6
उज्जियाह राजाको मृत्यु भएको वर्षमा मैले परमप्रभुलाई सिंहासनमा विराजमान हुनुभएको देखेँ । उहाँ उच्च र उचालिएको हुनुहुन्थ्यो, अनि उहाँको पोशाकको छेउले मन्दिर नै ढाकेको थियो ।2 उहाँ माथिल्तिर सराफहरू थिए । प्रत्येकका छ-छ वटा पखेटाहरू थिए । दुई वटा पखेटाहरूले प्रत्येकले आफ्नो मुहार छोप्थे र दुई वटा पखेटाले तिनले आफ्ना खुट्टा छोप्थे र दुई वटाले ती उड्थे ।3 प्रत्येकले अर्कोलाई बोलाउँथे र यसो भन्थे, “सर्वशक्तिमान् परमप्रभु पवित्र, पवित्र, पवित्र हुनुहुन्छ ! सारा पृथ्वी उहाँको महिमाले भरिएको छ ।”4 ती कराइरहेकाहरूको आवाजले सँघारका जगहरू हल्लिए र मन्दिर धूँवाले भरिएको थियो ।5 तब मैले भने, “मलाई धिक्कार होस् ! किनभने म सर्वनाश भएँ, म त अशुद्ध ओठ भएको मानिस हुँ, र अशुद्ध मानिसहरूको बीचमा म बस्छु, किनभने सर्वशक्तिमान् परमप्रभु, महाराजा, परमप्रभुलाई नै मेरा आँखाले देखेका छन् !”6 तब सराफहरूमध्ये एक जना उडेर मकहाँ आए । उनको हातमा बलिरहेको भुङ्ग्रो थियो, जसलाई उनले वेदीबाट चिम्टाले निकालेका थिए ।7 त्यसले उनले मेरो ओठ छोए र भने, “हेर, यसले तिम्रो ओठ छोएको छ । तिम्रा दोषहरू हटाइएका छन् र तिम्रा पापको प्रायश्चित गरिएको छ ।”8 मैले परमप्रभुको यसो भन्ने आवाज सुनेँ, “म कसलाई पठाऊँ; हाम्रा निम्ति को जानेछ ?” तब मैले भनेँ, “म यहाँ छु । मलाई पठाउनुहोस् ।”9 उहाँले भन्नुभयो, “जाऊ, यी मानिहरूलाई भन, ‘सुन्छौ, तर बुझ्दैनौ । हेर्छौ, तर थाहा पाउँदैनौ ।’10 यी मानिसहरूका हृदयलाई मुर्ख बनाऊ, र तिनीहरूका कानलाई बहिरो बनाऊ र तिनीहरूका आँखालाई अन्धो बनाऊ । अन्यथा तिनीहरूले आफ्नो आँखाले देख्लान्, तिनीहरूका कानले सुन्लान् र तिनीहरूका हृदयले बुझ्लान् र तब फर्केर निको होलान् ।”11 तब मैले भनेँ, “हे परमप्रभु, कहिलेसम्म ?” उहाँले जवाफ दिनुभयो, “बासिन्दाबिनाका भग्नावशेष सहरहरू ध्वस्त नहोउञ्जेल र मानिसबिनाका घरहरू नहोउञ्जेल, र देश उजाड नहोउञ्जेल,12 अनि परमप्रभुले मानिसहरूलाई टाढा नपठाउञ्जेल र देश ठूलो निर्जन नहोउञ्जेलसम्म ।13 यसमा मानिसहरूको दश भागमा एक भाग रहे तापनि, फेरि पनि त्यो नष्ट पारिनेछ । जसरी तारपीन वा फँलाट काटिन्छ र त्यसको ठुटो बाँकी रहन्छ, त्यसको पवित्र बीउ त्यसको ठुटोमा हुन्छ ।”