23
टुरोसको बारेमा एउटा घोषणाः ए तर्शीशका पानी जहाजहरू हो कराओ । किनकि त्‍यहाँ न घर छ न बन्‍दरगाह नै छ । साइप्रसको देशबाट यो कुरा तिनीहरूलाई प्रकट गरिएको छ ।2 ए समुद्री तटका बासिन्‍दाहरू हो, मौन बस । समुद्रमा यात्रा गर्ने सीदोनका व्यापारीहरूले तिमीहरूलाई भरिदिएका छन् ।3 ठूला पानीमाथि शिहोरको अन्‍न थियो, नील नदीको उत्पादन त्‍यसको उब्जनी थियो । अनि त्‍यो जातिहरूको व्यापार भयो ।4 ए सीदोन, लज्‍जित हो, किनकि समुद्रले, समुद्रको शक्तिशालीले बोलेको छ । त्‍यसले भन्‍छ, "म प्रसव वेदनामा परेको छैन, न बालक जन्‍माएको छु, न मैले छोराहरू हुर्काएको छु, न छोरीहरू हुर्काएको छु ।5 मिश्र देशमा खबर आउँदा, टुरोसको विषयमा तिनीहरूले शोक गर्नेछन् ।6 तर्शीशपारि जाओ । ए समुद्र तटका बासिन्‍दाहरू हो, तिमीहरू विलाप गर ।7 ए आनन्‍दित सहर, के तँलाई यस्तो भएको छ, जसको उत्पत्ति प्राचीन समयमा नै भएको छ, जसका खुट्टाले त्‍यसलाई बसोबास गर्न विदेशी भूमिमा पुर्‍याएको छ ?8 मुकुटहरू दिने टुरोसको विरुद्धमा यो योजना कसले बनाएको हो, जसका व्यापारीहरू शासकहरू छन्, जसका व्यापारीहरू पृथ्वीमा नै आदरणीय छन् ?9 त्‍यसका घमण्ड र त्‍यसका सबै गौरवलाई अपमान गर्न, त्‍यसका पृथ्वीकै आदरणीयलाई लज्‍जित पार्न सर्वशक्तिमान् परमप्रभुले नै यो योजना बनाउनुभएको हो ।10 ए तर्शीशकी छोरी हो, नील नदीलाई जोतेझैँ आफ्नो खेत जोत् । टुरोसमा अब फेरि बजार-क्षेत्र छैन ।11 परमप्रभुले समुद्रमाथि आफ्नो हात पसार्नुभएको छ र उहाँले राज्‍यहरूलाई हल्लाउनुभएको छ । फोनिकेको विषयमा त्‍यसका किल्लाहरूलाई नाश गर्ने आज्ञा उहाँले दिनुभएको छ ।12 उहाँले भन्‍नुभयो, "ए सीदोनकी अत्‍याचारमा परेकी कन्‍या छोरी, तैँले फेरि आनन्‍द मनाउनेछैनस् । उठ्, साइप्रसमा पारि जा । तर तैँले त्‍यहाँ पनि विश्राम पाउनेछैनस् ।13 कल्दीहरूको देशलाई हेर् । यी मानिसहरू समाप्‍त भएका छन् । अश्शूरीहरूले त्‍यसलाई जङ्‌गली जनावरहरूको निम्ति उजाड-स्थान बनाएका छन् । तिनीहरूले आफ्ना घेरा-मचान खडा गरेका छन् । तिनीहरूले त्‍यसका दरबारहरू नष्‍ट गरे । तिनीहरूले त्‍यसलाई भग्‍नावशेषको थुप्रो बनाए ।14 ए तर्शीशका पानी जहाजहरू हो, कराओ । किनकि तिमीहरूका शरणस्थान विनाश गरिएको छ ।15 त्‍यो दिनमा, राजाका समयमा झैँ टुरोसलाई सत्तरी वर्षसम्म बिर्सिइनेछ । सत्तरी वर्षको अन्‍तमा टुरोसमा वेश्याको गीतमा जस्‍तै कुनै कुरा हुनेछ ।16 ए बिर्सिएकी वेश्या, एउटा वीणा ली र सहरमा जा । त्‍यो राम्ररी बजा, धेरै गीतहरू गा, ताकि तेरो सम्झना होस् ।17 सत्तरी वर्षपछि त्‍यो दिन यस्तो हुनेछ, परमप्रभुले टुरोसलाई सहायता गर्नुहुनेछ र त्‍यसले फेरि वेश्यावृत्ति गरेर पैसा कमाउन सुरु गर्नेछे, र त्‍यसले आफ्ना सेवाहरू पृथ्वीका सबै राज्‍यहरूलाई दिनेछे ।18 त्‍यसका नाफाहरू र कमाइहरू परमप्रभुको निम्ति अलग गरिनेछन् । ती भण्डारमा राखिने वा कोषमा जम्मा गरिनेछैन, किनकि त्‍यसका नाफाहरू पमप्रभुको उपस्थितिमा बस्‍नेहरूलाई दिइनेछ र तिनीहरूलाई प्रशस्त खाना आपूर्ति गर्न प्रयोग गरिनेछ, र यसरी तिनीहरूसँग उत्तम गुणस्तर लुगा हुनेछ ।