूलाई डुबाउनेछ, त्यो हरेक बिहान आउनेछ र त्यो दिन र रात आउनेछ । जब सन्देश बुझिन्छ, त्यसले त्रास पैदा गर्नेछ ।20 किनकि तन्केर सुत्नलाई ओछ्यान छोटो छ र आफूलाई ढाक्न कम्बल सानो छ ।21 पराजीम पर्वतझैँ परमप्रभु उठ्नुहुनेछ । गिबोनको बेँसीमा झैँ आफ्नो काम, आफ्नो अनौठो काम र उहाँको अद्भूत काम गर्न उहाँ उठ्नुहुनेछ ।22 यसकारण, अब गिल्ला नगर, नत्र तिमीहरूको बन्धन झन् कसिलो पारिनेछ । मैले सर्वशक्तिमान् परमप्रभु परमेश्वरबाट पृथ्वीको विनाशको उर्दी सुनेको छु ।23 ध्यान देओ र मेरो आवाज सुन । ध्यान मग्न होओ र मेरा वचनहरू सुन ।24 छर्नलाई दिनभरि जोत्ने किसानले के जमिन जोत्ने काम मात्र गर्छ र ? के उसले बाँझो फुटाउने र डल्लो फुटाउने मात्र गर्छ र ?25 जब त्यसले जमिन तयार पार्छ, के त्यसले सूँप छर्ने र जीराको बीउ फैलाउने, गहूँलाई ड्याङमा रोप्ने र जौलाई ठीक ठाउँमा र कठियालाई यसको छेउहरूमा रोप्दैन ?26 त्यसको परमेश्वरले त्यसलाई सिकाउनुहुन्छ । उहाँले त्यसलाई बुद्धिमानीसाथ सिकाउनुहुन्छ ।27 अनि सूँपलाई हतौडाले झारिँदैन, न जीरालाई झार्न गाडा नै गुडाइन्छ । तर सूँपलाई लट्ठीले कुटिन्छ र जीरालाई लौरोले कुटिन्छ ।28 रोटी बनाउन अन्नलाई पिसिन्छ, तर अति मिहिन पारिँदैन, र त्यसको गाडाका पाङ्ग्राहरू र त्यसका घोडाहरूले यसलाई छरे तापनि त्यसका घोडाहरूले यसलाई चुरचुर पार्दैनन् ।29 यो पनि सर्वशक्तिमान् परमप्रभुबाट नै आउँछ, जो शिक्षा दिनमा अति असल र बुद्धिमा उत्कृष्ट हुनुहुन्छ ।