5
तब हाग्गै अगमवक्ता र इद्दोका छोरा जकरिया अगमवक्ताले इस्राएलका परमेश्‍वरको नाउँमा यहूदा र यरूशलेमका यहूदीहरूलाई अगमवाणी बोले ।2 शालतिएलका छोरा यरुबाबेल र योसादाकका छोरा येशूअ उठे, र आफ्ना सहयोगी अगमवक्ताहरूका साथमा मिलेर यरूशलेममा परमेश्‍वरको मन्‍दिर बनाउन सुरु गरे ।3 तब यूफ्रेटिस नदीपारिको प्रान्‍तका राज्‍यपाल तत्तनै, शत्तर-बोज्‍नै र तिनका सहयोगीहरू आए र तिनीहरूलाई सोधे, “यो मन्‍दिरको निर्माण गर्ने र पर्खालहरू सम्पन्‍न गर्ने आज्ञा तिमीहरूलाई कसले दियो ?4 तिनीहरूले यसो पनि भने, “यो भवनलाई बनाउने मानिसहरूका नाउँहरू के-के हुन् ?5 तर परमेश्‍वरको दृष्‍टि यहूदी धर्म-गुरुहरूमाथि थियो, र तिनीहरूका शत्रुहरूले तिनीहरूलाई रोक्‍न सकेनन् । राजाकहाँ एउटा चिठी पठाउने र त्‍यसको जवाफमा एउटा आदेश आउने काम नहुञ्‍जेलसम्‍म तिनीहरूलाई कसैले रोकेन ।6 यूफ्रेटिस नदीपारिको प्रान्‍तका राज्‍यपाल तत्तनै, शत्तर-बोज्‍नै र तिनीहरूका सहयोगीहरूले दारा राजालाई पठाएका चिठीको प्रतिलिपी यही हो ।7 तिनीहरूले लेखेर दारा राजालाई पठाएको विवरण यही हो, “हजूरमा अपार शान्‍ति रहोस् ।8 हामी यहूदामा महान् परमेश्‍वरको मन्‍दिरमा गयौँ भन्‍ने कुरा हजूरलाई जाहेर होस् । ठूला-ठूला ढुङ्‌गाहरूले यो निर्माण हुँदैछ र पर्खालमा काठहरू राखिँदैछन् । यो काम निकै राम्रोसँग गरिएको छ, र तिनीहरूका हातमा राम्ररी अगाडि बढिरहेको छ ।9 हामीले धर्म-गुरुहरूलाई सोध्‍यौँ, ‘यो मन्‍दिर र यी पर्खालहरू बनाउन तिमीहरूलाई कसले आदेश दियो ?’10 कस-कसले तिनीहरूलाई अगुवाइ गरेका रहेछन् भनी हजूरलाई थाहा होस् भनेर हामीले तिनीहरूका नाउँ पनि सोध्‍यौँ ।11 तिनीहरूले जवाफ दिए र भने, ‘हामी स्वर्ग र पृथ्वीका परमेश्‍वरका सेवकहरू हौँ, र हामीले यस मन्‍दिरलाई पुनर्निर्माण गरिरहेका छौँ जसलाई धेरै वर्ष पहिले इस्राएलका महान् राजाले निर्माण गरे र पूरा गरे ।12 तापनि जब हाम्रा पुर्खाहरूले स्वर्गका परमेश्‍वरलाई रीस उठाए, तब उहाँले तिनीहरूलाई बेबिलोनका कल्दी राजा नबूकदनेसरको हातमा सुम्पनुभयो जसले यस मन्‍दिरलाई नष्‍ट पारे र मानिसहरूलाई बेबिलोनमा कैदमा लगे ।13 तापनि कोरेस बेबिलोनका राजा बन्‍नुभएको पहिलो वर्षमा कोरेसले परमेश्‍वरको मन्‍दिर पुनर्निर्माण गर्ने आदेश जारी गर्नुभयो ।14 नबूकदनेसरले यरूशलेमको मन्‍दिरबाट बेबिलोनको मन्‍दिरमा लगेका परमेश्‍वरको मन्‍दिरका सुन र चाँदीका वस्तुहरू पनि राजा कोरेसले फिर्ता गरिदिए । आफूले राज्‍यपाल बनाएका शेशबस्सरलाई उहाँले यी थोकहरू दिनुभयो ।15 राजाले तिनलाई भन्‍नुभयो, “यी थोकहरू लैजाऊ । जाऊ र ती यरूशलेमको मन्‍दिरमा राख । त्‍यहाँ परमेश्‍वरको मन्‍दिर पुनर्निमाण होस् ।16 तब यिनै शेशबस्सर आए र यरूशलेममा परमेश्‍वरको मन्‍दिरको जग बसाले । अनि अहिले यो निर्माण हुँदैछ, तर अझै सकिएको छैन ।’17 अब राजाको असल लागेमा, राजा कोरेसले यरूशलेममा परमेश्‍वरको मन्‍दिर बनाउन आज्ञा दिनुभएको थियो कि थिएन भनी बेबिलोनको अभिलेखालयमा अनुसन्धान होस् । त्‍यसपछि राजाले हामीलाई आफ्नो निर्णय पठाउनुभएको होस् ।”