6
मैले पर्खाल पुनर्निर्माण गरेर सिध्याएको र टाल्नुपर्ने कुनै भाग नरहेको कुरो सन्बलत, तोबिया र अरबी गेशेमसाथै हाम्रा बाँकी शत्रुहरूले सुने, यद्यपि मैले मूल ढोकाहरूका खापाहरू भने बनाइसकेको थिइनँ ।2 सन्बलत र गेशेमले मलाई यसो भनी खबर पठाए, “आऊ, हामी ओनोको मैदानको कतैतिर भेटघाट गरौँ ।” तर तिनीहरूले मेरो हानि गर्ने मनसाय बनाएका थिए ।3 मैले यसो भनी तिनीहरूकहाँ सन्देशवाहकहरू पठाएँ, “मैले महान् काम गरिरहेकोले म आउन सक्दिनँ । मैले काम छोडी तिमीहरूकहाँ आएर यो काम किन रोकिने ?”4 तिनीहरूले मकहाँ उही खबर चार पटक पठाए, र मैले प्रत्येक पटक तिनीहरूलाई उही जवाफ दिएँ ।5 उसै गरी सन्बलतले पाँचौँ पटक पनि मकहाँ तिनको सेवक पठाए, जसको हातमा खोलिएको चिठी थियो ।6 त्यहाँ यस्तो लेखिएको थियो, “जाति-जातिहरूका बीचमा यस्तो खबर पुगेको छ र गेशेम पनि त्यही भन्छन् कि तिमी र यहूदीहरूले विद्रोह गर्ने योजना बनाउँदै छौ । त्यसकारण तिमीहरूले यो पर्खाल पुनर्निर्माण गर्दै छौ । तिमी तिनीहरूका राजा हुनै लागेका छौ भनी यी खबरहरूले बताउँछन् ।7 यरूशलेममा तिम्रो बारेमा यो घोषणा गर्न तिमीहरूले अगमवक्ताहरू पनि नियुक्त गरेका छौ, ‘यहूदामा राजा हुनुहुन्छ !’ राजाले यी खबरहरू सुन्नेछन् भनी तिमी निश्चित हुन सक्छौ । त्यसकारण, आऊ र एक-अर्कासित कुराकानी गरौँ ।”8 तब मैले तिनीकहाँ यसो भनी खबर पठाएँ, “तिमीले भने जस्ता कुनै पनि कुरा भएकै छैन, किनकि तिमीले आफ्नै हृदयमा ती रचेका हौ ।”9 तिनीहरू सबैले यस्तो सोच्दै हामीलाई भयभीत पार्न चाहन्थे, “काम गर्नदेखि तिनीहरूले आफ्ना हात रोक्नेछन्, र यो काम सकिने थिएन ।” तर अब हे परमेश्वर, मेरा हात मजबुत पार्नुहोस् ।10 म दलायाहका छोरा, महेतबेलका नाति शमायाहको घरमा गएँ, जो आफ्नै घरमा बन्दी बनाइएका थिए । तिनले भने, “हामी परमेश्वरको मन्दिरभित्र भेटौँ, र मन्दिरका ढोकाहरू बन्द गरौँ किनकि तिनीहरू तपाईंलाई मार्न आउँदै छन् । तपाईंलाई मार्न तिनीहरू रातमा आउँदै छन् ।”11 मैले जवाफ दिएँ, “के म जस्तो मान्छे भाग्छ र ? के म जस्तो मान्छे आफ्नै जीवन बचाउन मन्दिरभित्र जान सक्छ र ? म भित्र जाने छैनँ ।”12 परमेश्वरले तिनलाई पठाउनुभएको होइन, तर तिनी आफैले मेरो विरुद्धमा अगमवाणी गरेका थिए भनी मैले महसुस गरेँ । तोबिया र सन्बलतले तिनलाई भाडामा लिएका थिए ।13 तिनले भनेझैँ गरेर पाप गर्न र मेरो अपमान हुने गरी मेरो ख्याति बिगार्न तिनीहरूले तिनलाई भाडामा लिई मलाई डराउन चाहन्थे ।14 हे मेरा परमेश्वर, तोबिया र सन्बलत अनि तिनीहरूले गरेका सबै कामलाई सम्झनुहोस् । साथै, मलाई डराउन खोज्ने अगमवादिनी नोअदिया र अरू बाँकी अगमवक्ताहरूलाई पनि सम्झनुहोस् ।15 यसरी बाउन्न दिनपछि एलूल महिनाको पच्चीसौँ दिनमा पर्खालको काम समाप्त भयो ।16 जब हाम्रा वरिपरि भएका हाम्रा सबै शत्रु र जातिहरूले यो सुने तिनीहरू डराए, तिनीहरू हतोत्साहित भए । किनकि हाम्रा परमेश्वरको मदतले यो काम गरिएको थियो भनी तिनीहरूलाई थाहा थियो ।17 यस बेला यहूदाका कुलीनहरूले तोबियालाई धेरै चिठीहरू पठाए, र तोबियाका चिठीहरू पनि तिनीहरूकहाँ आए ।18 किनकि यहूदामा कैयौँ मानिसहरू थिए जो तिनीसित शपथद्वारा बाँधिएका थिए किनकि तिनी आराका छोरा शकन्याहका जुवाइँ थिए । तिनका छोरा येहोहानानले बेरेक्याहका छोरा मशुल्लामकी छोरीसित विवाह गरेका थिए ।19 तिनीहरूले तिनका असल कार्यहरू पनि मलाई बताए, र मेरा कामहरू तिनलाई बताइदिए ।