4
तब एलीपज तेमानीले जवाफ दिए र भने,2 कसैले तपाईंसित कुरा गर्ने प्रयास गर्यो भने के तपाईं अधैर्य बन्नुहुन्छ ? तर कसले आफैलाई बोल्नबाट रोक्न सक्छ ?3 हेर्नुहोस्, तपाईंले धेरैलाई शिक्षा दिनुभएको छ । तपाईंले दुर्बल हातहरूलाई बलियो पार्नुभएको छ ।4 तपाईंका वचनहरूले त्यस्तोलाई सम्हालेको छ जो पतन हुँदै थियो । तपाईंले कमजोर घुँडाहरूलाई दरिलो पार्नुभएको छ ।5 तर अहिले सङ्कष्ट तपाईंमा आएको छ, र तपाईं थकित हुनुहुन्छ । यसले तपाईंलाई छोएको छ, र तपाईंलाई कष्ट भएको छ ।6 के तपाईंको डर तपाईंको निश्चयता, अनि तपाईंका मार्गहरूका सत्यनिष्ठा तपाईंको आशा होइन र ?7 कृपा गरी यस विषयमा सोच्नुहोस्ः निर्दोष हुँदा पनि कुनै व्यक्ति कहिलै नष्ट भएको छ र ? अर्थात् सोझा मानिसहरू कहिले मारिएका थिए र ?8 जे मैले देखेको छु त्यसअनुसार, अधर्म जोत्नेहरू र कष्ट छर्नेहरूले नै त्यसको कटनी गर्छन् ।9 परमेश्वरको सासले तिनीहरू नष्ट हुन्छन् । उहाँको क्रोधको विष्फोटले तिनीहरू भस्म हुन्छन् ।10 सिंहको गर्जन, हिंस्रक सिंहको स्वर र जवान सिंहहरूका दाँत - ती भाँचिएका छन् ।11 सिकारको अभावले बुढो सिंह नष्ट हुन्छ । सिंहनीका डमरुहरू जताततै छरपष्ट भएका हुन्छन् ।12 यति बेला कुनै कुरा गुप्तमा मकहाँ ल्याइयो, र मेरो कानले यसको बारेमा कानेखुसी सुन्यो ।13 जब मानिसहरू घोर निद्रामा पर्छन्, तब रातको सपनाहरूद्वारा विचारहरू आए ।14 त्यो रातमा नै थियो जुन बेला ममाथि डर र त्रास आए, र मेरा सबै हड्डी कामे ।15 तब मेरै अनुहारको सामुन्नेबाट एउटा आत्मा गयो, र मेरो शरीरको रौँ ठाडो भयो ।16 त्यो आत्मा खडा भयो, तर त्यसको दृश्यलाई मैले ठम्याउन सकिनँ । त्यसको स्वरूप मेरा आँखाकै सामु थियो । त्यहाँ मौनता थियो, र मैले यसो भनेको एउटा आवाज सुनेँ,17 "के मरणशील मानिस परमेश्वर भन्दा बढी धर्मी हुन्छ र ? के मानिस आफूलाई बनाउने भन्दा बढी शुद्ध हुन्छ ?18 हेर्नुहोस्, परमेश्वरले आफ्ना सेवकहरूमाथि भरोसा गर्नुहुन्न भने, उहाँले आफ्ना स्वर्गदूतहरूलाई मूर्खताको दोष लगाउनुहुन्छ भने,19 माटोका घरहरूमा बस्नेहरूको बारेमा झन् यो कति साँचो हुन्छ ? जसको जग धूलोमा छ, जो कीरा भन्दा चाँडै कुल्चिमिल्ची पारिन्छन् ।20 बिहान र बेलुकीको बीचमा तिनीहरू नष्ट हुन्छन् । कसैको जानकारीबिना नै तिनीहरू सदाको लागि नष्ट हुन्छन् ।21 के तिनीहरूका पालका डोरीहरू तिनीहरूकै बीचमा तानिएका छैनन् र ? तिनीहरू मर्छन् । तिनीहरू बुद्धिबिना मर्छन् ।"