16
उजाड-स्थानको सेलाको देशबाट सियोन पर्वतको छोरीको शासकलाई थुमाहरू पठाओ ।2 जसरी चराहरू भौँतारिन्छन् र जसरी गुँड छरपष्ट पारिन्छ, मोआबका स्त्रीहरू अर्नोनका जँघारहरूमा त्यस्तै भएका छन् ।3 "निर्देशन देओ, न्याय गर । मध्यदिनमा पनि रातको जस्तै केही शीतलता प्रदान गर । भगौडाहरूलाई लुकाओ । भगौडाहरूलाई धोका नदेओ ।4 मोआबबाट आएका शरणार्थीहरू तिमीहरूको माझमा बसोवास गरून् । विनाश गर्नेबाट तिनीहरूका निम्ति लुक्ने ठाउँ होओ ।" किनकि अत्याचार रोकिनेछ, र विनाश अन्त हुनेछ, कुल्चनेहरू देशबाट लोप भएर जानेछन् ।5 करारको विश्वस्ततामा सिंहासनलाई स्थापित गरिनेछ । अनि दाऊदको पालबाट आएका एक जना विश्वसनीयतासाथ त्यसमा विराजमान हुनुहुनेछ । उहाँले न्यायको खोजी गर्नुहुँदा र धार्मिकतासाथ व्यवहार गर्नुहुँदा उहाँले इन्साफ गर्नुहुनेछ ।6 मोआबको घमण्ड, त्यसको अहंकार र त्यसको रीसको बारेमा हामीले सुनेका छौँ । तर त्यसका घमण्डहरू खोक्रा शब्दहरू हुन् ।7 त्यसैले मोआबले मोआबको निम्ति विलाप गर्नेछ - तिनीहरू सबैले विलाप गर्नेछन् । कीर-हरेशेतको किसमिसको झुप्पाको निम्ति पूर्ण रूपमा विनाश भएकाहरूले विलाप गर ।8 हेश्बोनका खेतहरू साथै सिब्माका दाखहरू सुकेका छन् । याजेरमा पुगेको र मरुभूमिमा फैलिएको उत्तम दाखहरूलाई, जातिहरूका शासकहरूले कुल्चेका छन् । त्यसका टुसाहरू बाहिर देशमा फैलिए । ती समुद्रमाथि गए ।9 साँच्चै, सिब्माको दाखबारीको निम्ति म याजेरसँगै रुनेछु । ए हेश्बोन र एलाले, मेरो आँसुले म तँलाई भिजाउनेछु । किनकि तेरो गृष्मका फलहरू र कटनीको आनन्दको आवाजलाई मैले अन्त गरेको छु ।10 फलका रूखहरूबाट खुसी र आनन्द लुटिएको छ । अनि दाखबारीमा कुनै किसिमको गीत वा आवाज छैन । दाखको कोलमा कसैले पनि दाख पेल्दैन, किनकि दाख पेल्नेहरूको आवाज मैले अन्त गरेको छु ।11 त्यसैले मेरो हृदयले मोआबको निम्ति र मेरो अन्तस्करणले कीर-हरेशेतको निम्ति वीणाले झैँ सुस्केरा हाल्छ ।12 जब मोआबले आफूलाई उच्च स्थानमा थकित बनाउँछ र प्रार्थना गर्न आफ्नो मन्दिरमा प्रवेश गर्छ, त्यसको प्रार्थनाले केही काम गर्नेछैन ।13 परमप्रभुले मोआबको बारेमा पहिले नै बोल्नुभएको वचन यही हो ।14 फेरि परमप्रभु भन्नुहुन्छ, "मोआबको गौरव तीन वर्षभित्र हराउनेछ । त्यसको धेरै मानिसहरू भए पनि बाँकी रहेकाहरू अति थोरै र नगण्य हुनेछन् ।"