10
धिक्कार तिनीहरूलाई जसले अन्यायपूर्ण कानुन जारी गर्छन् र अनुचित नियम लेख्छन् ।2 तिनीहरूले खाँचोमा परेकाहरूलाई न्यायबाट वञ्चित गर्छन्, मेरा मानिसहरूका गरिबहरूलाई तिनीहरूका अधिकारहरू लुट्छन्, विधवालाई लुट्छन् र अनाथहरूलाई आफ्नो शिकार बनाउँछन् ।3 इन्साफको दिनमा टाढाबाट विनाश आउँदा तिमीहरू के गर्नेछौ ? सहायताको निम्ति तिमीहरू कसकहाँ भागेर जानेछौ र आफ्नो सम्पत्तिलाई तिमीहरू कहाँ छोड्नेछौ ?4 कुनै पनि कुरा बाँकी रहँदैन र कैदीहरूका माझमा तिमीहरू झुक्नेछौ वा मारिएकाहरूका माझमा ढल्नेछौ । यी सबै कुराहरूमा उहाँको रीस मर्दैन । बरु उहाँको हात अझै पसारिएकै छ ।5 अश्शूरलाई धिक्कार, जो मेरो रीसको लट्ठी हो, त्यो लहुरो जसद्वारा म आफ्नो क्रोध मच्चाउँछु !6 त्यसलाई अहंकारी जातिको विरुद्धमा र मेरो पूरा क्रोध पाउने मानिसहरूको विरुद्धमा म पठाउँछु । लूटका मालहरू लिने, शिकार लिने र तिनीहरूलाई गल्लीको हिलोलाई झैँ कुल्चने आज्ञा म उसलाई दिन्छु ।7 तर यो उहाँको इच्छा होइन, न त उहाँले यसरी सोच्नुहुन्छ । धेरै जातिहरूलाई विनाश गर्ने र निमिट्यान्न पार्ने कुरा उहाँको मनमा छ ।8 किनकि उहाँले भन्नुहुन्छ, “मेरा सबै शासकहरू राजाहरू होइनन् ?9 के कल्नो कर्कमीश जस्तै होइन र ? के हमात अर्पाद जस्तै होइन र ? के सामरिया दमस्कस जस्तै होइन र ?10 जसरी मेरो हातले मूर्तिपूजक राज्यहरूलाई जितेको छ, जसका कुँदेका मूर्तिहरू यरूशलेम र सामरियामा भएका भन्दा धेरै थिए,11 सामरिया र त्यसको व्यर्थका मूर्तिहरूलाई मैले जे गरेँ, यरूशलेम र त्यसको मूर्तिहरूलाई पनि म त्यसै गर्नेछैन र ?”12 जब परमप्रभुले सियोन पर्वतमा र यरूशलेममा आफ्नो काम सिध्याउनुभएको हुन्छ, तब म अश्शूरका राजाको अहंकारी हृदयको बोली र त्यसको घमण्डी हेराइलाई दण्ड दिनेछु ।13 किनकि त्यसले भन्छ, “मेरो सामर्थ्य र मेरो बुद्धिले मैले काम गरेँ । मसँग समझ छ, र मैले मानिसहरूका सिमानाहरू हटाएको छु । मैले तिनीहरूको बहुमूल्य सम्पत्ति चोरेको छु, र साँढेले झैँ मैले बासिन्दाहरूलाई होच्याएको छु ।14 एउटा गुँडबाट झैँ, मेरा हातले जातिहरूका सम्पत्ति समातेको छ, र छोडिएको अण्डाहरू कसैले बटुलेझैँ, मैले सारा पृथ्वीलाई बटुलेको छु । कसैले पनि आफ्ना पखेटाहरू चलाएनन् वा आफ्ना मुख खोलेनन् वा चिरबिर आवाज निकालेनन् ।”15 के बन्चरोले आफूलाई चलाउने विरुद्ध आफैमा घमण्ड गर्नेछ र ? के आराले आफूलाई चलाएर काट्नेलाई भन्दा आफ्नै प्रशंसा गर्नेछ र ? यो त लट्ठी उचाल्नेलाई लट्ठीले नै उचालेको जस्तो भयो, वा लहुरोले एक जना व्यक्तिलाई उचालेको जस्तो भयो ।16 यसकारण सर्वशक्तिमान् परमप्रभुले उसका कुलीन योद्धाहरू माझ रूढी पठाउनुहुनेछ । अनि उहाँको महिमाको मुनि आगो जस्तै जलन दन्काइनेछ ।17 इस्राएलको प्रकाश आगो बन्नेछ र त्यसको परमपवित्र आगोको ज्वाला जस्तो बन्नुहुनेछ । त्यसले उसका काँढाहरू र सिउँडीहरूलाई एकै दिनमा डढाउने र नष्ट पार्नेछ ।18 त्यसको जङ्गलको गौरव र त्यसको फलवन्त भूमिको प्राण र शरीर दुवैलाई परमप्रभुले नष्ट पार्नुहुनेछ । यो बिरामीको शरीर गलेको जस्तो हुनेछ ।19 त्यसको जङ्गलमा रहेका रूखहरू अति थोरै बाँकी हुनेछन्, जसलाई एक जना बालकले पनि गन्न सक्छ ।20 त्यस दिन इस्राएलका बाँकी, उम्केका याकूबका घरानाले आफूलाई पराजित गर्नेमाथि भर पर्नेछैनन्, तर तिनीहरू साँच्चै इस्राएलका परमपवित्र परमप्रभुमा भर पर्नेछन् ।21 याकूबका बाँकी रहेकाहरू शक्तिशाली परमेश्वरकहाँ फर्कनेछन् ।22 किनकि तपाईंका मानिसहरू, इस्राएल, समुद्र किनारको बालुवाझैँ भए तापनि, तिनीहरूमा बाँकी रहेकाहरू मात्र फर्कनेछन् । प्रशस्त धार्मिकताले माग गरेझैँ, विनाशलाई आदेश दिइएको छ ।23 निर्धारण गरिएको विनाशलाई परमप्रभु सर्वशक्तिमान् परमप्रभुले सम्पूर्ण देशभरि ल्याउन लाग्नुभएको छ ।24 यसकारण परमप्रभु सर्वशक्तिमान् परमप्रभुले भन्नुहुन्छ, "ए सियोनमा बस्ने मेरा मानिसहरू हो, अश्शूरसँग नडराओ । त्यसले तिमीहरूलाई आफ्नो लट्ठीले प्रहार गर्नेछ र तिमीहरूको विरुद्धमा त्यसको लहुरो उठाउनेछ जस्तो मिश्रीहरूले गरे ।25 त्यससँग नडराओ किनकि तिमीहरू विरुद्धको मेरो रिस चाँडै अन्त हुनेछ र मेरो क्रोधले त्यसको विनाशमा लैजानेछ ।"26 तब सर्वशक्तिमान् परमप्रभुले ओरेबको चट्टानमा मिद्यानलाई पराजित गरेझैँ तिनीहरूका विरुद्ध कोर्रा चलाउनुहुनेछ । उहाँले आफ्नो हात समुद्रमाथि उठाउनुहुनेछ र उहाँले मिश्रमा गर्नुभएझैँ यसलाई माथि उचाल्नुहुनेछ ।27 त्यस दिन, तिमीहरूका कुममा भएको त्यसको बोझ र तिमीहरूको काँधमा भएको जुवा हटाइनेछ र मोटोपनको कारणले जुवा नष्ट पारिनेछ ।28 शत्रुहरू अय्यातमा आएका छन् र मिग्रोन भएर गएका छन् । मिकमाशमा त्यसले आफ्नो खाद्यन्नहरू भण्डारण गरेको छ ।29 तिनीहरूले भञ्जयाङ पार गरेका छन् र गेबामा बास बसेका छन् । रामा काँप्छ र शाऊलको गिबा भागेको छ ।30 ए गल्लीमको छोरी, उच्च सोरमा करा ! हे लाकीश, ध्यान दे ! तँ विचरा अनातोत !31 मदमेना भाग्दैछ, गेबीमका बासिन्दाहरू सुरक्षाको निम्ति भाग्छन् ।32 त्यसै दिन त्यो नोबमा रोकिनेछ र सियोनका छोरीको पर्वत र यरूशलेमका पहाडहरूतिर आफ्नो मुक्का हल्लाउनेछ ।33 हेर, परमप्रभु सर्वशक्तिमान् परमप्रभुले डरलाग्दो विनाशसँगै हाँगाहरू लुछ्नुहुनेछ । सबै भन्दा अग्ला रूखहरू काटिनेछन् र अहंकारीलाई होच्याइनेछ ।34 उहँले वनका झाडीहरूलाई वन्चरोले काट्नुहुनेछ र लेबनानको आफ्नो गौरव पतन हुनेछ ।