9
जो वेदनामा थियो, उसबाट नैराश्यता दूर गरिनेछ । जबूलूनको देश र नप्‍तालीको देशलाई, पहिलेको समयमा उहाँले होच्‍याउनुभयो, तर पछिल्लो समयमा उहाँले त्‍यसको समुद्र जाने बाटोमा, यर्दनपारि जातिहरूका गालीलमा त्‍यसलाई महिमित पार्नुहुनेछ ।2 अन्धकारमा हिँड्‍ने मानिसहरूले एउटा ठूलो ज्‍योति देखेका छन् । मृत्‍युको छायाको देशमा बसेकाहरू, तिनीहरूमाथि ज्‍योति चम्केको छ ।3 तपाईंले जातिहरूलाई वृद्धि गर्नुभएको छ । तपाईंले तिनीहरूका आनन्‍दलाई वृद्धि गर्नुभएको छ । कटनीको समयमा झैँ तिनीहरू तपाईंको सामु आनन्‍दित हुन्‍छन्, जसरी मानिसहरूले लूटको माल बाँड्दा तिनीहरू आनन्‍दित हुन्‍छन् ।4 किनकि त्‍यसको भारी जुवा, त्‍यसको पिठिउँको नाल, त्‍यसको अत्‍याचारको लट्ठीलाई तपाईंले मिद्यानको समयमा झैँ चकनाचूर पार्नुभएको छ ।5 दुश्मन सिपाहीका हरेक जुत्ता र रगतमा मुछिएको पोशाकलाई जलाइनेछ र आगोको निम्ति इन्धन हुनेछ ।6 किनकि हाम्रा निम्ति एउटा बालकको जन्‍म भएको छ, हाम्रो निम्ति एउटा छोरा जन्‍मेको छ, र शासन उहाँको काँधमा हुनेछ । अनि उहाँको नाउँ अचम्मको सल्लाकार, शक्तिशाली परमेश्‍वर, अनन्‍तका पिता र शान्‍तिका राजकुमार राखिनेछ ।7 दाऊदको सिंहासनमा र उनको राज्‍यलाई स्थापित गर्न, अनि त्‍यसलाई न्‍याय र धार्मिकताले थाम्‍न उहाँले अहिलेदेखि लिएर सदासर्वदा राज्‍य गर्नुहुँदा, उहाँको शासन र शान्‍ति वृद्धिको अन्‍त हुनेछैन । सर्वशक्तिमान् परमप्रभुको जोशले यो पूरा गर्नेछ ।8 परमप्रभुले याकूबको विरुद्धमा वचन पठाउनुभयो र यो इस्राएलमा पर्‍यो ।9 सबै मानिसहरूले जान्‍नेछन्, एफ्राइम र सामरियाले पनि जान्‍नेछन् जसले घमण्डसाथ र अहंकारी हृदयले यसो भन्‍छन्,10 “इँटहरू खसेका छन्, तर कुँदेका ढुङ्‌गाहरूले नै हामी पुनःनिर्माण गर्नेछौँ । अञ्‍जीरका रूखहरू काटिएका छन्, तर तिनका ठाउँमा हामी देवदारुका रूखहरू रोप्‍नेछौँ ।”11 यसकारण परमप्रभुले उसको शत्रु रसीनलाई उसको विरुद्धमा खडा गराउनुहुनेछ र उसका शत्रुहरूलाई,12 पूर्वका अरामीहरू र पश्‍चिमका पलिश्तीहरूलाई उक्साउनुहुनेछ । तिनीहरूले खुल्ला मुखले इस्राएललाई निल्नेछन् । यी सबै कुराले उहाँको रीस मर्दैन । बरु, उहाँको हात अझै पसारिएकै छ ।13 तापनि उहाँले प्रहार गरेका मानिसहरू उहाँतिर फर्कंदैनन्, न त तिनीहरूले परमप्रभुको खोजी गर्नेछन् ।14 यसकारण परमप्रभुले इस्राएलबाट टाउको र पुच्‍छर, खजूरको हाँगा र नर्कट एकै दिनमा नष्‍ट पार्नुहुनेछ ।15 अगुवाहरू र भद्र मानिसहरू मुखिया हुन् । झूटो सिकाउने अगमवक्ता पुच्‍छर हो ।16 यी मानिसहरूलाई डोर्‍याउनेहरूले तिनीहरूलाई पथभ्रष्‍ट पार्छन् र तिनीहरूद्वारा डोर्‍याइनेहरू निलिन्‍छन् ।17 यसकारण परमप्रभु तिनीहरूका जवानहरूसित आनन्‍दित हुनुहुन्‍न, न त उहाँले तिनीहरूका अनाथ र विधवाहरूमाथि दया गर्नुहुनेछ, किनकि हरेक व्यक्ति अधर्मी र दुष्‍ट छन्, अनि हरेक मुखले मूर्ख कुराहरू गर्छन् । यी सबै कुराहरूमा उहाँको रीस मर्दैन । बरु, उहाँको हात अझै पसारिएकै छ ।18 दुष्‍टता आगोझैँ बल्छ । त्‍यसले सिउँडी र काँढालाई भस्‍म पार्छ । यसले जङ्‌गलको झाडीलाई पनि जलाउँछ, जो धूँवाको मुस्लोमा उठ्छ ।19 सर्वशक्तिमान् परमप्रभुको क्रोधले देश जलेको छ र मानिसहरू आगोको निम्ति इन्धन जस्‍तै छन् । कुनै मानिसले आफ्नो भाइलाई छोड्दैन ।20 तिनीहरूल दाहिने हातमा खानेकुरा समात्छन् तर तिनीहरू अझै भोको नै हुन्‍छन् । तिनीहरूले देब्रे हातमा खाना खानेछन्, तर अझै तृप्‍त हुनेछैनन् । प्रत्‍येकले आफ्नै बाहुलीको मासु पनि खानेछ ।21 मनश्शेले एफ्राइमलाई, अनि एफ्राइमले मनश्शेलाई भस्म गर्नेछ । तिनीहरूले एकसाथ यहूदालाई आक्रमण गर्नेछन् । यी कुराहरूमा, उहाँको रीस मर्दैन । बरु, उहाँको हात अझै पसारिएकै छ ।