7
उज्जियाहको नाति, योतामका छोरा यहूदाको राजा आहाजको समयमा, अरामका राजा रसीन, र इस्राएलका राजा रमल्याहका छोरा पेकह यरूशलेमको विरुद्धमा युद्ध गर्न माथि गए, तर तिनीहरू त्यसको विरुद्धमा विजयी हुन सकेनन् ।2 अरामले एफ्राइमसँग सन्धी गर्यो भनी दाऊदको घरानालाई बताइयो । तिनको हृदय काँप्यो, अनि तिनका मानिसहरूका हृदय जङ्गलका रूखहरू हावाले हल्लाएझैँ काँप्यो ।3 तब परमप्रभुले यशैयालाई भन्नुभयो, “तेरो छोरा शार्यासूबलाई साथमा लिएर आहाजलाई भेट्न धोबीको खेत जाने बाटोमा माथिल्लो पोखरीको नहरको छेउमा जा ।4 उसलाई भन्, ‘होशियार होऊ, शान्त बस, नडराऊ, रेसीन र अराम अनि रमल्याहको छोरा पेकहको भयङ्कर रीसको बलिरहेको अगुल्टोद्वारा त्रसित नहोऊ ।5 अराम, एफ्राइम र रमल्याहको छोराले तिम्रो विरुद्धमा खराब योजना गरेका छन् । तिनीहरूले भनेका छन्,6 “हामी यहूदालाई आक्रमण गरौँ र त्यसलाई त्रसित बनाऔँ, र हामी त्यसभित्र पसौँ र ताबेलका छोरालाई त्यहाँ हाम्रा राजा बनाऔँ ।”7 परमप्रभु परमेश्वर भन्नुहुन्छ, “त्यो कुरा हुन आउनेछैन । त्यस्तो हुनेछैन,8 किनभने अरामको मुख्यालय दमस्कस हो र दमस्कसको मुखिया रेसीन हो । पैँसट्ठी वर्षभित्र, एफ्राइम टुक्राटुक्रा हुनेछ र त्यसमा कोही मानिस हुनेछैन ।9 एफ्राइमको मुख्यालय सामरिया हो र सामरियाको मुखिया रमल्याहको छोरा हो । तिमी विश्वासमा दृढ रहँदैनौ भने, निश्चय नै तिमी सुरक्षित हुनेछैनौ ।”10 परमप्रभुले फेरि आहाजसँग बोल्नुभयो,11 “परमप्रभु आफ्ना परमश्वरसँग एउटा चिन्ह माग् । गहिराइमा भए पनि वा उच्चाइमा भए पनि यो माग् ।”12 तर आहाजले भने, “म माग्नेछैन, न त म परमप्रभुको जाँच नै गर्नेछु ।”13 त्यसैले यशैयाले जवाफ दिए, “ए दाऊदका घराना, सुन । के तिमीहरूको निम्ति मानिसहरूका धैर्यको जाँच नै पर्याप्त हुँदैन र ? के तिमीहरूले मेरो परमेश्वरको धैर्यको पनि जाँच गर्नुपर्छ र ?14 यसकारण परमप्रभुले नै तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछः हेर, एक जना कन्या केटीले गर्भधारण गर्नेछिन्, एउटा छोरा जन्माउनेछिन् र उनको नाउँ इम्मानुएल राख्नेछिन् ।15 जब उनले खराबलाई इन्कार गर्न र असललाई रोज्न जान्दछन्, तब उनले दही र मह खानेछन् ।16 किनकि बालकले खराबलाई इन्कार गर्न र असललाई रोज्न जान्नु अघि नै तिमी डराएका दुई जना राजाहरूका देश उजाड हुनेछन् ।17 परमप्रभुले तिमी, तिम्रा मानिसहरू र तिम्रा बुबाको घरानामाथि एफ्राइम यहूदाबाट छुटेदेखि कहिल्यै नभएको कुरा ल्याउनुहुनेछ - उहाँले तिमीमाथि अश्शूरका राजा ल्याउनुहुनेछ ।”18 त्यस बेला परमप्रभुले झिँगालाई मिश्र देशको खोलादेखि र मौरीलाई अश्शूरको देशदेखि सुसेलेर बोलाउनुहुनेछ ।19 तिनीहरू सबै आउनेछन् र घाँटीहरूमा, चट्टानको चिराहरूभित्र, सबै काँढाका झाङमाथि र सबै चरनहरूमा बस्नेछन् ।20 त्यस बेला परमप्रभुले युफ्रेटिस नदी पारि अश्शूरका राजाकोबाट भाडामा लिइएको छुराले, टाउकाहरू र खुट्टाहरूका रौँ खौरनुहुनेछ । त्यसले दाह्रीलाई पनि सफा गर्नेछ ।21 त्यस दिन, एक जना मानिसले एउटा कोरली र दुई वटा भेडा पाल्नेछ,22 र तिनीहरूले दिने दूधको प्रशस्तताको कारणले, उसले दही खानेछ, किनकि देशमा छोडिएका हरेकले दूध र मह खानेछन् ।23 त्यस बेला, हजार बोट दाखको हजार शेकेल पर्ने जग्गामा, त्यहाँ सिउँडी र काँढा बाहेक केही हुनेछैन ।24 मानिहरू त्यहाँ धनु लिएर शिकार गर्न जानेछन्, किनभने सबै देश नै सिउँडी र काँढा हुनेछन् ।25 तिनीहरू सिउँडी र काँढाको डरले खनजोत गरी खेतीपाती गरिएका सबै डाँडाबाट टाढै रहनेछन् । तर यो गाईवस्तु र भेडाहरू चर्ने ठाउँ हुनेछ ।