4
फेरि एक पटक मैले सूर्यमुनि भएका सबै थिचोमिचोको विषयमा विचार गरेँ । मैले थिचोमिचोमा परेकाहरूको आँसु देखेँ, र तिनीहरूलाई सान्‍त्वना दिने कोही थिएन । शक्ति तिनीहरूलाई थिचोमिचो गर्नेहरूको हातमा थियो, र तिनीहरूलाई सान्‍त्वना दिने कोही थिएन ।2 अझै बाँचिरहेकाहरू भन्‍दा पहिले नै मरेकाहरू बढी भाग्यमानी हुन् भनी मैले विचार गरेँ ।3 तथापि, ती दुवै भन्‍दा पनि अझै नजन्‍मेकोचाहिँ बढी भाग्यमानी हो । त्‍यसले सूर्यमुनि गरिएको कुनै पनि खराब कामहरू देख्‍नै पाएको हुँदैन ।4 तब हरेक परिश्रम र हरेक सिपालु काम आफ्नो छिमेकीको ईर्ष्याबाट आउँदो रहेछ भनी मैले देखेँ । यो पनि बाफ नै हो र बतासलाई खेद्‌ने कोसिस मात्र हो ।5 मूर्खले आफ्ना हात बाँधेर बस्छ, र कुनै काम गर्दैन । त्‍यसैले त्‍यसको भोजन त्‍यसको आफ्नै शरीर हुन्‍छ ।6 बतासलाई खेद्‌ने कोसिसबाट प्राप्त दुई मुट्ठी भन्‍दा मौन कामबाट प्राप्त एक मुट्ठी लाभ उत्तम हुन्‍छ ।7 त्‍यसपछि मैले सूर्यमुनि व्यर्थता अर्थात् हराएर जाने बाफको विषयमा अझै सोचविचार गरेँ ।8 एउटा एक्लै बस्‍ने किसिमको मानिस छ । त्‍यसको कोही छैन, न छोरा, न दाजुभाइ । त्‍यसको कामको कुनै अन्‍त्‍य छैन, र त्‍यसका आँखा धन-सम्पत्ति आर्जन गर्नमा सन्‍तुष्‍ट हुँदैनन् । त्‍यो छक्क पर्छ, "मैले कसको लागि मेहनत गर्दै छु ? मैले किन सुख-विलासलाई त्‍याग्दै छु ?" यो पनि बाफ र खराब अवस्था हो ।9 एक्लोले भन्‍दा दुई जना मानिसले उत्तम काम गर्छ । सँगसँगै मिलेर तिनीहरूले आफ्नो परिश्रमको लागि राम्रो आम्दानी गर्न सक्छन् ।10 एउटा खस्यो भने अर्कोले आफ्नो साथीलाई उठाउन सक्छ । तथापि एक्लो भएको मानिस खस्दा त्‍यसलाई उठाउने कोही भएन भने त्‍यसलाई शोकले पिछा गर्छ ।11 दुई जना सँगसँगै सुते भने न्‍यानो हुन्‍छ, तर एक जना मात्र त कसरी न्‍यानो हुने ?12 एक जनालाई जित्‍न सकिन्‍छ, तर दुई जनाले आक्रमणको सामना गर्न सक्छन्, र तीन सूतले बाटेको डोरी झट्टै चुँडिँदैन ।13 चेतावनीहरूलाई कसरी सुन्‍ने भनी नजान्‍ने वृद्ध र मूर्ख राजा हुनु भन्‍दा गरिब तर बुद्धिमान् जवान मानिस हुनु उत्तम हो ।14 त्‍यो जवान मानिस झ्यालखानाबाट निस्केर राजा भए तापनि वा आफ्नै राज्‍यमा गरिब जन्‍मेको भए तापनि यो साँचो हुन्‍छ ।15 मैले देखेँ, कि सूर्यमुनि हरेक जिउँदो मानिस र यताउता हिँडडुल गर्नेहरू त्‍यही जवान मानिससित हिँड्दै थिए जसले आफ्नो ठाउँ लिनै लागेको थियो ।16 नयाँ राजाको आज्ञा मान्‍न चाहने सबै मानिसहरूका लागि कुनै अन्‍त्‍य छैन, तर पछि तिनीहरूमध्‍ये धेरैले युवकको प्रशंसा गर्नेछैनन् । निश्‍चय नै यो अवस्था पनि बाफ हो, र बतासलाई खेद्‌ने कोसिस मात्र हो ।