14
परमप्रभुले याकूबलाई दया गर्नुहुनेछ । उहाँले फेरि पनि इस्राएललाई रोज्नुहुनेछ र तिनीहरूलाई आफ्नै देशमा पुनर्स्थापना गर्नुहुनेछ । परदेशीहरू पनि तिनीहरूसँगै सहभागी हुनेछन् र आफूलाई याकूबको घरानासँग आवद्ध गराउनेछन् ।2 जातिहरूले तिनीहरूलाई आफ्नै ठाउँमा ल्याउनेछन् । तब इस्राएलको घरानाले तिनीहरूलाई सेवक र सेविकाको रूपमा परमप्रभुको देशमा लानेछन् । तिनीहरूलाई कैदी बनाउनेहरूलाई तिनीहरूले कैदी बनाउनेछन् र तिनीहरूले आफ्ना अत्याचारीहरूमाथि राज्य गर्नेछन् ।3 त्यो दिनमा तिमीहरूका कष्ट र पीडाबाट, अनि तिमीहरूले गर्नुपर्ने कडा परिश्रमबाट परमप्रभुले तिमीहरूलाई विश्राम दिनुहुन्छ,4 तब तिमीहरूले बेबिलोनको राजाको विरुद्धमा यो गिल्लाको गीत गाउनेछौ, "अत्याचारीको अन्त्य कसरी भएको छ, घमण्डी क्रोधको अन्त्य भयो !5 परमप्रभुले दुष्टहरूको लट्ठी र ती शासकहरूको राजदण्ड भाँच्नुभएको छ,6 जसले मानिसहरूलाई क्रोधमा निरन्तर रूपमा प्रहार गर्यो, जसले अनियन्त्रित रूपमा आक्रमण गरेर जातिहरूमाथि क्रोधमा राज्य गर्यो ।7 सम्पूर्ण पृथ्वी नै विश्राममा छ र शान्त छ । तिनीहरूले गीत गाउँदै उत्सव मनाउन सुरु गर्छन् ।8 सल्लाका रूखहरू लेबनानको देवदारुहरूसँगै तँलाई देखेर रमाउँछन् । तिनीहरू भन्छन्, 'तँलाई तल खसालिएको हुनाले, हामीलाई काटेर ढाल्न काठ काट्ने कुनै मानिस माथि आउनेछैन ।'9 तँ चिहानमा जाँदा, तँलाई भेट्न चिहान उत्सुक हुन्छ । पृथ्वीका सबै राजाहरूलाई, जातिहरूका सबै राजाहरूलाई, आफ्ना सिंहासनबाट माथि खडा हुन लगाएर तेरो निम्ति त्यसले मृतहरूलाई जगाउँछ ।10 तिनीहरू सबै बोल्नेछन् र तँलाई यसो भन्नेछन्, 'तँ पनि हामी जस्तै कमजोर भएको छस् । तँ पनि हामी जस्तै भएको छस् ।11 तेरो तडकभडकलाई तेरो वीणाहरूको आवाजसँगै चिहानमा ल्याइएको छ । तँमुनि औँसाहरू फैलिएका छन् र तँलाई कीराहरूले ढाकेको छ',12 ए दिनको तारा, बिहानको पुत्र, तँ कसरी स्वर्गबाट तल झरेको छस् ! जातिहरूमाथि विजय गर्ने, तँलाई कसरी भुइँमा ढालिएको छ !13 तैँले आफ्नो हृदयमा भनेको थिइस्, 'म स्वर्गमा चढ्नेछु, परमेश्वरका ताराहरू भन्दा माथि म आफ्नो सिंहासनलाई उचाल्नेछु, र सभाको पहाडमाथि सुदूर उत्तरमा म विराजमान हुनेछु ।14 बादलहरूको उचाइ भन्दा माथि म चढ्नेछु । म आफैलाई सर्वोच्च परमेश्वर जस्तै बनाउनेछु ।'15 तापनि तँलाई अब चिहानमा, खाडलको गहिराइमा तल खसालिएको छ ।16 तँलाई देख्नेहरूले तँलाई टुलुटुलु हेर्नेछन् र तिनीहरूले तँलाई ध्यान दिनेछन् । तिनीहरूले सोध्नेछन्, 'के यो त्यही मानिस हो, जसले पृथ्वीलाई थर्कमान पार्यो, जसले राज्यहरूलाई हल्लायो,17 जसले संसारलाई उजाड-स्थान जस्तो बनायो, जसले सहरहरूलाई नष्ट पार्यो र आफ्ना कैदीहरूलाई घर जान दिएन ?'18 जातिहरूका सबै राजा, तीमध्ये सबै जना, हरेक व्यक्ति आ-आफ्ना चिहानमा आदरसाथ सुत्छन् ।19 तर एउटा हाँगालाई फालेझैँ, तेरो चिहानबाट तँलाई बाहिर फालिएको छ । तरवारले छेडेर मारिएका खाल्डोका ढुङ्गाहरूतिर जाने मृतकहरूले तँलाई कपडाले झैँ ढाक्छन् ।20 तैँले आफ्नो देशलाई नाश पारेको र आफ्ना मानिसहरूलाई मारेको हुनाले तिनीहरूसँगै तेरो दफन हुनेछैन । दुष्ट काम गर्नेहरूका सन्तानलाई फेरि कहिल्यै याद गरिनेछैन ।21 तिनीहरूका पुर्खाहरूका अपराधको निम्ति त्यसका सन्तानलाई मार्ने ठाउँ तयार पार, ताकि तिनीहरू नउठून् र पृथ्वी अधीन नगरून् र सारा संसारलाई सहरहरूले नभरून् ।22 "तिनीहरूको विरुद्धमा म खडा हुनेछु", - यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो । "म बेबिलोनबाट नाउँ, सन्तान र वंशज नष्ट पार्नेछु" - यो परमप्रभुको घोषणा हो ।23 "म त्यसलाई लाटोकोसेरोको अधीनमा र पानीको तलाउमा राख्नेछु, र विनाशको कुचोले म त्यसलाई बढार्नेछु" - यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।24 सर्वशक्तिमान् परमप्रभुले शपथ खानुभएको छ, "निश्चय नै, जस्तो मैले इच्छा गरेको छु, त्यस्तै हुनेछ । अनि जे उद्देश्य मैले राखेको छु, त्यो पूरा हुनेछ ।25 अश्शूरलाई म आफ्नो देशमा चकनाचूर पार्नेछु र मेरो पर्वतमा म त्यसलाई खुट्टामुनि कुल्चिनेछु । तिनीहरूका काँधबाट त्यसको जुवा हटाइनेछ र तिनीहरूका पिठिउँबाट त्यसको भारी निकालिनेछ ।26 सम्पूर्ण पृथ्वीको निम्ति इच्छा गरिएको योजना यही हो र सारा जातिहरूमाथि पसारिएको बाहुली यही हो ।27 किनकि सर्वशक्तिमान् परमप्रभुले नै यो योजना गर्नुभएको छ । उहाँलाई कसले रोक्न सक्छ र ? उहाँको हात उचालिएको छ र त्यसलाई कसले फर्काउनेछ र ?28 आहाज राजा मरेको वर्षमा यो घोषणा आयोः29 ए सारा पलिश्तीहरू हो, तिमीहरूलाई प्रहार गर्ने छडी भाँचिएको छ भनेर आनन्दित नहोओ । किनकि साँपको वंशबाट झन् विषालु सर्प बढ्नेछ, र त्यसको सन्तान डरलाग्दो उड्ने सर्प हुनेछ ।30 गरीबको जेठा छोरोले मेरो खर्कहरूमा आफ्ना भेडाहरू चराउनेछन्, र खाँचामा परेकाहरू सुरक्षासँग पल्टिनेछन् । तेरो वंशलाई म अनिकालले मार्नेछु जसले तेरा बाँचेका सबैलाई मृत्युमा पुर्याउनेछ ।31 ए ढोका करा; ए सहर चिच्या; हे पलिश्ती, तिमीहरू सबै पग्लेर हराउनेछौ । किनकि उत्तरबाट धूँवाको बादल आउँछ र त्यसको पङ्क्तिमा धरमराउने कोही छैन ।32 जातिका दूतहरूलाई तिनीहरूले कसरी जवाफ दिनेछन् ? कि परमप्रभुले सियोनलाई बसाल्नुभएको छ, र त्यसमा कष्टमा परेका मानिसहरूले शरण लिनेछन् ।