5
मेरो असल प्रियको निम्ति मलाई गाउन, मेरो प्रियको दाखबारीको बारेमा एउटा गीत गाउन दिनुहोस् ।2 उनले यो खने, ढुङ्‌गाहरू हटाए र त्‍यसमा उत्तम जातको दाख रोपे । उनले त्‍यसको बीचमा एउटा धरहरा बनाए र एउटा दाखको कोल पनि बनाए । उनले दाख उत्पादन गर्ने समयसम्म पर्खे, तर त्‍यसले जङ्‌गली दाख मात्र फलायो ।3 त्‍यसैले अब ए यरूशलेमका बासिन्‍दाहरू र यहूदाका मानिसहरू हो, म र मेरो दाखबारीको बीचमा न्‍याय गर ।4 मेरो दाखबारीको निम्ति मैले नगरेको त्‍यस्तो के कुरा त्‍यसको निम्ति गर्न सकिन्‍थ्यो ? त्‍यसले दाख फलाओस् भन्‍ने मेरो आशा हुँदा, त्‍यसले किन जङ्‌गली दाखहरू फलायो ?5 अब म आफ्नो दाखबारीलाई के गर्नेछु सो म तिमीहरूलाई भन्‍नेछु, म त्‍यसलाई चरनमा बदल्नेछु, त्‍यसको पर्खाल म भत्काउनेछु र त्‍यसलाई कुल्चीमिल्ची गरिनेछ ।6 म त्‍यसलाई बर्बाद गर्नेछु र यसलाई छाँटकाँट वा खनजोत गरिनेछैन । बरु, यसमा काँढा र सिउँडीहरू उम्रिनेछन् । त्‍यसमाथि वर्षा नहोस् भनी म बादललाई आज्ञा पनि दिनेछु ।7 किनकि सर्वशक्तिमान् परमप्रभुको दाखबारी इस्राएलको घराना, र यहूदाका मानिसचाहिँ आनन्‍दको बगैँचा हो । न्‍यायको निम्ति उहाँले पर्खनुभयो, तर त्‍यसको साटोमा त्‍यहाँ हत्‍या भयो । धार्मिकता खोज्‍नुभयो तर त्‍यसको साटोमा सहायताको निम्ति चित्कार आयो ।8 ठाउँ नै नरहने गरी घरसित घर जोड्ने र खेतसित खेत जोड्नेहरूलाई धिक्कार, र तिमीहरू मात्र देशमा रहन्‍छौ !9 सर्वशक्तिमान् परमप्रभुले मलाई भन्‍नुभयो, धेरै वटा घर, ठूला र भव्य महलसमेत रित्ता हुनेछन्, त्‍यसमा बस्‍ने कोही हुनेछैन ।10 किनकि दश हलको दाखबारीले पाँच पाथी दाख र पचास पाथी बीउले पाँच पाथी अन्‍न मात्र उब्जाउनेछ ।11 कडा मद्य पिउनलाई बिहान सबेरै उठ्नेहरू, मद्यले तिनीहरूलाई चूर नबनाएसम्म राती अबेरसम्म बस्‍नेहरूलाई धिक्कार ।12 तिनीहरू वीणा, सारङ्‌गी, बाँसुरी र मद्यसित भोज खान्‍छन्, तर तिनीहरूले परमप्रभुको कामको चिन्‍दैनन्, न त तिनीहरूले उहाँका हातका कामहरूलाई नै विचार गरेका छन् ।13 यसकारण सुझबुझको कमीले गर्दा मेरा मानिसहरू निर्वासनमा गएका छन् । तिनीहरूका आदरणीय अगुवाहरू भोक-भोकै हुन्‍छन् र तिनीहरूका साधारण मानिसहरूसँग पिउनलाई कुनै कुरा छैन ।14 यसकारण चिहानले आफ्नो भोकलाई ठूलो पारेको छ र त्‍यसले आफ्नो मुखलाई चौडा पारेको छ । तिनीहरूका कुलीनहरू, मानिसहरू, तिनीहरूका अगुवाहरू, हल्‍ला गर्नेहरू र तिनीहरू माझमा खुसी हुनेहरू चिहानमा जान्‍छन् ।15 मानिसलाई निहुरिन बाध्‍य बनाइनेछ र मानवजातिलाई नम्र तुल्याइनेछ । घमण्डीका आँखालाई झुकाइनेछन् ।16 सर्वशक्तिमान् परमप्रभु आफ्नो न्‍यायमा उच्‍च पारिनुहुनेछ र परमपवित्र परमेश्‍वरले आफ्नो धार्मिकताद्वारा आफूलाई पवित्र प्रकट गर्नुहुनेछ ।17 तब भेडाहरू तिनीहरूका आफ्नै चरणमा झैँ चर्नेछन् र भग्‍नावशेषमा थुमाहरू परदेशीझैँ चर्नेछन् ।18 धिक्कार तिनीहरूलाई जसले अधर्मलाई व्यर्थका डोरीले तान्‍छन् र पापलाई गाडाको डोरीले झैँ तान्‍छन् ।19 धिक्कार तिनीहरूलाई, जसले भन्‍छन्, “परमेश्‍वरले हतार गर्नुभएको होस्, उहाँले चाँडै काम गर्नुभएको होस्, ताकि हामी यसो भएको देख्‍न सकौँ; र इस्राएलको परमपवित्रको योजना पूरा होस् ताकि हामीले ती थाहा पाऔँ ।”20 धिक्कार तिनीहरूलाई जसले खराबलाई असल र असललाई खराब भन्‍छन् । जसले ज्‍योतिलाई अँध्‍यारो र अँध्‍यारोलाई ज्‍योतिको रूपमा लिन्‍छन् । अनि तीतोलाई गुलियो र गुलियोलाई तीतोको रूपमा लिन्‍छन् ।21 धिक्कार तिनीहरूलाई जो आफ्नै आँखामा बुद्धिमान र आफ्नै समझमा चतुर छन् !22 धिक्कार तिनीहरूलाई जो दाखमद्य पिउनलाई सिपालु र कडा मद्यहरू मिसाउनमा कुशल छन् ।23 जसले घूस लिएर दुष्‍टलाई छोडिदिन्‍छ र निर्दोषलाई उसको अधिकार हनन गर्छ !24 यसकारण जसरी आगोको ज्वालाले झिँजामिजालाई जलाउँछ र जसरी सुकेको घाँस आगोमा भस्‍म हुन्‍छ, त्‍यसरी नै तिनीहरूका जरा सड्नेछ र तिनीहरूका फूल धूलोझैँ उड्नेछ । सर्वशक्तिमान् परमप्रभुको व्यवस्थालाई तिनीहरूले इन्कार गरेका हुनाले यसो हुनेछ, अनि इस्राएलका परमपवित्रको वचनलाई तिनीहरूले घृणा गरेका हुनाले यस्तो हुनेछ ।25 यसकारण परमप्रभुको रीस उहाँका मानिसहरूका विरुद्धमा दन्किएको छ । उहाँले आफ्नो हात तिनीहरूका विरुद्धमा पसार्नुभएको छ र तिनीहरूलाई दण्ड दिनुभएको छ । पहाडहरू काँप्छन् र तिनीहरूका लाशहरू गल्लीहरूमा फोहोर झैँ छन् । यी सबै कुरामा उहाँको रीस मर्दैन । बरु, उहाँको हात अझै पसारिएको छ ।26 उहाँले टाढाका जातिहरूका निम्ति चिन्हको झण्डा उठाउनुहुनेछ र पृथ्वीको अन्‍तमा भएकाहरूलाई सुसेलेर बोलाउनुहुनेछ । हेर, तिनीहरू द्रूत गतिमा र तुरुन्‍तै आउनेछन् ।27 तिनीहरूका माझमा कोही पनि थाक्‍नेछैनन् न त ठेस खानेछन् । कोही पनि निदाउनेछैन न त उँघ्‍नेछन् । न त तिनीहरूका पेटीहरू खुकुला हुनेछन्, न त तिनीहरूका जुत्ताका फिताहरू नै खुकुला हुनेछन् ।28 तिनीहरूका काँडहरू तीखा छन् र तिनीहरूका सबै धनुहरूमा ताँदो चढाइएका छन् । तिनीहरूका घोडाहरूका खुर चकमक ढुङ्‌गाहरू जस्ता छन् र तिनीहरूका रथहरूका पाङ्‌ग्राहरू आँधी जस्ता छन् ।29 तिनीहरूका गर्जन सिंहको जस्‍तो हुनेछ । जवान सिंहहरूझैँ तिनीहरू गर्जनेछन् । तिनीहरू गर्जन्‍छन् र शिकार समात्‍नेछन् र छुटाउने कोही नभई त्‍यो घिसारेर लैजानेछन् ।30 त्‍यस दिन शिकारको विरुद्धमा तिनीहरू समुद्र गर्जेझैँ गर्जनेछन् । कसैले देशलाई हेर्छ भने, उसले अन्धकार र कष्‍ट देख्‍नेछ । प्रकाशलाई पनि बादलले अँध्‍यारो पार्नेछ ।