27
अय्यूबले फेरि बोल्न थाले अनि यसो भने,2 "परमप्रभु जीवित हुनुभएझैँ, जसले मेरो न्याय हटाउनुभएको छ, सर्वशक्तिमान् जसले मेरो जीवन तीतो बनाउनुभएको छ ।3 जबसम्म मेरो जीवन ममा रहन्छ, अनि परमेश्वरको सास मेरो नाकमा रहन्छ, तबसम्म म यही कुरा गर्नेछु ।4 मेरो ओठले दुष्ट कुरा बोल्नेछैन, न त मेरो जिब्रोले छलको कुरा बोल्नेछ ।5 तपाईंहरू तीन जनाले ठीक बोल्नुहुन्छ भनी म कदापि स्वीकार गर्दिन । मेरो मृत्यु नभएसम्म म आफ्नो निष्ठालाई कदापि इन्कार गर्नेछैनँ ।6 म आफ्नो धार्मिकतालाई बलियो गरी समाउँछु, र त्यसलाई जान दिन्नँ । म बाँचुञ्जेलसम्म मेरा विचारहरूले मलाई निन्दित पार्नेछैनन् ।7 मेरो शत्रु एक जना दुष्ट मानिसझैँ होस् । जो मेरो विरुद्धमा खडा हुन्छ, ऊ एक जना अधर्मी मानिसझैँ होस् ।8 किनकि परमेश्वरले ईश्वरहीन मानिसलाई इन्कार गर्नुहुँदा, परमेश्वरले उसको जीवनलाई हटाउनुहुँदा, उसको आशा के हुन्छ र ?9 उसमाथि सङ्कष्ट आइपर्दा, के परमेश्वरले उसको पुकारा सुन्नुहुन्छ र ?10 के ऊ सर्वशक्तिमान्मा आनन्दित हुन्छ, अनि उसले हर समयमा परमेश्वरलाई पुकारा गर्छ ?11 म तपाईंहरूलाई परमेश्वरको शक्तिको बारेमा सिकाउनेछु । म सर्वशक्तिमान्का विचारहरूलाई लुकाउनेछैनँ ।12 हेर्नुहोस्, तपाईंहरू सबैले यो आफैले देख्नुभएको छ । तब तपाईंहरूले यी सबै निरर्थक कुरा किन बोल्नुभएको हो त ?13 दुष्ट मानिसले परमेश्वरबाट पाउने हिस्सा यही हो । सर्वशक्तिमान्बाट अत्याचारीले पाउने आफ्नो पैतृक-अंश यही हो ।14 उसका छोराछोरीहरूको सङ्ख्या बढ्छन् भने, त्यो तरवारको निम्तो हो । उसका सन्तानहरूले पेटभरि खान कदापि पाउनेछैनन् ।15 उससँग बाँच्नेहरू विपत्तिद्वारा गाडिनेछन्, अनि तिनीहरूका विधवाहरूले तिनीहरूका निम्ति विलाप गर्नेछैनन् ।16 दुष्ट मानिसले धूलोझैँ चाँदीको थुप्रो लगाए पनि, र माटोझैँ लुगाफाटा थुपारे पनि,17 उसले ती लुगाफाटा जम्मा त गर्ला, तर धर्मी मानिसहरूले ती लगाउनेछन्, र निर्दोष मानिसहरूले चाँदीचाहिं आफ्नो बीचमा बाँड्नेछन् ।18 माकुरोले झैँ, एक जना पहरेदारले बनाउने झुप्रोझैँ, उसले आफ्नो घर बनाउँछ ।19 ऊ धनी भएर ओछ्यानमा पल्टन्छ, तर उसले त्यसो गरिरहनेछैन । उसले आफ्ना आँखाहरू खोल्छ, अनि हरेक कुरा सिद्धिएको हुनेछ ।20 पानीले झैँ त्रासले उसलाई डुबाउनेछ । रातमा एउटा आँधीले उसलाई टाढा पुर्याउनेछ ।21 पूर्वीय बतासले उसलाई उडाएर लान्छ, र उसले छोड्नेछ । त्यसले उसलाई आफ्नो वासस्थानबाट पुर्याउनेछ ।22 उसमाथि त्यो हुत्तिन्छ, र रोकिन्न । त्यसको पन्जाबाट ऊ भाग्न खोज्छ ।23 उसको गिल्ला गरेर त्यसले आफ्नो ताली बजाउँछ । त्यसले आफ्नो ठाउँबाट उसको खिसी गर्छ ।