26
तब अय्यूबले जवाफ दिए र भने,2 "शक्ति नभएको मानिसलाई तपाईंले कसरी मदत गर्नुभएको छ ! तागत नभएको पाखुरालाई तपाईंले कसरी बचाउनुभएको छ !3 बुद्धि नभएको मानिसलाई तपाईंले कसरी सल्लाह दिनुभएको छ, र उसलाई उचित ज्ञान सिकाउनुभएको छ !4 कसको सहायताद्वारा तपाईंले यी वचनहरू बोल्नुभएको छ ? तपाईंबाट बाहिर निस्केको आत्मा कसको थियो ?5 मरेकाहरू, पानीमुनि भएकाहरू र त्यहाँ वास गर्नेहरू, सबैलाई त्रसित पारिएको छ ।6 परमेश्वरको सामु चिहान उदाङ्गो छ । विनाश आफै पनि उहाँबाट लुक्न सक्दैन ।7 उत्तरी आकाशलाई उहाँले खुल्ला अन्तरिक्षमा तन्काउनुहुन्छ, अनि पृथ्वीलाई उहाँले शून्यतामा झुण्ड्याउनुहुन्छ ।8 उहाँले पानीलाई आफ्नो बाक्लो बादलहरूमाथि जम्मा गर्नुहुन्छ, तर पनि तीमुनिका बादलहरू फाट्दैनन् ।9 उहाँले चन्द्रमाको सतहलाई ढाक्नुहुन्छ, र आफ्ना बादलहरू त्यसमाथि फैलाउनुहुन्छ ।10 उज्यालो र अँध्यारोको बीचको सिमाङ्कन गर्न, उहाँले पानीको सतहमा एउटा गोलो सीमारेखा बनाउनुभएको छ ।11 उहाँको हप्कीमा स्वर्गका खम्बाहरू हल्लिन्छन् र छक्क पर्छन् ।12 आफ्नो शक्तिले उहाँले समुद्रलाई शान्त पार्नुभयो । आफ्नो सुझबुझले उहाँले राहाबलाई टुक्राटुक्रा पार्नुभयो ।13 आफ्नो सासले उहाँले आकाशलाई सफा पार्नुभयो । वेगले भाग्दै गरेको सर्पलाई उहाँका हातले छेड्नुभयो ।14 हेर्नुहोस्, यी त उहाँको शक्तिको किनाराहरू मात्र हुन् । हामीले उहाँको बारेमा एउटा मधुरो स्वर मात्रै सुन्छौँ । उहाँको शक्तिको गर्जनलाई कसले बुझ्न सक्छ र ?"