13
बेबिलोनको बारेमा आमोजका छोरा यशैयाले प्राप्‍त गरेका घोषणाः2 नाङ्‌गो पहाडमाथि चिन्हका झण्डाहरू खडा गर, तिनका निम्ति उच्‍च स्‍वरले कराओ, भारदारहरूका ढोकाहरूमा जानलाई हातले इशारा गर ।3 मेरो पवित्र जनलाई मैले आज्ञा गरेको छु, हो, मेरो क्रोध पूरा गर्न आफ्ना शक्तिशाली मानिसहरूलाई, गर्भका साथ आनन्‍दित हुने मेरो जनलाई समेत मैले बोलाएको छु ।4 पर्वतहरूमा एउटा भीडको जस्‍तो धेरै जना मानिसहरूको हल्ला ! धेरै जातिहरू भेला भएका राज्‍यहरूको होहल्लाको आवाज ! सर्वशक्तिमान् परमप्रभुले युद्धका निम्ति फौज भेला पार्दै हुनुहुन्‍छ ।5 तिनीहरू टाढा देशहरूबाट, क्षितिज परको बाटोबाट आउँछन् । परमप्रभुले आफ्नो न्‍यायको माध्‍यमले सम्पूर्ण देशलाई नाश गर्नुहुन्‍छ ।6 डाँको छोडेर रोओ, किनकि परमप्रभुको दिन नजिकै छ । यो सर्वशक्तिमान्‌बाट विनाशसँगै आउँछ ।7 यसकारण सबै हात कमजोर हुन्‍छन् र हरेक मुटुले ठाउँ छोड्छ ।8 तिनीहरू त्रसित हुनेछन् । प्रसववेदनामा परेकी स्‍त्रीलाई झैँ तिनीहरूलाई पीडा र वेदनाले समात्‍नेछ । तिनीहरूले चकित हुँदै एकअर्कालाई हेर्नेछन् । तिनीहरूका अनुहारहरू राता हुनेछन् ।9 हेर, देशलाई विनाश पार्न र त्‍यसबाट पापीहरूलाई नाश पार्न, परमप्रभुको दिन निर्दयी क्रोध र प्रचुर रीस लिएर आउँछ ।10 आकाशका ताराहरू र तारा पुञ्‍जहरूले आफ्ना प्रकाश दिनेछैनन् । बिहानैदेखि सूर्य नै अध्‍याँरो हुनेछ र चन्‍द्रमा चम्कनेछैन ।11 संसारलाई त्‍यसको दुष्‍टताको निम्ति अनि दुष्‍टहरूलाई तिनीहरूका अपराधको निम्ति म सजाय दिनेछु । घमण्डीको अहंकारलाई म अन्‍त गर्नेछु र निर्दयीको अहंकारलाई तल खसाल्नेछु ।12 मानिसहरूलाई निखुर सुन भन्‍दा पनि दुर्लभ र मानवजाति भेट्न ओपीरको शुद्ध सुन भन्‍दा पनि कठिन म बनाउनेछु ।13 यसकारण सर्वशक्तिमान् परमभुको डरलाग्दो क्रोध र उहाँको प्रचण्ड रीसको दिनमा, आकाशलाई म हल्लाउनेछु, र पृथ्वी आफ्नो ठाउँमा हल्लिनेछ ।14 लखेटिएको हरिण वा गोठालो नभएको भेडाझैँ, हरेक मानिस आफ्ना मानिसहरूतिर फर्कनेछ र आफ्नै देशतिर भाग्‍नेछ ।15 भेट्टाइएका हरेक व्यक्तिलाई मारिनेछ र कब्जा गरिएका हरेक व्यक्ति तरवारले मर्नेछ ।16 तिनीहरूका दूधे बालकहरूलाई पनि तिनीहरूकै आँखाको सामु पछारेर टुक्राटुक्रा पारिनेछ । तिनीहरूका घरहरू लुटिनेछन् र तिनीहरूका पत्‍नीहरूलाई बलत्कार गरिनेछ ।17 हेर, तिनीहरूलाई आक्रमण गर्न मैले मादीहरूलाई उक्साउनै लागेको छु, जसले चाँदीको ख्याल गर्दैनन् न त तिनीहरू सुनमा नै खुसी हुन्‍छन् ।18 तिनीहरूका धनुले जवान मानिसहरूलाई प्रहार गर्नेछ । तिनीहरूले दूधे बालकहरूलाई दया देखाउँदैनन् र तिनीहरूले बालबालिकालाई दया देखाउँदैनन् ।19 त्‍यसपछि राज्‍यहरूमध्‍ये धेरै प्रशंसा गरिएको कल्दीहरूका गौरवको वैभव बेबिलोनलाई, परमेश्‍वरले सदोम र गमोरालाई झैँ नष्‍ट पार्नुहुनेछ ।20 पुस्तौँ-पुस्तासम्म त्‍यसमा कोही बसोबास गर्नेछैनन् । अरबीले त्‍यहाँ आफ्नो पाल टाँग्‍नेछैन, न त गोठालाहरूले आफ्ना बगालहरूलाई त्‍यहाँ विश्राम गराउनेछन् ।21 तर मरूभूमिका जङ्‌गली पशुहरू त्‍यहाँ बस्‍नेछन् । तिनीहरूका घरहरू लाटोकोसेराले भरिनेछन् । शुतुरमुर्गहरू र घोरलहरू त्‍यहाँ उफ्रनेछन् ।22 तिनीहरूका किल्लाहरूमा हुँडारहरू कराउनेछन् र तिनीहरूका सुन्‍दर दरबारहरूमा स्यालहरू हुनेछन् । त्‍यसको समय नजिकै छ र त्‍यसका दिनहरूलाई विलम्‍ब गरिनेछैनन् ।