7
के मानिसले पृथ्वीमा कठिन परिश्रम गर्दैन र ? के उसका दिन ज्‍यालादारी मानिसका दिन जस्‍तै हुँदैनन् र ?2 एउटा दासले उत्सुकतासाथ साँझको छायाको इच्‍छा गरेझैँ, एक जना ज्‍यालादारीले आफ्नो ज्‍यालाको आशा गर्छ ।3 यसरी मलाई दुःखका महिनाहरू सहन लगाइएको छ । मलाई कष्‍टले भरिएका रातहरू दिइएका छन् ।4 म पल्टिदाँ म आफैलाई भन्‍छु, 'म कहिले ब्युँझनेछु, र रात कहिले बित्‍नेछ ?' मिरमिरे उज्‍यालो नहुञ्‍जेल म यताउता छटपटाउँछु ।5 मेरो शरीर कीराहरू र धूलोको डल्लाहरूले ढाकिएको छ । मेरो जीउका खटिरा टन्किन्‍छन्, र फुट्छन् र पिप बग्छन् ।6 मेरा दिनहरू सिलाउनेको चक्का भन्‍दा चाँडो बित्छन् । ती आशाबिनै बितेर जान्‍छन् ।7 हे परमेश्‍वर, मेरो जीवनलाई केवल एक सास सम्झनुहोस् । मेरो आँखाले फेरि असल देख्‍न पाउनेछैन ।8 मलाई हेर्ने परमेश्‍वरका आँखाले फेरि मलाई हेर्नेछैन । परमेश्‍वरका आँखा ममाथि हुनेछ, तर मेरो अस्तित्व हुनेछैन ।9 जसरी बादल फाट्छ र हराएर जान्‍छ, त्‍यसरी नै चिहानमा जाने फेरि फर्केर आउनेछैन ।10 ऊ फेरि आफ्नो घरमा फर्कनेछैन, न त उसको ठाउँले फेरि उसलाई चिन्‍नेछ ।11 त्‍यसकारण म आफ्नो मुख बन्‍द गर्दिन । म आफ्नो आत्माको वेदनामा बोल्नेछु । म आफ्नो प्राणको तिक्ततामा गनगन गर्नेछु ।12 तपाईंले ममाथि रक्षक राख्‍नलाई, के म समुद्र वा समुद्रको राक्षस हुँ र ?13 जब म भन्‍छु, 'मेरो ओछ्यानले मलाई सान्‍त्वना दिनेछ, र मेरो खाटले मेरो गुनासोलाई चैन दिन्‍छ',14 तब तपाईंले सपनाहरूले मलाई तर्साउनुहुन्‍छ र दर्शनहरूद्वारा मलाई आतङ्‌कित पार्नुहुन्‍छ,15 जसले गर्दा मेरा यी हड्‌डीलाई जोगाउनु भन्‍दा, बरु घाँटी च्‍याप्‍ने कुरा र मृत्‍युलाई रोज्छु ।16 म मेरो जीवनलाई घृणा गर्छु । म सधैँ जिउने इच्‍छा गर्दिनँ । मलाई एक्लै छोडिदिनुहोस्, किनकि मेरा दिनहरू व्यर्थ छन् ।17 मानिस के हो र तपाईंले उसको ख्याल राख्‍नुपर्ने, तपाईंले आफ्नो मनलाई उसमा लगाउनुपर्ने,18 हरेक बिहान तपाईंले उसको हेरचाह गर्नुपर्ने, हरेक क्षण उसको जाँच गर्नुपर्ने ?19 तपाईंले आफ्ना आँखा मबाट कहिले हटाउनुहुन्‍छ, आफ्नो थुक निल्न मलाई तपाईंले कहिले एक्लै छोड्नुहुन्‍छ ?20 मैले पाप नै गरेको भए पनि, हे मानिसलाई हेर्नुहुने, त्‍यसले तपाईंलाइ के हुन्‍छ त ? तपाईंले मलाई किन निसाना बनाउनुभएको छ जसको कारण म तपाईंको लागि बोझ छु ?21 किन मेरो अपराध तपाईंले क्षमा गर्नुहुन्‍न र मेरो अधर्म हटाउनुहुन्‍न ? अब म धूलोमा पल्टनेछु । तपाईंले मलाई ध्‍यानपूर्वक खोज्‍नुहुनेछ, तर मेरो अस्तित्व रहनेछैन ।"