9
अब उही महिनाको चौबीसौँ दिनमा इस्राएलीहरू भेला भए । तिनीहरू उपवास बस्दै र भाङ्‌ग्रा लगाउँदै थिए, र तिनीहरूले आ-आफ्ना शिरमा धूलो हाले ।2 इस्राएलका सन्‍तानहरूले सबै परदेशीहरूबाट आफूलाई अलग गरे । तिनीहरू खडा भएर आफ्ना पापसाथै तिनीहरूका पुर्खाहरूका दुष्‍ट कामहरू स्वीकार गरे ।3 तिनीहरू आ-आफ्ना ठाउँमा खडा भए, र पहिलो एक पहरचाहिँ तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्‍वरको व्यवस्थाको पुस्तकबाट पढे । अर्को पहरमा तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्‍वरको सामु पाप स्वीकार गर्दै र दण्डवत् गर्दै थिए ।4 लेवीहरू, येशूअ, बानी, कादमीएल, शबन्‍याह, बुन्‍नी, शरेबियाह, बानी र कनानी खुड्किलाहरूमा उभिए, अनि तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्‍वरलाई उच्‍च स्‍वरले पुकारे ।5 तब लेवीहरू, येशूअ, कादमीएल, बानी, हशबन्‍याह, शरेबियाह, होदियाह, शबन्‍याह र पतहियाहले भने, “खडा भएर परमप्रभु तिमीहरूका परमेश्‍वरलाई सदासर्वदा प्रशंसा चढाओ ।” “तिनीहरूले तपाईंको महिमित नाउँलाई धन्‍यको भनून्, र यो नाउँ हरेक आशिष् र प्रशंसा भन्‍दा माथि उचालिएको होस् ।6 तपाईं मात्र परमप्रभु हुनुहुन्छ । तपाईंले स्वर्ग, सर्वोच्‍च आकाश, त्‍यहाँका सबै आकाशीय पिण्ड अनि पृथ्वी र त्‍यसमा भएका थोक, समुद्रहरू र तिनमा भएका सबै थोक बनाउनुभयो । तपाईंले नै ती सबैलाई जीवन दिनुहुन्छ, र स्वर्गका समुदायले तपाईंको आराधना गर्छन् ।7 तपाईं परमप्रभु परमेश्‍वर हुनुहुन्छ जसले अब्रामलाई चुन्‍नुभयो, र तिनलाई कल्दीहरूको ऊरबाट ल्याउनुभयो, र तिनलाई अब्राहाम नाउँ दिनुभयो ।8 तपाईंले तिनको हृदय तपाईंको सामु विश्‍वासयोग्य भएको भेट्टाउनुभयो, र तिनका सन्‍तानहरूलाई कनानी, हित्ती, एमोरी, परिज्‍जी, यबूसी र गिर्गाशीहरूको देश दिने प्रतिज्ञा गर्नुभयो । तपाईंले आफ्नो प्रतिज्ञा पूरा गर्नुभएको छ किनकि तपाईं धर्मी हुनुहुन्छ ।9 तपाईंले मिश्रमा हाम्रा पिता-पुर्खाहरूको दुःख देख्‍नुभयो, र लाल समुद्रनेर तिनीहरूको क्रन्‍दन सुन्‍नुभयो ।10 तपाईंले फारो, तिनका सबै अधिकारी र तिनको देशका सबै जनताको सामु चिन्हहरू र आश्‍चर्यहरू गर्नुभयो किनकि मिश्रीहरूले इस्राएलीहरूको विरुद्धमा अहंकारी भएर व्यवहार गरेका थिए भनी तपाईं जान्‍नुहुन्‍थ्यो । तपाईंले आफ्नो निम्ति एउटा नाउँ राख्‍नुभयो जुन आजको दिनसम्म खडा छ ।11 त्‍यसपछि तपाईंले तिनीहरूकै सामु समुद्रलाई विभाजन गरिदिनुभयो अनि तिनीहरू समुद्रको बीचमा सुक्खा भूमिबाट हिँडेर गए, र तिनीहरूलाई खेद्‌नेहरूलाई तपाईंले उर्लंदो पानीमा ढुङ्‌गा फालेझैँ फालिदिनुभयो ।12 तिनीहरूलाई बाटोमा यात्राको लागि प्रकाश दिन तपाईंले तिनीहरूलाई दिनमा बादलको खाँबो र रातमा आगोको खाँबोद्वारा अगुवाइ गर्नुभयो ।13 तपाईं स्वर्गबाट सीनै पर्वतमा ओर्लनुभयो, र तिनीहरूसित बोल्नुभयो अनि तिनीहरूलाई धार्मिक नियमहरू, साँचो व्यवस्था र असल विधिविधानसाथै आज्ञाहरू दिनुभयो ।14 तपाईंले तिनीहरूलाई आफ्नो पवित्र शबाथ चिनाउनुभयो, अनि तपाईंका दास मोशाद्वारा तिनीहरूलाई आज्ञाहरू, विधिविधानहरू र व्यवस्था दिनुभयो ।15 तपाईंले तिनीहरूलाई तिनीहरूको भोक तृप्‍त पार्न स्वर्गबाट रोटी दिनुभयो, र तिनीहरूको तिर्खा मेट्न चट्टानबाट पानी दिनुभयो । तिनीहरूलाई दिन्छु भनी तपाईंले प्रतिज्ञा गर्नुभएको देशमा गएर अधिकार गर्न तिनीहरूलाई आज्ञा दिनुभयो ।16 तर तिनीहरू र हाम्रा पिता-पुर्खाहरू अटेरी र हठी भए, र तपाईंका आज्ञाहरू सुनेनन् ।17 तिनीहरूले सुन्‍न इन्कार गरे, र तपाईंले तिनीहरूका बीचमा गर्नुभएका आश्‍चर्यहरूलाई तिनीहरूले विचारै गरेनन् । तर तिनीहरू हठी भए, र तिनीहरूको विद्रोहमा तिनीहरूले आफ्नो दासत्वमा फर्कन एक जना अगुवा नियुक्त गरे । तर तपाईं क्षमाले भरिपूर्ण, अनुग्रही, दयालु, रिसाउनमा ढिला, अचुक प्रेममा प्रचुर परमेश्‍वर हुनुहुन्छ । तपाईंले तिनीहरूलाई त्‍याग्‍नुभएन ।18 तिनीहरूले ढलौटे बाछा बनाएर ‘तिमीहरूलाई मिश्रबाट ल्याउने ईश्‍वर यही हो’ भनी तिनीहरूले ठूलो ईश्‍वर-निन्‍दा गर्दा पनि19 तपाईंले आफ्नो दयामा तिनीहरूलाई उजाड-स्थानमा त्‍याग्‍नुभएन । तिनीहरूलाई बाटोमा अगुवाइ गर्ने बादलको खाँबोले दिनमा तिनीहरूलाई छोडेन, न त तिनीहरूको यात्राको लागि प्रकाश दिने आगोको खाँबोले रातमा तिनीहरूलाई छोडे ।20 तिनीहरूलाई निर्देशन दिन तपाईंले तिनीहरूलाई आफ्नो असल आत्मा दिनुभयो, र तिनीहरूका मुखमा तपाईंले आफ्नो मन्‍न दिन रोक्‍नुभएन, र तिनीहरूको तिर्खा मेट्न तपाईंले तिनीहरूलाई पानी दिनुभयो ।21 चालीस वर्षसम्म उजाड-स्थानमा तपाईंले तिनीहरूलाई भोजन उपलब्ध गराउनुभयो, र तिनीहरूलाई कुनै थोकको कमी भएन । तिनीहरूका लुगा फाटिएनन्, र तिनीहरूका गोडा सुनिएनन् ।22 तपाईंले तिनीहरूलाई राज्‍यहरू र जातिहरू दिनुभयो, अनि देशका हरेक कुनामा पुर्‍याउनुभयो । तब तिनीहरूले हेश्बोनका राजा सीहोन र बाशानका राजा ओगको देश अधिकार गरे ।23 तपाईंले तिनीहरूका सन्‍तानहरूलाई आकाशका ताराजत्तिकै अनगिन्‍ती बनाउनुभयो, र तपाईंले तिनीहरूका पिता-पुर्खाहरूलाई अधिकार गर्न दिन्छु भनी प्रतिज्ञा गर्नुभएको देशमा तिनीहरूलाई ल्याउनुभयो ।24 त्‍यसैले मानिसहरू देशभित्र प्रवेश गरी यसको अधिकार गरे, र तिनीहरूकै सामु त्‍यस देशका बासिन्‍दाहरू अर्थात् कनानीहरूलाई तपाईंले अधीनमा ल्याउनुभयो । इस्राएलले इच्‍छा लागेअनुसार कनानीहरूलाई व्यवहार गरून् भनेर तपाईंले कनानीहरू, तिनीहरूका राजाहरू, देशका मानिसहरूलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो ।25 तिनीहरूले किल्लाबन्‍दी गरिएका सहरहरू र उर्बरायुक्त देश कब्जा गरे । तिनीहरूले सबै असल थोकहरूले भरिएका घरहरू, पहिले नै खनेका कुवाहरू, दाखबारीहरू, जैतूनका बगैँचाहरू र प्रचुर मात्रामा फल दिने रूखहरू कब्जा गरे । यसरी तिनीहरूले खाएर तृप्‍त भए, अनि मोटाएर तपाईंको महान् भलाइमा तिनीहरूले आनन्‍द मनाए ।26 तब तिनीहरू अनाज्ञाकारी बने, र तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गरे । तिनीहरूले तपाईंको व्यवस्थालाई पिठिउँ फर्काए । तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे जसले तिनीहरूलाई तपाईंकहाँ फर्कन चेताउनी दिएका थिए । तिनीहरूले ठूलो ईश्‍वर-निन्‍दा गरे ।27 त्‍यसैले तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनुभयो जसले तिनीहरूलाई सताए । तिनीहरूको दुःखकष्‍टको समयमा तिनीहरूले तपाईंलाई पुकारे, र तपाईंले स्वर्गबाट तिनीहरूको कुरा सुन्‍नुभयो । तपाईंको महान् कृपाको कारण तपाईंले छुटकारा दिनेहरू पठाउनुभयो जसले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातबाट छुटकारा दिए ।28 तर तिनीहरूले शान्‍ति पाएपछि तिनीहरूले फेरि तपाईंको सामु दुष्‍ट काम गरे, र तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा त्‍यागिदिनुभयो, अनि तिनीहरूका शत्रुहरूले तिनीहरूमाथि शासन गरे । तथापि तिनीहरू फर्केर तपाईंलाई पुकारा गर्दा तपाईंले स्वर्गबाट सुन्‍नुभयो, र तपाईंको कृपाको कारण धेरै पटक तपाईंले तिनीहरूलाई छुटकारा दिनुभयो ।29 तिनीहरू तपाईंको व्यवस्थामा फर्कून् भनेर तपाईंले तिनीहरूलाई चेताउनी दिनुभयो । तरै पनि तिनीहरू हठी भए, र तपाईंका आज्ञाहरू सुनेनन् । तिनीहरूले तपाईंका विधिहरूको विरुद्धमा पाप गरे, जसले ती पालन गर्ने जो कसैलाई जीवन दिन्‍छन् । तिनीहरू हठी बने र अटेरी बने अनि सुन्‍न इन्कार गरे ।30 धेरै वर्षसम्म तपाईं तिनीहरूसित धैर्यवान् हुनुभयो, र आफ्ना अगमवक्ताहरूमार्फत तपाईंको आत्माद्वारा तिनीहरूलाई चेताउनी दिनुभयो । तरै पनि तिनीहरूले सुनेनन् । त्‍यसैले तपाईंले तिनीहरूलाई छिमेकी जातिहरूका हातमा सुम्पिदिनुभयो ।31 तर तपाईंको महान् कृपामा तिनीहरूलाई निमिट्‍यान्‍न पार्नुभएन, न त पूर्ण रूपमा त्‍यागिदिनुभयो किनकि तपाईं अनुग्रही र करुणामय परमेश्‍वर हुनुहुन्छ ।32 त्‍यसकारण, अब हे हाम्रा परमेश्‍वर तपाईं महान्, शक्तिशाली र भययोग्य परमेश्‍वर हुनुहुन्छ, जसले आफ्नो करार र अटल प्रेम कायम राख्‍नुहुन्छ । अश्शूरका राजाहरूको समयदेखि आजको दिनसम्म हामी, हाम्रा राजाहरू, हाम्रा राजकुमारहरू, हाम्रा पूजाहारीहरू, हाम्रा अगमवक्ताहरू, हाम्रा पिता-पुर्खाहरू र तपाईंका सारा मानिसमाथि आइपरेका यी कठिनाइलाई हलुका नसम्झनुहोस् ।33 हामीमाथि आइपरेका हरेक कुरामा तपाईं धर्मी हुनुहुन्छ किनकि तपाईंले विश्‍वाससाथ व्यवहार गर्नुभएको छ, तर हामीले चाहिँ दुष्‍टतापूर्वक काम गरेका छौँ ।34 हाम्रा राजाहरू, हाम्रा राजकुमारहरू, हाम्रा पूजाहारीहरू र हाम्रा पिता-पुर्खाहरूले तपाईंको व्यवस्था पालन गरेका छैनन्, न त तपाईंका आज्ञाहरू वा तपाईंले तिनीहरूलाई चेताउनी दिनुभएका तपाईंका करारका आदेशहरूलाई ध्‍यान दिएका छन् ।35 तिनीहरूको आफ्नै राज्‍य हुँदा तपाईंले तिनीहरूलाई दिनुभएको विशाल र मलिलो देशमा तपाईंको महान् उदारतालाई तिनीहरूले उपभोग गर्दागर्दै पनि तिनीहरूले तपाईंको सेवा गरेनन्, न त तिनीहरूका दुष्‍ट मार्गहरूबाट फर्के ।36 हेर्नुहोस्, हामी दास भएका छौँ । अहिले हामी तपाईंले हाम्रा पिता-पुर्खाहरूलाई त्‍यसका फलहरू खान र त्‍यसका असल उब्जनीहरू उपभोग गर्नलाई दिनुभएको यही देशमा हामी दास भएका छौँ ।37 हाम्रा पापले गर्दा त्‍यसका प्रशस्त उब्जनीहरू हामीमाथि प्रभुत्व गर्न तपाईंले खटाउनुभएका राजाहरूकहाँ जान्छन् । तिनीहरूलाई इच्‍छा लागेअनुसार तिनीहरूले हाम्रा शरीरसाथै हाम्रा गाईवस्तुमाथि शासन गर्छन् । हामी बडो कष्‍टमा छौँ !38 यी सबै कारणले गर्दा हामी लेखेर नै दृढ करार बाँध्दछौँ । छाप लगाइएको दस्तावेजमा हाम्रा राजकुमारहरू, लेवीहरू र पूजाहारीहरूका नाउँ हुन्छन् ।”