18
सुस्केराको आवाज निकाल्ने देशलाई धिक्कार, जुन कूशका नदीहरूसँगै छ ।2 जसले नरकटका डुङ्‌गाहरूमा समुद्र हुँदै राजदूतहरू पठाउँछ । हे फूर्तिला दूतहरू, अग्लो र चिल्लो जातिकहाँ जाओ, टाढा नजिकका मानिसहरूद्वारा डर मानिएकाहरूकहाँ, एउटा बलियो र विजयी जाति, जसको देशलाई नदीहरूले विभाजन गर्छ ।3 तिमीहरू संसारका सबै बासिन्‍दाहरू र पृथ्वीमा बसोबास गर्ने, तिमीहरू जब डाँडाहरूमाथि चिन्ह उठाइन्‍छ, तब हेर । अनि जब तुरही बजाइन्‍छ तब सुन ।4 परमप्रभुले मलाई यसो भन्‍नुभयो, "चर्को घामको उखुम ताप जस्‍तै, कटानीको तापमा कुहिरो जस्‍तै म आफ्नो घरबाट शान्‍त भएर हेर्नेछु ।5 कटनीअगि फूल फुल्ने समय सिद्धिएपछि र फूल दाख हुँदैगर्दा, उहाँले छाँट्ने हँसियाहरूले छाँट्नुहुनेछ र उहाँले फैलिरहेको हाँगाहरूलाई काट्नुहुनेछ र लानुहुनेछ ।6 डाँडाका चराहरू र पृथ्वीका जनावरहरूका निम्ति ती छोडिनेछन् । चराहरूले ग्रीष्मको समय तिनीहरूमा बिताउनेछन् र पृथ्वीका सबै जनावरहरूले तिनीहरूमा हिउँद बिताउनेछन् ।7 त्‍यस दिन अग्ला र चिल्ला मानिसहरूले, टाढा नजिकका मानिसलाई डराउनेहरू, बलिया र विजयीले सर्वशक्तिमान् परमप्रभुलाई उपहार ल्याउने छन्, जसको देशलाई नदीहरूले विभाजन गर्छन्, तिनीहरूले सर्वशक्तिमान् परमप्रभुको नाउँ भएको सियोन पर्वतमा ल्याउनेछन् ।