8
सारा मानिसहरू एउटै मानिस जस्‍तो गरी पानी ढोकाको सामुन्‍ने खुला क्षेत्रमा भेला भए । तिनीहरूले परमप्रभुले इस्राएललाई आज्ञा दिनुभएको मोशाको व्यवस्थाको पुस्तक ल्याउन भनी शास्‍त्री एज्रालाई भने ।2 सातौँ महिनाको पहिलो दिनमा पूजाहारी एज्राले सुनेर बुझ्‍न सक्‍ने पुरुष र स्‍त्रीहरू दुवैको समुदायको सामु पुस्तक ल्याए ।3 तिनी पानी ढोकाको सामुन्‍नेको खुला क्षेत्रमा फर्के, र तिनले पुरुष र स्‍त्रीहरूको सामु बिहान सबेरैदेखि मध्‍यदिनसम्म यसबाट पढे, अनि सारा मानिसले व्यवस्थाको पुस्तकलाई ध्‍यान दिएर सुने ।4 तब शास्‍त्री एज्रा मानिसहरूले त्‍यस्तै कामको लागि बनाएका काठको उच्‍च मञ्‍चमा खडा भए । तिनको दाहिनेपट्टि छेउमा मत्तित्‍याह, शेमा, अनायाह, उरियाह, हिल्कियाह र मासेयाह उभिएका थिए अनि तिनको देब्रेपट्टि पदायाह, मीशाएल, मल्कियाह, हाशूम, हशबदाना, जकरिया र मशुल्लाम उभिएका थिए ।5 एज्रा सारा मानिस भन्‍दा माथि उभिएकाले तिनले सबैले देख्‍ने गरी पुस्तक खोले, र तिनले पुस्तक खोल्दा सारा मानिसहरू खडा भए ।6 एज्राले परमप्रभु, महान् परमेश्‍वरलाई धन्‍यवाद दिए, अनि सारा मानिसहरूले आ-आफ्ना हात उठाएर “आमेन ! आमेन !” भने । तब तिनीहरूले आ-आफ्ना शिर झुकाए, र भुइँसम्मै निहुरेर परमप्रभुको आराधना गरे ।7 लेवीहरू येशूअ, बानी, शरेबियाह, यामीन, अक्कूब, सब्बतै, होदियाह, मासेयाह, कलीता, अजर्याह, योजाबाद, हानान, पलयाहले मानिसहरूलाई तिनीहरूकै ठाउँमा व्यवस्था बुझ्‍नलाई मदत गरे ।8 तिनीहरूले त्‍यो पुस्तक अर्थात् परमेश्‍वरको व्यवस्था पढे र मानिसहरूले बुझ्‍न सक्‍ने गरी अर्थ खोलिदिए ।9 राज्‍यपाल नहेम्याह, पूजाहारीसाथै शास्‍त्री एज्रा र मानिसहरूलाई अर्थ खोलिदिने लेवीहरूले सारा मानिसहरूलाई भने, “यो दिन परमप्रभु तिमीहरूका परमेश्‍वरका लागि पवित्र दिन हो । शोक नगर र नरोओ ।” किनकि तिनीहरूले व्यवस्थाका वचन सुन्‍दा सारा मानिसहरू रोएका थिए ।10 तब नहेम्याहले तिनीहरूलाई भने, “आ-आफ्नो बाटो लाग, पुस्टाइएको पशु मारेर खाओ ?, मीठो पेय पदार्थ पिओ अनि आफ्ना निम्ति तयार पार्न नसक्‍नेहरूका निम्ति पनि थोरै भाग पठाइदेओ किनकि परमप्रभुको आनन्‍द नै तिमीहरूको शक्ति हो ।”11 त्‍यसैले लेवीहरूले यसो भन्‍दै मानिसहरूलाई शान्‍त गराए, “चूप लाग, किनकि यो दिन पवित्र छ । शोक नगर ।”12 तब सारा मानिसहरू खानपान गर्न, पिउन, भोजन बाँडचुँड गर्न र बडो आनन्‍दसाथ उत्सव मनाउन आ-आफ्नो बाटो लागे किनकि तिनीहरूलाई बताइएका वचनहरू तिनीहरूले बुझेका थिए ।13 दोस्रो दिनमा सारा मानिसहरूका परिवार-परिवारका मुख्य-मुख्य मानिसहरू, पूजाहारीहरूसाथै लेवीहरू व्यवस्थाका वचनहरूबाट अन्‍तर्ज्ञान प्राप्‍त गर्न शास्‍त्री एज्राकहाँ आए ।14 सातौँ महिनाको चाडमा इस्राएलीहरू छाप्रोमा बस्‍नुपर्छ भनी परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको वचन तिनीहरूले व्यवस्थामा लेखिएको भेट्टाए ।15 तिनीहरूले तिनीहरूका सबै सहरहरू र यरूशलेममा यसो भन्‍दै घोषणा गर्नुपर्छ, “लेखिएअनुसार छाप्रा बनाउनलाई पहाडी देशमा गएर जैतून, जङ्‌गली जैतून, मेहदी, खजूरका हाँगाहरूसाथै अन्‍य पातहरू भएका हाँगाहरू लिएर आओ ।”16 तब मानिसहरू बाहिर गए, र हाँगाहरू ल्याए अनि हरेकले आ-आफ्नो निम्ति घरको छाना र चोकमा, परमेश्‍वरका भवनका चोकहरूमा, पानी ढोकाको सामुन्‍नेको चोकमा र एफ्राएमका ढोकाको चोकमा छाप्राहरू बनाए ।17 निर्वासनबाट फर्केकाहरू सबै समुदायले छाप्राहरू बनाई तिनमा बसे । किनकि नूनका छोरा यहोशूको समयदेखि त्‍यस दिनसम्म इस्राएलीहरूले यो चाड मनाएका थिएनन् । त्‍यसैले तिनीहरू बडो आनन्‍दित भए ।18 यसबाहेक, पहिलो दिनदेखि पछिल्लो दिनसम्म दिन प्रतिदिन एज्राले परमेश्‍वरको व्यवस्थाको पुस्तकबाट पढ्ने गर्थै । तिनीहरूले सात दिनसम्म चाड मनाए, र आज्ञाअनुसार आठौँ दिनमा पवित्र सभा थियो ।