6
तब अय्‍यूबले जवाफ दिए र भने,2 "हाय, मेरो वेदना जोखिएको भए, मेरा सबै विपत्ति तराजूमा राखिएको भए,3 किनकि अहिले त्‍यो समुद्रका बालुवा भन्‍दा पनि गह्रौँ हुने थियो, त्‍यसकारण मेरा वचन समझहीन छन् ।4 सर्वशक्तिमान्‌का काँडहरू ममा गाडिएका छन्, र मेरो आत्माले विष सेवन गर्छ । परमेश्‍वरको त्रास आफै मेरो विरुद्धमा तैनाथ छन् ।5 के वनको गधाले घाँस पाउँदा यो निराशामा कराउँछ र ? वा के गोरुले कुँडो पाउँदा यो डुक्रन्‍छ र ?6 के स्वाद नभएको खानेकुरालाई नुनबिना खान सकिन्‍छ र ? वा अण्डाको सेतो भागको कुनै स्वाद हुन्‍छ र ?7 म तिनलाई छुन पनि इन्कार गर्छु । मेरा लागि ती घृणित खानेकुरा हुन् ।8 हाय ! मैले बिन्‍ती गरेको कुरा मसित भए ! हाय, मैले चिताएको कुरा परमेश्‍वरले दिनुभए !9 मलाई एकैचोटी धुलो पार्न परमेश्‍वर खुसी हुनुपर्छ ! उहाँले आफ्नो हात उठाउनुपर्छ र यो जीवनबाट मलाई खतम पार्नुपर्छ !10 यो अझै पनि मेरो सान्‍त्वना होस्– म पीडामा उफ्रे पनि त्‍यो घट्दैन, मैले परमपवित्रको वचन इन्कार गरेको छैनँ ।11 मैले पर्खन कोसिस गर्नुपर्ने मेरो बल के हो र ? मैले आफ्नो जीवनलाई लम्ब्याउनुपर्ने मेरो अन्‍त्‍य के हो ?12 के मेरो बल ढुङ्‌गाहरूका बल हो र ? अर्थात् मेरो मासु काँसाबाट बनेको छ ?13 म आफैलाई मदत गर्न सक्दिन भन्‍ने कुरा सत्‍य होइन र, अनि बुद्धिलाई मबाट खेदिएको छैन र ?14 मूर्च्‍छा खानै लागेको व्यक्तिलाई, त्‍यसको साथीले विश्‍वसनीयता देखाउनु, उसलाई पनि जसले सर्वशक्तिमान्‌को भयलाई त्‍याग्छ ।15 तर मरुभूमिको नहरझैँ मेरा दाजुभाइ मसित विश्‍वासयोग्य भएका छन्, बगेर कतै पनि नपुग्‍ने पानीको नहरझैँ,16 तीमाथि बरफ जमेको हुनाले, र तिनमा लुकेर बस्‍ने हिउँको कारणले अँध्‍यारो भएका छन् ।17 जब ती पग्लिन्‍छन्, ती विलय हुन्‍छन् । तातो हुँदा ती आफ्नो ठाउँबाट पग्लेर जान्‍छन् ।18 आफ्नो बाटोमा हिँड्ने यात्रु-दल पानी खोज्‍न पाखा लाग्छन् । तिनीहरू बाँझो भू-भागमा भौँतारिन्‍छन्, र नष्‍ट हुन्‍छन् ।19 तेमाबाट आएका यात्रु-दलले त्‍यहाँ हेरे, जबकि शेबाका सहयात्रीहरूले तिनमा आशा राखे ।20 तिनमा पानी भेट्टाउने निश्‍चयता भएको हुनाले तिनीहरू निरुत्साही भए । तिनीहरू त्‍यहाँ गए, तर तिनीहरू धोकामा परे ।21 किनकि अब तपाईं मित्रहरू त मेरा लागि केही होइन । तपाईंहरू मेरो डरलाग्दो अवस्था देख्‍नुहुन्‍छ र डराउनुहुन्‍छ ।22 के मैले तपाईंलाई यसो भनेँ, 'मलाई केही कुरा दिनुहोस् ?' अथवा ‘आफ्नो धन-सम्पत्तिबाट मलाई एउटा उपहार दिनुहोस् ?’23 अथवा ‘मलाई मेरा वैरीको हातबाट बचाउनुहोस् ?' अथवा 'मेरो थिचोमिचो गर्नेहरूको हातबाट मलाई मोल तिरेर छुटाउनुहोस् ?'24 मलाई सिकाउनुहोस्, र म आफू शान्‍त रहनेछु । मैले कहाँ गल्ती गरेँ, मलाई प्रष्‍ट पार्नुहोस् ।25 इमानदार वचन कति पीडादयक हुन्‍छन् ! तर तपाईंका तर्कहरू, कसरी तिनले मलाई साँच्‍चै हप्काउँछन् र ?26 मेरा वचनलाई बेवास्ता गर्ने योजना गर्नुहुन्‍छ, निराश मानिसका वचनलाई बतासझैँ तपाईं गर्नुहुन्‍छ ?27 वास्तवमा, तपाईं अनाथको लागि चिट्ठा हाल्नुहुन्‍छ, र बेच्‍ने सामानझैँ आफ्नो मित्रको मूल्य तोक्‍नुहुन्‍छ ।28 त्‍यसकारण अब कृपया मलाई हेर्नुहोस्, किनकि म निश्‍चय नै तपाईंको सामु झूट बोल्दिनँ ।29 मेरो बिन्‍ती छ, कोमल हुनुहोस् । तपाईंसित कुनै अन्‍याय नहोस् । वास्तवमै कोमलो हुनुहोस्, किनकि मेरो समस्या न्‍यायोचित छ ।30 के मेरो जिब्रोमा खराबी छ र ? के मेरा मुखले दूर्भावपूर्ण कुराहरू छुट्‌ट्‌याउन सक्दैन र ?"