3
हरेक कुराको लागि तोकिएको समय छ, र आकाशमुनि हरेक उद्देश्यको लागि बेला छ ।2 जन्‍मने एउटा समय छ, र मर्ने एउटा समय । रोप्‍ने एउटा समय छ, र उखेल्ने एउटा समय ।3 मार्ने एउटा समय छ, र निको पार्ने एउटा समय । भत्काउने एउटा समय छ, र बनाउने एउटा समय ।4 रुने एउटा समय छ, र हाँस्‍ने एउटा समय । शोक गर्ने एउटा समय छ, र नाच्‍ने एउटा समय ।5 ढुङ्‌गा फ्याँक्‍ने एउटा समय छ, र ती बटुल्ने एउटा समय । अरू मानिसलाई अङ्‌गाल्ने एउटा समय छ, र त्‍यसबाट अलग रहने एउटा समय ।6 खोजी गर्ने एउटा समय छ, र खोज्‍न छाड्ने एउटा समय । राख्‍ने एउटा समय छ, र फाल्ने एउटा समय ।7 लुगा च्‍यात्‍ने एउटा समय छ, र त्‍यसलाई मर्मत गर्ने एउटा समय । चुप लाग्‍ने एउटा समय छ, र बोल्ने एउटा समय ।8 प्रेम गर्ने एउटा समय छ, र घृणा गर्ने एउटा समय । युद्ध गर्ने एउटा समय छ, र मिलाप गर्ने एउटा समय ।9 कामदारले आफ्नो परिश्रमबाट के लाभ पाउँछ र ?10 मानव-जातिलाई पूरा गर्न परमेश्‍वरले दिनुभएको काम मैले देखेको छु ।11 परमेश्‍वरले हरेक कुरोलाई त्‍यसको आफ्नो समयमा सुयोग्य बनाउनुभएको छ । उहाँले मानिसहरूका हृदयमा अनन्‍तता पनि राखिदिनुभएको छ । तर मानव-जातिले सुरुदेखि अन्‍त्‍यसम्म परमेश्‍वरले गर्नुभएका कामहरू बुझ्‍न सक्दैन ।12 मानिस बाँचुञ्‍जेलसम्म त्‍यो आनन्‍दित रहनु र असल गर्नु भन्‍दा त्‍यसको लागि अर्को कुनै उत्तम कुरो छैन भनी मलाई थाहा छ ।13 हरेकले खानुपर्छ र पिउनुपर्छ, अनि आफ्ना सबै कामबाट आउने असल कुराहरूमा कसरी आनन्‍द मनाउने भनी बुझ्‍नुपर्छ । यो नै परमेश्‍वरको उपहार हो ।14 मलाई थाहा छ, कि परमेश्‍वरले जे गर्नुहुन्‍छ, त्‍यो रहिरहन्‍छ । त्‍यसमा केही थप्‍न सकिँदैन, न त त्‍यसबाट हटाउन सकिन्‍छ, किनकि परमेश्‍वरले नै त्‍यो गर्नुभएको हो ताकि मानिसहरू आदरसाथ उहाँकहाँ जाऊन् ।15 जे अस्तित्वमा छ, त्‍यो पहिलेदेखि नै अस्तित्वमा रहेको छ । जे अस्तित्वमा रहनेछ, त्‍यो पहिलेदेखि नै अस्तित्वमा रहेको छ । लुकिएका कुराहरूको खोजी गर्न परमेश्‍वरले मानिसहरूलाई बनाउनुहुन्‍छ ।16 सूर्यमुनिको दुष्‍टतालाई मैले देखेको छु, जहाँ न्‍याय हुनुपर्थ्यो, र धार्मिकताको सट्टामा दुष्‍टता थियो ।17 मैले मेरो मनमा भनेँ, "हरेक विषय र हरेक कामको लागि ठीक समयमा परमेश्‍वरले धर्मीहरू र दुष्‍टहरूको न्‍याय गर्नुहुनेछ ।18 मैले मेरो हृदयमा भनेँ, "मानिसहरू पशुहरू जस्‍तै हुन् भनी देखाउन परमेश्‍वरले तिनीहरूको जाँच गर्नुहुन्‍छ ।19 किनकि मानव-जातिको अन्‍त्‍य र पशुहरूको अन्‍त्‍य समान छ । एउटाको मृत्‍यु अर्कोको जस्‍तै छ । तिनीहरू सबैको एउटै सास छ । मानव-जातिलाई पशुहरूलाई भन्‍दा बढी लाभ छैन । किनकि के सबै कुरा सास नै होइन र ?20 हरेक कुरा उही ठाउँमा जाँदै छ । हरेक कुरा धूलोबाट आउँछ, र धूलोमा नै फर्केर जान्‍छ ।21 मानिसको आत्मा उँभोतिर र पशुको प्राण तलतिर माटोमा जान्‍छ भनी कसलाई थाहा छ र ?22 त्‍यसैले मानिसको लागि आफ्नो काममा आनन्‍द लिनु भन्‍दा उत्तम कुरो छैन भनी फेरि मैले बुझेँ, किनकि त्‍यो नै त्‍यसको जिम्मेवारी हो । त्‍यस भन्‍दा पछि के हुन्‍छ भनी देखाउन त्‍यसलाई कसले फर्काएर ल्याउन सक्छ र ?