25
हे परमप्रभु, तपाईं मेरो परमेश्वर हुनुहुन्छ । तपाईंलाई म उच्च पार्नेछु, तपाईंको नाउँको म प्रशंसा गर्नेछु । किनकि धेरै अघि योजना बनाइएका कुराहरू, सुन्दर कुराहरू तपाईंले पूर्ण विश्वस्ततासाथ गर्नुभएको छ ।2 किनकि तपाईंले सहरलाई एउटा थुप्रो, किल्लाबन्दी गरेको सहरलाई भग्नावशेष र परदेशीहरूका किल्ला भएको सहरलाई नाश गर्नुभएको छ ।3 यसकारण बलिया मानिसहरूले तपाईंको महिमा गर्नेछन् । निर्दयी सहरका जातिहरूले तपाईंको डर मान्नेछन् ।4 किनकि गरीबको निम्ति तपाईं सुरक्षाको ठाउँ, खाँचोमा परेकाको निम्ति शरणस्थान - हुरीबाट बच्ने घर र तापबाट बच्ने छहारी हुनुभएको छ । जब निर्दयीहरूको सास पर्खालविरुद्ध आँधी जस्तै थियो,5 र सुक्खा जमिनको ताप जस्तो थियो, तपाईंले विदेशीहरूका आवाजलाई निस्तेज गर्नुभयो, जसरी तापलाई बादलको छायाले निस्तेज पार्छ, त्यसरी नै निर्दयीको गीतको जवाफ दिइन्छ ।6 यस पर्वतमाथि सर्वशक्तिमान् परमप्रभुले सबै मानिसहरूका निम्ति मोटा-मोटा थोकहरू, उत्तम मद्यहरू, स्वादिष्ठ मासु र मीठो मद्यको भोज तयार पार्नुहुनेछ ।7 उहाँले मानिसहरूमाथिका छकनीहरू, सबै जातिहरूमाथि बुनिएका जालोहरू यही पर्वतमाथि नाश गर्नुहुनेछ ।8 उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ, र परमप्रभु परमेश्वरले सबैको मुहारको आँसु पुछ्नुहुनेछ । उहाँले आफ्ना मानिसहरूको अपमानलाई सबै पृथ्वीबाट हटाउनुहुनेछ, किनकि यो परमप्रभुले भन्नुभएको छ ।9 त्यस दिन यसो भनिनेछ, "हेर, उहाँ नै हाम्रो परमेश्वर हुनुहुन्छ । हामीले उहाँको प्रतिक्षा गरेका छौँ र उहाँले हामीलाई बचाउनुहुनेछ । उहाँ परमप्रभु हुनुहुन्छ । उहाँको उद्धारमा हामी खुसी हुनेछौँ र आनन्द मनाउनेछौँ ।10 किनकि यो पर्वतमा परमप्रभुको हातले विश्राम लिनेछ, अनि गोबरले भरिएको खाल्डोमा पराललाई कुल्चेझैँ मोआबलाई त्यसकै ठाउँमा कुल्चिइनेछ11 पौडी खेल्नेले पौडनलाई आफ्नो हात फैलाएझैँ तिनीहरूले त्यसको माझमा आफ्ना हातहरू फैलाउनेछन् । तर तिनीहरूका हातहरूका सीपहरूको बाबजुद पनि परमप्रभुले तिनीहरूका घमण्डलाई तल झार्नुहुनेछ ।12 तेरा किल्लाहरूका अग्ला पर्खालहरूलाई उहाँले तल जमिनमा माटोमा ढाल्नुहुनेछ ।