11
यिशैको ठुटोबाट एउटा टुसा पलाउनेछ र त्‍यसका जराहरूबाट पलाएको एउटा हाँगाले फल फलाउनेछ ।2 परमप्रभुको आत्मा उहाँमाथि रहनुहुनेछ, बुद्धि र समझको आत्मा, सुझाव र शक्तिको आत्मा, ज्ञान र परमप्रभुको भयको आत्मा ।3 परमप्रभुको भय नै उहाँको आनन्‍द हुनेछ । उहाँले आफ्‍नो आँखाले देखेका कुराले न्‍याय गर्नुहुन्‍न, न त आफ्‍नो कानले सुनेको कुराले निर्णय गर्नुहुन्‍छ ।4 बरु, उहाँले गरीबहरूका न्‍याय धार्मिकताले गर्नुहुन्‍छ र पृथ्वीका नम्रहरूका निम्ति उचित रूपमा निर्णय गर्नुहुन्‍छ । आफ्नो मुखको लट्ठीले उहाँले पृथ्वीलाई प्रहार गर्नुहुन्‍छ र आफ्नो मुखको सासले उहाँले दुष्‍टको नाश गर्नुहुन्‍छ ।5 धार्मिकता नै उहाँको कम्मर पेटी हुनेछ र विश्‍वसनीयता उहाँको पटुका हुनेछ ।6 ब्वाँसो थुमासँग बस्‍नेछ र चितुवा पाठोसँग सुत्‍नेछ, बाछा, जवान सिंह र पोषिएको बाछा एकसाथ बस्‍नेछन् । एउटा सानो बालकले तिनीहरूलाई डोर्‍याउनेछ ।7 गाई र भालु सँगै चर्नेछन् र तिनीहरूका बच्‍चाहरू सँगै सुत्‍नेछन् । गोरुले झैँ सिंहले पराल खानेछ ।8 एक जना दूधे बालक सर्पको दुलोमा खेल्नेछ, र दूधे छाडेको बालकले सर्पको दुलोभित्र हात हाल्नेछ ।9 मेरो सबै पवित्र पर्वतमा तिनीहरूले चोट पुर्‍याउनेछैनन् न त विनाश नै गर्नेछन् । किनकि जसरी पानीले समुद्र ढाकेको छ त्‍यसरी नै परमप्रभुको ज्ञानले पृथ्वी भरिपूर्ण हुनेछ ।10 त्‍यस दिन, यिशैको जरा मानिसहरूको निम्ति झण्डाको रूपमा खडा हुनेछ । जातिहरूले उहाँलाई खोज्‍नेछन् र उहाँको विश्राम स्थल महिमायुक्त हुनेछ ।11 त्‍यस दिन परमप्रभुले अश्शूर, मिश्र, पत्रोस, कूश, एलाम, शीनार, हमात र समुद्रका टापूहरूमा बाँकी रहेका उहाँका मानिसहरूलाई छुटाउन आफ्नो हात फेरि फैलाउनुहुनेछ ।12 उहाँले जातिहरूका निम्ति झण्डा खडा गर्नुहुनेछ, र इस्राएलबाट निकालिएकाहरू र यहूदाका तितरबितर भएकाहरूलाई पृथ्वीको चारै कुनाबाट बटुल्नुहुनेछ ।13 उहाँले एफ्राइमको ईर्ष्यालाई उल्टाउनुहुनेछ र यहूदाको शत्रुहरू नाश पार्नुहुनेछ । एफ्राइमले यहूदाको इर्ष्या गर्नेछैन र यहूदा एफ्राइमको शत्रु हुनेछैन ।14 बरु, तिनीहरू पश्‍चिमका पलिश्तीहरूका पर्वतहरूमाथि झम्टनेछन् र तिनीहरू एकसाथ मिलेर पूर्वका मानिसहरूलाई लुट्नेछन् । तिनीहरूले एदोम र मोआबलाई आक्रमण गर्नेछन् र अम्मोनका मानिसहरूले तिनीहरूको आज्ञापालन गर्नेछन् ।15 परमप्रभुले मिश्र देशको समुद्रका खाडीलाई पूर्ण रूपमा नष्‍ट पार्नुहुनेछ । तातो हावासँगै उहाँले युफ्रेटिस नदीमाथि आफ्नो हात हल्लाउनुहुनेछ र यसलाई सात वटा खोलाहरूमा विभाजन गर्नुहुनेछ, ताकि त्‍यसलाई चप्‍पलहरू लगाएर तर्न सकियोस् ।16 इस्राएल मिश्र देशबाट फर्कंदा तिनीहरूका निम्ति भए जस्‍तै, अश्शूरबाट फर्कने उहाँका बाँकी रहेका मानिसहरूका निम्ति मूल बाटो हुनेछ ।