24
हेर्, परमप्रभुले पृथ्वीलाई रित्तो बनाउन, यसलाई विनाश पार्न, यसको सतहलाई बिगार्न र यसका बासिन्‍दाहरूलाई तितरबितर पार्न लाग्‍नुभएको छ ।2 यी मानिसहरूलाई झैँ पूजाहारीहरूलाई, नोकरलाई झैँ मालिकलाई, दासीलाई झैँ मालिक्‍नीलाई, किन्‍नेलाई झैँ बेच्‍नेलाई, ऋण दिनेलाई झैँ ऋण लिनेलाई, ब्याज लिनेलाई झैँ ब्याज दिनेलाई हुनेछ ।3 पृथ्वीलाई पूर्ण रूपमा विनाश गरिनेछ र पूर्ण रूपमा नाङ्‌गो बनाइनेछ । किनकि परमप्रभुले यो वचन बोल्नुभएको छ ।4 पृथ्वी सुक्‍खा हुनेछ र ओइलाउनेछ, संसार सुक्‍नेछ र ओइलाएर जानेछ । पृथ्वीका विशिष्‍ट मानिसहरू दुर्बल हुनेछन् ।5 पृथ्वीलाई यसका बासिन्‍दाहरूले दूषित पारेका छन्, किनभने तिनीहरूले व्यवस्था भङ्‌ग गरेका छन्, नियमहरू तोडेका छन् र अनन्‍तको करार उलङ्‌घन गरेका छन् ।6 यसकारण सरापले पृथ्वीलाई विनाश पार्छ र यसका बासिन्‍दाहरू दोषी भेट्टाइएका छन् । पृथ्वीका बासिन्‍दाहरू जलाइन्‍छन् र थोरै मानिसहरू मात्र बाँकी छन् ।7 नयाँ दाखमद्य सुक्छ, दाख ओइलिन्‍छ, सबै आनन्‍दित हृदयहरूले शोक गर्छन् ।8 खैँजडीको सुमधुर आवाज बन्‍द हुन्‍छ र आनन्‍द मनाउनेहरूको आनन्‍दको स्‍वर पनि बन्‍द हुन्‍छ । वीणाको आनन्‍द बन्‍द हुन्‍छ ।9 तिनीहरूले फेरि दाखमद्य पिउँदैनन् र गाउँदैनन्, र कडा मद्य पिउनेलाई त्‍यो तीतो हुन्‍छ ।10 गोलमालको सहरलाई भत्काइएको छ । हरेक घर बन्‍द गरिएको र रित्तो छ ।11 दाखमद्यको कारणले गर्दा सडकमा चिच्‍याहट छ । सबै आनन्‍द अन्धकार भएको छ, देशको खुसी लोप भएको छ ।12 सहर उजाड छोडिएको छ र ढोका भग्‍नावशेष भएर फुटेको छ ।13 किनकि जस्‍तो जैतूनको रूखलाई हल्लाउँदा, जस्‍तो अङ्‌गुर टिप्दा फाटफुट छुट्छ, सारा पृथ्वीभरि जातिहरू माझ यस्तै नै हुनेछ ।14 आफ्नो स्‍वरलाई तिनीहरूले उचाल्नेछन् र परमप्रभुको वैभवको जयजयकार गर्नेछन् र समुद्रबाट आनन्‍दसाथ कराउनेछन् ।15 यसकारण पूर्वमा परमप्रभुको महिमा गर, समुद्र टापुहरूमा परमप्रभु इस्राएलका परमेश्‍वरको नाउँलाई महिमा देओ ।16 हामीले पृथ्वीको सुदूर भागबाट गीतहरू सुनेका छौँ, "धर्मी जनको महिमा होस् !" तर मैले भनेँ, "म सुकेर जाँदैछु, म सुकेर जाँदैछु, मलाई धिक्कार ! धोकेबाजले धोकापूर्ण व्यवहार गरेको छ । हो, धोकेबाजले धेरै धोकापूर्ण व्यवहार गरेको छ ।17 ए पृथ्वीका बासिन्‍दाहरू, तिमीहरूमाथि त्रास, खाल्डो र पासो आइलागेको छ ।18 त्रासको आवाजदेखि भाग्‍ने खाल्डोमा पर्नेछ, खाल्डोको बीचबाट बाहिर निस्कने पासोमा पर्नेछ । स्वर्गका झ्यालहरू खोलिनेछन् र पृथ्वीका जगहरू हल्लिनेछन् ।19 पृथ्वी पूर्ण रूपमा टुट्नेछ, पृथ्वी चिरा पर्नेछ । पृथ्वीलाई डरलाग्दो किसिमले हल्लाइनेछ ।20 पृथ्वी मद्यले मातेको मानिसझैँ लरखराउनेछ र यो झुप्रोझैँ यताउता हल्लिनेछ । यसमाथि यसको पाप भारि हुनेछ र यो पतन हुनेछ अनि फेरि कहिल्यै उठ्नेछैन ।21 त्‍यस दिन परमप्रभुले स्वर्गका सेनाहरूलाई आकाशमा र पृथ्वीका राजाहरूलाई पृथ्वीमा दण्ड दिनुहुनेछ ।22 तिनीहरूलाई कैदीको रूपमा खाल्डोमा एकसाथ जम्मा गरिनेछ र झ्यालखानमा बन्‍द गरिनेछ । अनि धेरै दिनपछि तिनीहरूलाई दण्ड दिइनेछ ।23 तब चन्‍द्रमा लज्‍जित हुनेछ र सूर्य अपमानमा पर्नेछ, किनकि सर्वशक्तिमान् परमप्रभुले सियोन पर्वतमा र यरूशलेममा अनि महिमामा आफ्ना धर्मगुरुहरूका सामु राज्‍य गर्नुहुनेछ ।