22
दर्शनको बेँसीको विषयमा एउटा घोषणाः के कारणले तिमीहरू सबै जना घरको छतमाथि गएका छौ ?2 होहल्लाले भरिएको सहर र खुसीले भरिएको नगरका आवाजहरू सुन्नलाई तिमीहरूले त्यसो गरेका हौ ? तिमीहरूका मृतहरू तरवारले मारिएको थिएनन् र तिनीहरू युद्धमा मरेनन् ।3 तिमीहरूका सबै शासकहरू एकसाथ भागे, तर धनुसमेत प्रयोग नगरी तिनीहरू समातिए । तिनीहरू धेरै टाढा भागेका थिए तापनि तिनीहरू सबै जना एकसाथ समातिए ।4 यसकारण मैले भनेँ, "मलाई नहेर, म धुरुधुरु रुनेछु । मेरा मानिसहरूका छोरीको विनाशको बारेमा मलाई सान्त्वना दिने कोसिस नगर ।5 किनकि दर्शनको बेँसीमा सर्वशक्तिमान् परमप्रभुको निम्ति कोलाहल, कुल्चिने, अलमल पार्ने र पर्खालहरू भत्काउने र मानिसहरू डाँडाहरूतिर रुने दिन हो ।6 रथीहरू र घोडचढीहरूका साथमा एलामले ठोक्रो लिनेछ र कीरले ढाललाई नाङ्गो बनाउँछ ।7 तेरा उत्तम बेँसीहरू रथहरूले भरिनेछन् र घोडचढीहरूले ढोकाहरूमा आफ्ना ठाउँ ओगट्नेछन् ।8 उहाँले यहूदाको सुरक्षालाई हटाउनुभयो । तिमीहरूले त्यस दिन वनको महलमा हतियारहरू हेर्यौ ।9 तिमीहरूले दाऊदका सहरका प्वालहरू देख्यौ, ती धेरै थिए र तिमीहरूले तल्लो तलाउबाट पानी जम्मा गर्यौ ।10 तिमीहरूले यरूशलेममा घरहरू गन्यौ र तिमीहरूले पर्खाललाई बलियो पार्न घरहरू भत्कायौ ।11 तिमीहरूले पुरानो पानीको तलाउको निम्ति पर्खालहरूको बीचमा एउटा जलाशय बनायौ । तर तिमीहरूले सहरको निर्माणकर्तालाई विचार गरेनौ, जसले धेरै पहिले नै यसको योजना गर्नुभएको थियो ।12 त्यस दिन परमप्रभु, सर्वशक्तिमान् परमप्रभुले रुन, विलाप गर्न, कपाल खौरन र भाङ्ग्रा लगाउनलाई बोलाउनुभयो ।13 तर त्यसको साटोमा हेर, उत्सव र खुसी, गाइवस्तु काट्ने र भेडाहरू मार्ने, मासु खाने र दाखमद्य पिउने गरियो । हामी खाऔँ र पिऔँ, किनकि भोलि हामी मर्नेछौँ भन्दै छन् ।14 यो कुरा सर्वशक्तिमान् परमप्रभुले मेरो कानमा प्रकट गर्नुभयोः "निश्चय नै यो अपराधको निम्ति मृत्युमा पनि तिमीहरूलाई क्षमा हुनेछैन", परमप्रभु, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ ।15 परमप्रभु, सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, "यो प्रशासक, महलको रेखदेख गर्ने शेब्नाकहाँ जा र भन्,16 'तैँले यहाँ के गरिरहेको छस्, अनि आफ्नो निम्ति चिहान खोप्न, उच्च ठाउँमा चिहान खन्न र चट्टानमा विश्राम गर्ने ठाउँ कुँद्न तँलाई कसले अनुमति दियो ?17 हेर्, परमप्रभुले तँलाई फाल्न लाग्नुभएको छ, ए शक्तिशाली मानिस, तँलाई फाल्न लाग्नुभएको छ । उहाँले तँलाई कसेर समात्नुहुनेछ ।18 निश्चय नै उहाँले तँलाई हावामा फनफन घुमाउनुहुनेछ र ठूलो देशमा बल फालेझैँ फाल्नुहुनेछ । तँ त्यहाँ नै मर्नेछस्, तेरा गौरवशाली रथहरू त्यहाँ हुनेछन् । तँ तेरो मालिकको महलमा शर्ममा पर्नेछस् ।19 तेरो कार्यालयबाट र तेरो ठाउँबाट तँलाई म निकाल्नेछु । तँ तल खसालिनेछस् ।20 त्यो दिन यस्तो हुनेछ, हिल्कियाहका छोरा मेरो सेवक एल्याकीमलाई म बोलाउनेछु ।21 तेरो अलखा म उसलाई लगाइदिनेछु र तेरो पटुका उसलाई बाँधिदिनेछु, तेरो अधिकार म उसको हातमा सुम्पिनेछु । यरूशलेमका बासिन्दाहरू र यहूदाका घरानाको निम्ति निम्ति ऊ नै पिता हुनेछ ।22 दाऊदको घरानाको साँचो म उसको काँधमा राख्नेछु । उसले खोल्नेछ र कसैले बन्द गर्नेछैन; उसले बन्द गर्नेछ र कसैले खोल्नेछैन ।23 म त्यसको निम्ति सुरक्षित स्थानमा एउटा किला गाड्नेछु र आफ्नो पिताको घरानाको निम्ति ऊ गौरवको आसन हुनेछ ।24 उसको घराना, सन्तानहरू र वंशको, हरेक सानो भाँडोदेखि कचौराहरू र गाग्रोहरूका गौरव तिनीहरूले उसमा नै राख्नेछन् ।25 यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो - त्यो दिन सुरक्षित स्थानमा गाडिएको किलाले ठाउँ छोड्नेछ, भाँचिनेछ र ढल्नेछ अनि त्यसमा भएको भार हटाइनेछ - किनकि परमप्रभुले भन्नुभएको छ ।