5
तब मानिसहरू र तिनीहरूका पत्‍नीहरूले आफ्ना यहूदी मित्रहरूका विरुद्धमा ठूलो आवाज उठाए ।2 त्‍यहाँ केही मानिसहरू थिए जसले भने, “हाम्रा छोराछोरीहरूसमेत गर्दा हामी धेरै छौँ । हामीले खाएर बाँच्‍नलाई अन्‍न प्राप्‍त गरौँ ।”3 त्‍यहाँ अरू केही मानिसहरू पनि थिए जसले भने, “अनिकालको समयमा अन्‍न प्राप्‍त गर्न हामी हाम्रा खेतहरू, हाम्रा दाखबारीहरू र हाम्रा घरहरू बन्धकमा राख्दै छौँ ।”4 केहीले यसो पनि भने, “राजालाई हाम्रा खेतहरू र हाम्रा दाखबारीहरूको कर तिर्न हामीले पैसा सापट लिएका छौँ ।5 तरै पनि हाम्रा शरीर हाम्रा दाजुभाइहरूका शरीर जस्‍तै हुन्, र हाम्रा छोराछोरीहरू तिनीहरूका छोराछोरीहरू जस्‍तै हुन् । हाम्रा छोराछोरीहरूलाई कमारा-कमारी बन्‍नको लागि बेच्‍न हामी बाध्‍य छौँ । हाम्रा केही छोरीहरू पहिले नै कमारी भइसकेका छन् । अरू मानिसहरूले हाम्रा खेतहरू र हाम्रा दाखबारीहरू अधिकार गरेकाले हामीसित मदत गर्ने खुबी छैन ।”6 जब मैले तिनीहरूको रोदन र यी वचनहरू सुने म साह्रै रिसाएँ ।7 तब मैले यस विषयमा सोचविचार गरेँ, अनि कुलीनहरू र अधिकारीहरूलाई दोष लगाएँ । मैले तिनीहरूलाई भनेँ, “तिमीहरू हरेकले आफ्नै भाइबाट ब्याज लिँदै छौ ।” मैले तिनीहरूको विरुद्धमा ठूलो भेला गराएँ,8 र तिनीहरूलाई भनेँ, “हामी कुलीनहरूले जाति-जातिहरूकहाँ दासत्वमा बेचिएका हाम्रा यहूदी दाजुभाइहरूलाई दाम तिरी फिर्ता गरेर ल्याएका छौँ, तर तिमीहरू आफ्ना दाजुभाइ तथा दिदी-बहिनीहरू फेरी हामीलाई बेच्‍छौ !” तिनीहरू स्तब्ध भए र बोल्नलाई कुनै शब्दै भएन ।9 मैले यसो पनि भनेँ, “तिमीहरूले जे गरिरहेका छौ, त्‍यो ठीक होइन । जाति-जातिहरू अर्थात् हाम्रा शत्रुहरूका कटाक्षलाई रोक्‍न के तिमीहरू हाम्रा परमेश्‍वरको डरमा चल्नुपर्दैन र ?10 मैले, मेरा दाजुभाइहरूले र मेरा सेवकहरूले तिनीहरूलाई रुपियाँ-पैसा र अन्‍न सापट दिँदै छौँ । तर हामीले यी ऋणमा ब्याज लगाउन रोक्‍नुपर्छ ।11 आजकै दिन तिमीहरूले तिनीहरूबाट लिएका तिनीहरूका खेतहरू, दाखबारीहरू, भद्राक्ष बारीहरू, तिनीहरूका घरहरू, रुपियाँ-पैसाको ब्याज, अन्‍न, नयाँ दाखमद्य र तेल फर्काइदेओ ।”12 तब तिनीहरूले भने, “हामीले तिनीहरूबाट लिएका चिजहरू फिर्ता गरिदिनेछौँ, र हामी तिनीहरूबाट केही माग गर्दैनौँ । हामी तपाईंले भन्‍नुभएझैँ गर्नेछौँ ।” तब मैले पूजाहारीहरूलाई बोलाई तिनीहरूले भनेअनुसार गर्न तिनीहरूलाई शपथ खान लगाएँ ।13 मैले आफ्नो खास्टोको गाँठो फुकाएर भनेँ, “आफ्नो प्रतिज्ञा पूरा नगर्ने हरेक मानिसको घर र धन-सम्पत्ति परमेश्‍वरले यसरी नै फुकालिदेऊन् । त्‍यसलाई फुकाली रित्तो बनाइयोस् ।” सबै समुदायले भने, “आमेन”, अनि तिनीहरूले परमेश्‍वरको स्तुति गरे, र तिनीहरूले आ-आफूले प्रतिज्ञा गरेअनुसार गरे ।14 म यहूदा देशको राज्‍यपाल नियुक्त भएको समयदेखि अर्थात् अर्तासास्त राजाको बीसौँ वर्षदेखि बत्तीसौँ वर्षसम्म, जम्माजम्मी बाह्र वर्षसम्म मैले र मेरा दाजुभाइहरूले राज्‍यपालको लागि उपलब्ध गराइएको खाना खाएनौँ ।15 तर म भन्‍दा अगिका राज्‍यपालहरूले मानिसहरूमाथि गह्रौँ बोझ लादिदिए, र तिनीहरूको दैनिक भोजनसाथै दाखमद्यको लागि मानिसहरूबाट चाँदीका चालीस सिक्का कर लिएका थिए । तिनीहरूका सेवकहरूले पनि मानिसहरूमाथि थिचोमिचो गरे । तर परमेश्‍वरको भयको कारणले मैले त्‍यसो गरिनँ ।16 मैले पर्खालको कामलाई पनि जारी राखेँ, र कुनै जग्गा जमिन किनिनँ, अनि मेरा सबै सेवक कामको लागि त्‍यहाँ जम्मा हुन्‍थे ।17 हाम्रा वरिपरि भएका जाति-जातिहरूबाट आउने मानिसहरूबाहेक मेरो टेबिलमा यहूदीहरू र अधिकारीहरू गरी जम्मा १५० जना हुन्‍थे ।18 एउटा गोरु, छ वटा मोटा-मोटा भेडा र कुखुराहरू हरेक दिन खानलाई जुटाइनुपर्थ्यो, र दश-दश दिनपछि चाहिँ सबै किसिमका दाखमद्य प्रचुर मात्रामा जुटाइन्‍थ्यो । यति हुँदाहुँदै पनि मैले राज्‍यपालको भोजनको भत्ताको माग गरिनँ किनकि मानिसहरूमाथि ठूलो बोझ परेको थियो ।19 हे मेरा परमेश्‍वर, मैले यी मानिसहरूलाई गरेका सबै कामको निम्ति मेरो भलाइ सोच्‍नुहोस् ।