26
त्‍यस दिन यहूदाको देशमा यो गीत गाइनेछः हामीसँग बलियो सहर छ । परमेश्‍वरले मुक्तिलाई यसको पर्खालहरू र घेराहरू बनाउनुभएको छ ।2 ढोका खुल्ला गर, जसले गर्दा विश्‍वास कायम राख्‍ने धर्मी जातिभित्र आउन सकोस् ।3 तपाईंमा लागेको मनलाई, तपाईंले उसलाई पूरा शान्‍तिमा राख्‍नुहुनेछ, किनकि उसले तपाईंमा विश्‍वास गर्छ ।4 सदासर्वदा परमप्रभु विश्‍वास गर । किनभने परमप्रभु, परमप्रभु नै अनन्‍त चट्टान हुनुहुन्‍छ ।5 किनकि घमण्डसाथ जिउनेहरूलाई उहाँले तल झार्नुहुनेछ । किल्लाबन्‍दी गरिएको सहरलाई उहाँले तल ढाल्नुहुनेछ, उहाँले तल जमिनमा ढाल्नुहुनेछ, उहाँले जमिनमा पल्टाउनुहुनेछ । उहाँले त्‍यसलाई माटोमा मिलाउनुहुनेछ ।6 यसलाई गरीबहरूका खुट्टाले र खाँचोमा परेकाहरूका खुट्टाले कुल्चनेछ ।7 ए धर्मी जन, धर्मीको मार्ग सीधा हुन्‍छ । धर्मी जनको मार्गलाई तपाईंले सोझो बनाउनुहुन्‍छ ।8 हे परप्रभु, तपाईंको न्‍यायको मार्गमा, हामी तपाईंलाई पर्खन्‍छौँ । तपाईंको नाउँ र तपाईंको प्रतिष्‍ठा नै हाम्रो चाहना हो ।9 रातमा मैले तपाईंको इच्‍छा गरेँ । हो, मेरो आत्माले मभित्र उत्कट रूपमा तपाईंको खोजी गर्छ । किनकि जब तपाईंको न्‍यायहरू पृथ्वीमाथि आउँछन्, तब संसारका बासिन्‍दाहरूले धार्मिकताको बारेमा जान्‍दछन् ।10 दुष्‍ट व्यक्तिलाई कृपा गरियोस्, तर त्‍यसले धार्मिकता जान्‍नेछैन । सोझाको देशमा उसले दुष्‍टतासाथ काम गर्छ र परमप्रभुको ऐश्‍वर्यलाई देख्दैन ।11 हे परमप्रभु, तपाईंको हात उचालिएको छ, तर तिनीहरूले देख्दैनन् । तर मानिसहरूका निम्ति तपाईंको जोशलाई तिनीहरूले देख्‍नेछन् र लाजमा पारिन्‍छन्, किनभने तपाईंका विरोधीहरूका आगोले तिनीहरूलाई नष्‍ट पार्नेछ ।12 हे परमप्रभु, तपाईंले हाम्रा निम्ति शान्‍ति ल्याउनुहुनेछ । किनकि साँच्‍चै, हाम्रा सबै कामहरू पनि तपाईंले हाम्रा निम्ति पूरा गर्नुभएको छ ।13 हे परमप्रभु, हाम्रा परमेश्‍वर, तपाईंबाहेक अरू मालिकहरूले हामीमाथि शासन गरेका छन् । तर तपाईंको नाउँको मात्र प्रशंसा हामी गर्नेछौँ ।14 तिनीहरू मृत छन्, तिनीहरू जिउनेछैनन् । तिनीहरू मरेका छन्, तिनीहरू उठ्नेछैनन् । साँच्‍चै, न्‍यायको निम्ति तपाईं आउनुभयो र तिनीहरूलाई नष्‍ट पार्नुभयो, र तिनीहरूका सबै सम्झना नाश पार्नुभयो ।15 हे परमप्रभु, तपाईंले जातिको वृद्धि गर्नुभएको छ, तपाईंले जातिको वृद्धि गर्नुभएको छ । तपाईंको आदर गरिन्‍छ । तपाईंले देशका सबै सिमानालाई विस्तार गर्नुभएको छ ।16 हे परमप्रभु, कष्‍टमा तिनीहरूले तपाईंलाई हेरेका छन् । तिनीहरूमाथि तपाईंको अनुशासन पर्दा तिनीहरूले प्रार्थना गुनगुनाएका छन् ।17 गर्भवती स्‍त्रीले बालक जन्‍माउने समय नजिक भएझैँ, तिनी प्रसववेदनामा हुँदा झैँ र आफ्नो प्रसववेदनामा चिच्‍याउँदा झैँ, हे परमप्रभु, तपाईंको सामु हामी त्‍यस्तै छौँ ।18 हामी गर्भवती भएका छौँ, हामी प्रसववेदनामा परेका छौँ, तर यो त हामीले हावालाई मात्र जन्‍माएको जस्‍तो भएको छ । हामीले पृथ्वीमा उद्धार ल्याएका छैनौँ र संसारका बासिन्‍दाहरू ढलेका छैनन् ।19 तपाईंका मृतहरू जीवित हुनेछन् । तिनीहरूका मृत शरीरहरू जीवित हुनेछन् । ए धूलोमा बस्‍नेहरू हो, उठ र आनन्‍दको गीत गाओ । किनकि तपाईंको शीत बिहानको शीत हो, अनि पृथ्वीले आफ्ना मृतकहरूलाई ल्याउनेछ ।20 ए मेरा मानिसहरू हो, जाओ, आफ्नो कोठाभित्र पस र पछि फर्केर आफ्ना ढोकाहरू बन्‍द गर । क्रोध बितेर नगएसम्म, केही बेर लुक ।21 किनकि हेर, पृथ्वीका बासिन्‍दाहरूलाई तिनीहरूका अपराधको दण्ड दिनलाई परमप्रभु आफ्नो ठाउँबाट बाहिर आउन लाग्‍नुभएको छ । पृथ्वीले आफ्नो रक्तपात प्रकट गर्नेछ र आफ्ना मारिएकाहरूलाई फेरि लुकाउनेछैन ।