15
मोआबको बारेमा एउटा घोषणा । साँच्चै, मोआबको आरलाई एकै रातमा उजाड र नष्ट पारिन्छ । साँच्चै, मोआबको कीरलाई एकै रातमा उजाड र नष्ट पारिन्छ ।2 तिनीहरू माथि मन्दिरमा गएका छन्, दीबोनका मानिसहरू रुनलाई अग्लो ठाउँमा गए । नेबोको निम्ति र मेदबाको निम्ति मोआबले विलाप गर्छ । तिनीहरूका सबै शिर खौरिएका छन् र तिनीहरूका सबै दाह्रीहरू काटिएका छन् ।3 आफ्ना गल्लीहरूमा तिनीहरू भाङ्ग्रा लगाउँछन् । तिनीहरू घरका छतहरूमाथि र चोकहरूमा हरेकले आँसु बगाउँदै विलाप गर्छन् ।4 हेश्बोन र एलाले सहायताको निम्ति पुकारा गर्छन् । तिनीहरूको स्वर यहसासम्म सुनिन्छ । यसरी मोआबका हतियारधारी मानिसहरूले सहायताको निम्ति पुकारा गर्छन् । तिनीहरू आफैभित्र त्रसित हुन्छन् ।5 मेरो मनले मोआबको निम्ति पुकारा गर्छ । त्यसका भगौडाहरू सोअर र एग्लत-शलीशियाहतिर भाग्छन् । तिनीहरू लूहीतको उकालोमा रुँदै जान्छन् । आफ्नो विनाशको निम्ति होरोनैमको बाटोमा तिनीहरू ठूलो स्वरमा विलाप गर्छन् ।6 निम्रीमको पानीहरू सुक्खा भएका छन् । घाँस ओइलिएका छन् । हरियाली सुकेका छन् । त्यहाँ कुनै हरियो घाँस छैन ।7 तिनीहरूले प्रशस्त उब्जनी गरेका कुरा र भण्डारण गरेका कुरा, तिनीहरू लहरे-पीपलहरूको खोलापारि लैजान्छन् ।8 चित्कार मोआबको इलाकभरि नै गएको छ । विलापचाहिँ एग्लेम र बेअर-एलीससम्म पुगेको छ ।9 किनभने दीबोनका पानीहरू रगतले भरिएका छन् । तर म दीबोनमाथि अझ धेरै ल्याउनेछु । मोआबबाट भाग्ने र त्यो देशमा बस्नेमा समेत एउटा सिंहले आक्रमण गर्नेछ ।