5
अहिले बोलाउनुहोस् । तपाईंलाई जवाफ दिने कुनै व्यक्ति छ ? पवित्र मानिसहरूमध्‍ये कुनतिर तपाईं फर्कनुहुनेछ ?2 किनकि मूर्ख मानिसलाई रीसले मार्छ । सजिलै छलमा पर्नेलाई ईर्ष्याले मार्छ ।3 मूर्ख व्यक्तिले जरा गाडेको मैले देखेको छु, तर मैले एक्कासि त्‍यसको घरलाई सराप दिएँ ।4 त्‍यसका छोराछोरीहरू बिल्कुलै सुरक्षित छैनन् । तिनीहरू सहरको मूल ढोकामा कुल्चिमिल्ची पारिएका छन् । तिनीहरूलाई छुटकारा दिने कोही छैन ।5 भोकाएकाहरूले आफ्नो फसल खान्‍छन् । तिनीहरूले त्‍यसलाई काँढाहरूका बीचबाट पनि बटुल्छन् । तिर्खाएकाहरूले आफ्नो धन-सम्पत्तिको तृष्णा गर्छन् ।6 किनकि कठिनाइ माटोबाट आउँदैन । न त भुइँबाट समस्या उम्रन्‍छ ।7 बरु, मानव-जाति कष्‍टकै लागि जन्‍मन्‍छन्, जसरी आगोको झिल्काहरू माथि उड्छन् ।8 तर मेरो बारेमा, स्वयम् परमेश्‍वरकहाँ नै म फर्कन्‍छु । उहाँमा नै म आफ्नो गुनासो समर्पित गर्छु -9 महान् अनि अगम्य कुराहरू गर्नुहुने, अनगिन्‍ती उदेकका कामहरू गर्नुहुने उहाँ नै हुनुहुन्‍छ ।10 उहाँले पृथ्वीमा वृष्‍टि दिनुहुन्‍छ, र खेतबारीमा पानी पठाउनुहुन्‍छ ।11 नम्रहरूलाई उच्‍च स्थानमा राख्‍नलाई अनि शोक गर्नेहरूलाई सुरक्षित उचाल्नलाई उहाँले यसो गर्नुहुन्‍छ ।12 धूर्त मानिसहरूका हातले सफलता नपाओस् भनेर, उहाँले तिनीहरूका योजनाहरूलाई विफल तुल्याउनुहुन्‍छ ।13 उहाँले बुद्धिमान् मानिसहरूलाई तिनीहरूका आफ्नै धूर्त कामहरूमा पासोमा पार्नुहुन्‍छ । टेढा मानिसहरूका योजनाहरू अन्‍त्‍यको लागि हतारिन्‍छन् ।14 तिनीहरूले दिउँसै अन्धकार भेट्टाउँछन्, अनि मध्‍यदिनमा पनि रातमा झैँ छामेर हिँड्छन् ।15 तर उहाँले गरीबहरूलाई तिनीहरूको मुखमा भएको तरवारदेखि र खाँचोमा परेकालाई शक्तिशाली मानिसहरूको हातबाट बचाउनुहुन्‍छ ।16 त्‍यसैले गरीब मानिसको आशा छ, र अन्‍यायले त्‍यसको आफ्नै मुख बन्‍द गर्छ ।17 हेर, त्‍यो मानिस धन्‍यको हो, जसलाई परमेश्‍वरले सुधार्नुहुन्‍छ । त्‍यसकारण सर्वशक्तिमान्‌को ताडनालाई इन्कार नगर ।18 किनकि उहाँले चोट पुर्‍याउनुहुन्‍छ, र पट्टी बाँध्‍नुहुन्‍छ । उहाँले चोट पुर्‍याउनुहुन्‍छ र आफ्नै हातले निको पार्नुहुन्‍छ ।19 उहाँले तपाईंलाई छ वटा कष्‍टबाट छुटकारा दिनुहुनेछ । वास्तवमा सातौँ कष्‍टमा पनि कुनै दुष्‍ट्‌याइँले तपाईंलाई छुँदैन ।20 अनिकालको समयमा मृत्‍युबाट मोल तिरेर, र युद्धमा तरवारको हातबाट उहाँले तपाईंलाई छुटाउनुहुनेछ ।21 झूट बोल्ने जिब्रोको कोर्राबाट तपाईंलाई लुकाइनेछ, र जब विनाश आउँछ, तब तपाईं त्‍यसबाट डराउनुहुनेछैन ।22 विनाश र अनिकाल देखेर तपाईं हास्‍नुहुनेछ, अनि पृथ्वीका जङ्‌गली जनावरहरूदेखि तपाईं डराउनुहुनेछैन ।23 किनकि तपाईंको खेतमा भएका ढुङ्‌गाहरूसित तपाईंले करार बाँध्‍नुहुनेछ, र वनका पशुहरू तपाईंसित मिलापमा रहनेछन् ।24 तपाईंको पाल सुरक्षित छ भनी तपाईंले जान्‍नुहुनेछ । तपाईं आफ्नो भेडी-गोठ हेर्न जानुहुनेछ र एउटा पनि नहराएको तपाईंले पाउनुहुनेछैन ।25 तपाईंले यो जान्‍नुहुनेछ, तपाईंको सन्‍तान महान् हुनेछ, तपाईंका छोराछोरीहरू जमिनको घाँसझैँ हुनेछन् ।26 तपाईं आफ्नो चिहानमा पूरा बुढो भएर आउनुहुनेछ । जसरी आफ्नो समयमा अन्‍नका मुट्ठाहरूको चाङ हुनेछ ।27 हेर्नुहोस्, हामीले यस विषयलाई जाँच गरेका छौँ । यो यस्तो छ । यसलाई सुन्‍नुहोस् र आफ्नै निम्ति यसलाई चिन्‍नुहोस् ।