21
समुद्र नजिकको मरुभूमिको बारेमा एउटा घोषणा । नेगेवमा चल्ने आँधीहुरी जस्तै मरुभूमि र डरलाग्दो देशबाट यो आउँछ ।2 मलाई एउटा कष्टप्रद दर्शन दिइएको छः "धोकेबाजले धोकापूर्ण किसिमले काम गर्छ र विनाश गर्नेले विनाश गर्छ । ए एलाम, माथि जा र आक्रमण गर् । ए मादी घेरा हाल् । त्यसको सबै शोकलाई म रोक्नेछु ।3 यसकारण मेरो कमर दुखेको छ । स्त्रीको प्रसव पीडा जस्तो पीडाले मलाई समातेको छ । मैले जे सुनेको छु त्यसद्वारा म झुकेको छु । मैले जे देखेको छु सोद्वारा म व्याकुल भएको छु ।4 मेरो मुटु धड्कन्छ । म डरले काँप्छु । मैले साँझको इच्छा गरेँ, तर त्यसले ममा त्रास ल्यायो ।5 तिनीहरू टेबिल तयार गर्छन्, तिनीहरू राडी ओछ्याउँछन्, अनि खान्छन् र पिउँछन् । ए शासकहरू उठ, आफ्ना ढालहरूमा तेल लगाओ ।6 किनकि परमप्रभुले मलाई यसो भन्नुभयो, "जा, एक जना पहरेदार राख । उसले जे देख्छ सो बताउनुपर्छ ।7 जब उसले एउटा रथ, एक जोडी घोडचढी, गधामाथि चढ्नेहरू र उँटमाथि चढ्नेहरू देख्छ, तब उसले ध्यान दिनुपर्छ र निकै सजग हुनुपर्छ ।8 पहरेदार कराउँछ, "हे परमप्रभु, म दिनभरि, हरेक दिन पहरा बस्ने धरहरामाथि बस्छु, अनि आफ्नो अखडामा म रातभरि खडा रहन्छु ।9 यहाँ एक जना मानिस र एक जोडी घोडचढी लिएर एउटा रथ आउँछ । उसले भन्छ, "बेबिलोनको पतन भएको छ, पतन भएको छ र यसका कुँदेका सबै देवताहरूका मूर्तिहरू जमिनमा चकनाचूर भएका छन् ।10 ए मेरा चुटिएका र निफनिएकाहरू हो, मेरा खलाका सन्तानहरू हो ! सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वरबाट मैले जे सुनेको छु सो मैले तिमीहरूलाई घोषणा गरेको छु ।11 दुमाको बारेमा एउटा घोषणा । कसैले मलाई सेइरबाट बोलाउँछ, "ए पहरेदार, रात कति बाँकी छ ? ए पहरेदार, रात कति बाँकी छ ?12 पहरेदारले भन्यो, "बिहान आउँछ र रात पनि आउँछ । तिमीलाई सोध्नु छ भने सोध । अनि फेरि फेर्केर आऊ ।13 अरब देशको बारेमा एउटा घोषणा । तिमीहरू ददानीहरूका यात्री दलहरूले अरबको मरुभूमिमा रात बिताओ ।14 तिर्खाउनेहरूका निम्ति पानी ल्याओ । ए तेमा देशका बासिन्दाहरू, रोटी लिएर भगौडाहरूलाई भेट ।15 किनकि तिनीहरू तरवार, थुतेको तरवाट, ताँदो चढाएको धनुबाट र युद्धको भारबाट भागेका छन् ।16 किनकि परमप्रभुले मलाई यसो भन्नुभयो, "एक वर्षभित्रमा नै ज्यालामा लिइएको श्रमिकले यो देख्नेछ, केदारको सारा गौरवको अन्त हुनेछ ।17 केदारका धनुर्धारी अर्थात् योद्धाहरूमध्ये केही मात्र रहनेछन्", किनकि परमप्रभु इस्राएलका परमेश्वरले यसो भन्नुभएको छ ।