8
परमप्रभुले मलाई भन्‍नुभयो, “एउटा ठूलो पाटी ले र त्‍यसमा लेख्, ‘महेर-शालल-हाज-बज’ ।2 मेरो कुरा पक्का गर्नलाई म विश्‍वासयोग्य साक्षीहरू अर्थात् पूजाहारी उरियाह र येबेरक्याहका छोरा जकरियालाई बोलाउनेछु ।”3 म अगमवादिनीकहाँ गएँ र तिनी गर्भवती भइन् र एउटा छोरा जन्‍माइन् । तब परमप्रभुले मलाई भन्‍नुभयो, “त्‍यसको नाउँ महेर-शालल-हाज-बज राख् ।4 किनकि बालकले ‘मेरो बुबा’ र ‘मेरो आमा’ भन्‍न जान्‍न अघि नै दमस्‍कसको धन र सामरियाको लूटलाई अश्शूरको राजाले बोकेर लैजानेछ ।”5 परमप्रभु फेरि मसँग बोल्नुभयो,6 “यी मानिसहरूले शीलोको शान्‍त पानीलाई इन्कार गरेका छन् अनि रसीन र रमल्याहको छोरासित खुसी भएका छन्,7 त्‍यसकारण परमप्रभुले शक्तिशाली र धेरै नदीको पानी अर्थात् अश्शूरका राजा र तिनका सबै महिमा तिनीहरूमाथि ल्याउन लाग्‍नुभएको छ । त्‍यसका सबै नहरमा त्‍यो आउनेछ र त्‍यसका किनारहरू भरिएर बग्‍नेछन् ।8 यो तिमीहरूका घाँटीसम्म पुगुञ्‍जेल नदी बाढी आएर अघि बढ्दै यहूदाभित्रसम्म बग्‍नेछ । ए इम्मानुएल, यसको फैलिएका पखेटाहरूले तेरो देशको सबैतिर ढाक्‍नेछ ।”9 मानिसहरू टुक्राटुक्रा हुनेछन् । सुन, ए टाढाका देशहरूः युद्धको निम्ति आफूलाई हतियारले तयार गर र चकनाचूर होओ । आफूलाई हतियारले तयार गर र चकनाचूर होओ ।10 योजना बनाओ, तर यो पूरा हुनेछैन । आज्ञा गर, तर यो पालन गरिनेछैन, किनकि परमेश्‍वर हामीसँग हुनुहुन्‍छ ।11 परमप्रभुले मसँग बोल्नुभयो, उहाँको बलियो बाहुली ममाथि थियो र यी मानिसहरू हिँडेका मार्ग नहिँड्न मलाई चेताउनी दिनुभयो ।12 यी मानिसहरूले षड्‌यन्‍त्र भनेको कुनै पनि कुरालाई षड्‌यन्‍त्र नभन्, तिनीहरू डराउने कुरासित तँ डराउनेछैनस्, र त्रसित नहो ।13 तैँले पवित्र मानेर आदर गर्ने परमप्रभु नै हुनुहुन्‍छ । तैँले उहाँकै भय मान्‍नुपर्छ र तँ उहाँसितै डराउनुपर्छ ।14 उहाँ पवित्र वासस्थान हुनुहुनेछ । तर इस्राएलका दुवै घरानाका निम्ति उहाँ प्रहार गर्ने ढुङ्‌गो र ठेस लाग्‍ने चट्टान हुनुहुनेछ - र यरूशलेमका मानिसहरूका निम्ति उहाँ पासो र जाल हुनुहुनेछ ।15 धेरै जना मानिसहरू यसमा ठेस खानेछन् र लड्नेछन् र चकनाचूर हुनेछन्, र जाल फस्‍नेछन् र समातिनेछन् ।16 मेरो गवाहीलाई बाँध, आधिकारिक लेखमा छाप लगाऊ र त्‍यो मेरा चेलाहरूलाई देऊ ।17 याकूबको घरानाबाट आफ्नो मुहार लुकाउनुहुने परमप्रभुको म आशा गर्छु । म उहाँमा भरोसा गर्छु ।18 हेर, म र परमप्रभुले मलाई दिनुभएको छोरा, सियोन पर्वतमा वास गर्नुहुने सर्वशक्तिमान् परमप्रभुबाट, इस्राएलको निम्ति चिन्हहरू र आश्‍चर्य कामहरू हुन् ।19 तिनीहरूले तिमीहरूलाई भन्‍नेछन्, “भूत खेलाउने र आत्माहरू खेलाउनेसित सल्लाह लेओ” जसले मन्‍त्र भन्‍छन् र गुनगुनाउछन् । तर के मानिसहरूले आफ्नो परमेश्‍वरसँग सल्लाह लिनुपर्दैन र ? के तिनीहरूले जीवितहरूको निम्ति मृतहरूसँग सल्लाह लिनुपर्छ र ?20 व्यवस्था र गवाहीतिर लाग ! तिनले यसो भन्‍दैनन् भने, तिनीहरूसँग बिहानको मिरमिरे उज्‍यालो नभएको हुनाले नै हो ।21 तिनीहरू अति व्याकुल भएर अनि भोकाएर देशमा हिँड्नेछन् । जब तिनीहरू भोकाउँछन्, तब तिनीहरू रिसाउनेछन्, र तिनीहरूले आफ्नो अनुहार माथि उचाल्दा, आफ्ना राजा र आफ्ना परमेश्‍वरलाई सराप्‍नेछन् ।22 तिनीहरूले पृथ्वीमा हेर्नेछन् र व्‍याकुलता, अन्धकार र अत्‍याचारको बादल देख्‍नेछन् । तिनीहरू अन्धकारको देशमा लगिनेछन् ।