5
परमेश्‍वरको भवनमा जाँदा आफ्ना कदमहरूको रखवाली गर् । मूर्खहरूको बलिदान चढाउनु भन्‍दा सुन्‍नलाई नजिक जा, किनकि के गल्ती गर्दै छन् भनी तिनीहरू बुझ्दैनन् ।2 बोल्नमा हतार नगर्, र परमेश्‍वरको सामु आफ्नो विषय लैजान तेरो हृदयमा आतुरी नगर् । परमेश्‍वर स्वर्गमा हुनुहुन्‍छ, तर तँ पृथ्वीमा छस् । त्‍यसैले तेरा वचनहरू थोरै होऊन् ।3 तैँले गर्नुपर्ने र चिन्‍ता लिनुपर्ने धेरै कुराहरू छन् भने तैँले सम्भवतः खराब सपना देख्‍ने छस् । तैँले जति धेरै बोल्छस्, सम्भवतः त्‍यति नै धेरै मूर्ख कुराहरू ओकल्छस् ।4 तैँले परमेश्‍वरमा भाकल गर्दा त्‍यसलाई पूरा गर्न ढिलो नगर्, किनकि परमेश्‍वर मूर्खहरूसित रमाउनुहुन्‍न । तैँले जे गर्छु भनेर भाकल गरेको छस्, त्‍यो गरिहाल् ।5 भाकल गरेर पूरा नगर्नु भन्‍दा भाकलै नगरेको उत्तम हुन्‍छ ।6 तेरो शरीरलाई पाप गर्न तेरो मुखलाई अनुमति नदे । पूजाहारीको सन्‍देशवाहकलाई यसो नभन्, "त्‍यो भाकल भूल थियो ।" झूटो पाराले भाकल गरी परमेश्‍वरलाई किन रीस उठाउने ? तेरा हातको कामलाई नष्‍ट पार्न परमेश्‍वरलाई किन चिढ्याउने ?7 किनकि धेरै शब्दहरूमा जस्‍तै धेरै कल्पनामा अर्थहीन बाफ हुन्‍छ । त्‍यसैले परमेश्‍वरको भय मान् ।8 जब तैँले तेरो प्रान्‍तमा गरिबहरूलाई थिचोमिचो गरिएको र तिनीहरूबाट न्‍याय र असल व्यवहार खोसिएको देख्छस्, तब कसैलाई थाहै नभए जस्‍तै गरी चकित नहो, किनकि तिनीहरूको रेखदेख गर्ने मानिसहरू शक्तिमा छन्, र तिनीहरू भन्‍दा अझै उच्‍च पदमा रहेर तिनीहरूको रेखदेख गर्ने मानिसहरू पनि हुन्‍छन् ।9 यस बाहेक, खेतबारीको उब्जनी हरेकको लागि हो, र राजा स्वयम्ले पनि खेतबारीबाट उब्जनी बटुल्छन् ।10 चाँदीलाई प्रेम गर्ने चाँदीबाट सन्‍तुष्‍ट हुनेछैन, र धन-सम्पत्तिलाई प्रेम गर्नेले सधैँ यसको बढी चाह गर्छ । यो पनि बाफ हो ।11 जब समृद्धि बढ्छ, तब यसलाई खाने मुख पनि बढ्छ । मालिकले आफ्ना आँखाले धन-सम्पत्तिलाई हेर्नु भन्‍दा बाहेक उसलाई केचाहिँ बढी लाभ हुन्‍छ र ?12 धेरै खाए पनि थोरै खाए पनि काम गर्ने मानिसको निद्रा मीठो हुन्‍छ, तर धनी मानिसको धन-सम्पत्तिले त्‍यसलाई राम्ररी सुत्‍न दिँदैन ।13 सूर्यमुनि मैले एउटा खराबी देखेको छुः मालिकले आफ्नै दुर्दशाको निम्ति धन-सम्पत्ति थुपार्छ ।14 जब धनी मानिसले दुर्भाग्यबाट आफ्नो धन-सम्पत्ति गुमाउँछ, तब त्‍यसले पालन-पोषण गरेको त्‍यसको आफ्नै छोरोको हातमा केही पनि हुँदैन ।15 मानिस आफ्नी आमाको कोखबाट नाङ्‌गै आए जस्‍तै त्‍यो पनि नाङ्‌गै छाडिनेछ । त्‍यसले आफ्नो हातमा आफ्नो परिश्रमको कुनै फल लैजान सक्दैन ।16 अर्कोचाहिँ खराबी यही हो, कि मानिस जसरी आउँछ, त्‍यसरी नै फर्केर जान्‍छ । त्‍यसैले बतासको लागि काम गर्ने मानिसलाई केचाहिँ लाभ छ र ?17 आफ्नो जीवनकालमा त्‍यसले नैराश्यमा खान्‍छ, अनि रोग र रीसबाट ज्‍यादै निराश हुन्‍छ ।18 परमेश्‍वरले हामीलाई दिनुभएको यस जीवनकालमा सूर्यमुनि हामीले परिश्रम गर्दा हाम्रा सारा कामबाट प्राप्त कुराहरूको आनन्‍द मनाउनु, खानु र पिउनु नै ठीक र उचित हो भनी मैले देखेको छु । किनकि यो नै मानिसको जिम्मेवारी हो ।19 जसलाई परमेश्‍वरले धन-सम्पत्ति र जग्गा-जमिन, अनि त्‍यसको काममा त्‍यसको हिस्सा प्राप्त गर्ने र आनन्‍द मनाउने खुबी दिनुभएको छ, त्‍योचाहिँ परमेश्‍वरको वरदान हो ।20 किनकि त्‍यसले आफ्नो जीवनका दिनहरूको प्रायः स्मरण गर्दैन, किनकि परमेश्‍वरले त्‍यसलाई यस्ता कुराहरूमा व्यस्त पारिदिनुहुन्‍छ जसमा त्‍यो काम गर्नमा रमाउँछ ।