17
दमस्कसको बारेमा एउटा घोषणा ।2 अरोएरका सहरहरूलाई त्‍यागिनेछ । तिनीहरू बथानहरू बस्‍ने ठाउँहरू हुनेछन् र तिनीहरूलाई कसैले पनि तर्साउनेछैन ।3 किल्लाबन्‍दी गरिएका सहरहरू एफ्राइमबाट, दमस्कसको राज्‍यबाट लोप हुनेछन्, र अरामका बाँकी रहेकाहरू - तिनीहरू इस्राएलका मानिसहरूको गौरवझैँ हुनेछन् - यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।4 त्‍यो दिनमा यस्तो हुनेछ, याकूबको गौरव दुब्लो हुनेछ र त्‍यसको शरीरको मोटाइ पातलो हुनेछ ।5 यो अन्‍न जम्मा गर्नेले अन्‍न थुपारे जस्‍तो हुनेछ, र त्‍यसको हात अन्‍न कटनी गर्छ । यो रपाईको बेँसीमा शिला-बाला बटुले जस्‍तो हुनेछ ।6 तापनि, जैतूनको रूखलाई हल्लाउँदाखेरी जस्‍तै गरी शिलाहरू छोडिनेछन्ः माथिल्लो हाँगामा दुइ-तीन वटा वा फलको सब भन्‍दा अग्ला हाँगाहरूमा चार-पाँच वटा जैतून छोडिनेछन् - यो परमप्रभु इस्राएलका परमेश्‍वरको घोषणा हो ।7 त्‍यस दिन मानिसहरूले आफ्ना सृष्‍टिकर्तालाई हेर्नेछन् र तिनीहरूका आँखाले इस्राएलका पवित्रलाई हेर्नेछन् ।8 तिनीहरूले आफ्नो हातका कामहरू अर्थात् वेदीहरूतिर हेर्नेछैनन्, न त तिनीहरूले आफ्नै औँलाले बनाएका अशेराका खम्बाहरू न सूर्यका प्रतिमाहरूलाई नै हेर्नेछन् ।9 त्‍यस दिन तिनीहरूका बलिया सहरहरू डाँडाका टाकुराहरूका भीरहरूमा त्‍यागिएका जङ्‌गल जस्‍तै हुनेछन्, जसलाई इस्राएलका मानिसहरूका कारणले त्‍यागिएका थिए र त्‍यो उजाड हुनेछ ।10 किनकि तैँले आफ्नो मुक्तिको परमेश्‍वरलाई बिर्सेको छस् र तेरो सामर्थ्यको चट्टानलाई बेवास्ता गरेको छस् । त्‍यसैले तैँले सुन्‍दर बिरुवाहरू रोपिस् र विदेशीबाट पाएको दाखका हाँगाहरू रोपिस्,11 तैँले रोपेको, बार लगाएको र खेती गरेको दिनमा । तेरा बीउहरू चाँडै वृद्धि हुनेछन्, तर कष्‍ट र घोर दुखको दिनमा फल दिनेछैन ।12 धिक्कार ! धेरै मानिसहरूको गर्जन, जुन समुद्रहरूको गर्जन, र जातिहरूका हल्लाझैँ गर्जन्‍छ, जुन शक्तिशाली पानी बगेझैँ बग्छ !13 जातिहरू धेरै पानी बगेझैँ गर्जन्‍छन्, तर उहाँले तिनीहरूलाई हप्काउनुहुनेछ र तिनीहरू टाढा भाग्‍नेछन्, डाँडाहरूमाथि भुसझैँ तिनीहरू हावाको सामु उड्नेछन् र आँधीको सामु मडारिएको झारझैँ हुनेछन् ।14 हेर, साँझमा त्रास ! बिहान हुन अघि ती बितिजानेछन् ! हामीलाई लुट्नेहरू, हामीलाई डकैती गर्नेहरूको भाग यस्तै हुनेछ ।