6
त्‍यसैले दारा राजाले बेबिलोनको अभिलेखालयमा खोजतलाश गर्ने आज्ञा दिए ।2 मादी प्रान्‍तको एक्बातनाको किल्लाबन्‍दी गरिएको सहरमा एउटा मुट्ठो भेट्टाइयो । त्‍यसको विवरण यस्तो थियोः3 “राजा कोरेसको पहिलो वर्षमा, कोरेसले यरूशलेममा भएको परमेश्‍वरको मन्‍दिरको बारेमा एउटा आदेश जारी गर्नुभयोः ‘बलिदानको स्थानको रूपमा एउटा भवन पुनर्निर्माण गरियोस्, यसका जगहरू बसालिऊन्, यसको उचाइ साठी हात र चौडाइ साठी हात होस्,4 चोकमा ठूला ढुङ्‌गाका छपनी तीन लहर र फल्याकका छपनी एक लहर होस्, अनि राजदरबाट यसको खर्च तिरियोस् ।5 अब नबूकदनेसरले यरूशलेमको मन्‍दिरबाट बेबिलोनमा ल्याएका परमेश्‍वरको मन्‍दिरका सुन र चाँदीका थोकहरू ल्याऊ र तिनलाई यरूशलेमकै मन्‍दिरमा फिर्ता पठाऊ । तिमीहरूले तिनलाई परमेश्‍वरको मन्‍दिरमा राख्‍नुपर्छ ।’6 अब यूफ्रेटिस नदीपारिकप प्रान्‍तका राज्‍यपाल तत्तनै, शत्तर-बोज्‍नै र तिनका सहयोगीहरू अलग बसून् ।7 परमेश्‍वरको यस मन्‍दिरको काममा बाधा नदिनू । राज्‍यपाल र यहूदी धर्म-गुरुहरूले त्‍यस ठाउँमा परमेश्‍वरको मन्‍दिर बनाउनेछन् ।8 परमेश्‍वरको यस मन्‍दिर बनाउने यी यहूदी धर्म-गुरुहरूका लागि तिमीहरूले यसो गर्नू भनी म तिमीहरूलाई हुकुम दिँदै छुः तिनीहरूले आफ्नो काम रोक्‍न नपरोस् भनेर यूफ्रेटिस नदी पारिको राजकीय कोषबाट रुपियाँ-पैसा दिनू ।9 तिनीहरूलाई आवश्यक हरेक कुरो अर्थात् स्वर्गका परमेश्‍वरको निम्ति होमबलि चढाउन साँढेहरू, भेडाहरू वा थुमाहरू र यरूशलेमका पूजाहारीहरूको आज्ञामुताबिक अन्‍न, नून, दाखमद्य वा तेल दिनहुँ तिनीहरूलाई नबिर्सी दिनू ।10 यसै गर्नू ताकि तिनीहरूले स्वर्गका परमेश्‍वरको निम्ति भेटी ल्याऊन् र म राजा अनि मेरा छोराहरूका निम्ति प्रार्थना गरून् ।11 कसैले यस आदेशलाई उल्लङ्‌घन गर्यो भने त्‍यसको घरबाट एउटा खम्बा उखेलियोस् र त्‍यसलाई त्‍यही खम्बामा टाँगियोस् भनी म आज्ञा दिँदैछु । यो कारणले त्‍यसपछि त्‍यसको घरलाई भग्‍नावशेषको थुप्रोमा परिणत गरियोस् ।12 त्‍यस ठाउँमा आफ्नो नाउँ राख्‍नुहुने परमेश्‍वरले यस आदेशलाई बदल्‍न खोज्‍ने वा यरूशलेममा परमेश्‍वरको यस मन्‍दिरलाई नष्‍ट गर्न खोज्‍ने कुनै पनि राजा वा मानिसलाई पदच्‍यूत गरून् । म दाराले यो आदेश दिँदैछु । मेहनतसाथ यसलाई कार्यान्वयन गरियोस् ।13 तब राजा दाराद्वारा पठाइएको यस आदेशको कारणले यूफ्रेटिस नदीपारिको प्रान्‍तका राज्‍यपाल तत्तनै, शत्तर-बोज्‍नै र तिनका सहयोगीहरूले राजा दाराले आज्ञा गरेअनुसार हरेक कुरा गरे ।14 यसरी यहूदी धर्म-गुरुहरूले हाग्गै अगमवक्ता र इद्दोका छोरा जकरियाको सुझाव मानेर निर्माण गरे र उन्‍नति गरे । इस्राएलका परमेश्‍वरको आज्ञा र फारसका राजाहरू कोरेस, दारा र अर्तासास्तका आदेशअनुसार तिनीहरूले आफ्नो भवन बनाएर सिध्‍याए ।15 राजा दाराको शासनकालको छैटौँ वर्षको अदार महिनाको तेस्रो दिनमा मन्‍दिरको काम पूरा भयो ।16 इस्राएलका मानिसहरू, पूजाहारीहरू र लेवीहरू र निर्वासनबाट फर्केर आएकाहरूले आनन्‍दसाथ परमेश्‍वरको यस मन्‍दिरको समर्पण-उत्सव मनाए ।17 परमेश्‍वरको मन्‍दिरको समर्पणको निम्ति तिनीहरूले एक सय वटा साँढे, एक सय वटा भेडा र चार सय वटा थुमा बलि चढाए । इस्राएलका एक-एक कुलको लागि सारा इस्राएलीको लागि पापबलिको रूपमा बाह्र वटा बोका पनि चढाइयो ।18 मोशाको पुस्तकमा लेखिएबमोजिम तिनीहरूले पूजाहारीहरू र लेवीहरूलाई यरूशलेममा परमेश्‍वरको सेवाको लागि तिनीहरूका विभाजनअनुसार नियुक्त पनि गरे ।19 यसरी निर्वासनबाट फर्केकाहरूले पहिलो महिनाको चौधौँ दिनमा निस्तार-चाड मनाए ।20 पूजाहारीहरू र लेवीहरूले आफूलाई शुद्ध पारे, र आफूलगायत निर्वासनबाट फर्केकाहरू सबैका लागि निस्तारको बलि चढाए ।21 निस्तारको मासु खाने इस्राएलका मानिसहरूमा निर्वासनबाट फर्केका र देशका मानिसहरूको अशुद्धताबाट आफूलाई अलग राखेका अनि इस्राएलका परमप्रभु परमेश्‍वरको अनुसरण गरेकाहरू थिए ।22 तिनीहरूले सात दिनसम्म हर्षका साथ अखमिरी रोटीको चाड मनाए, किनकि परमप्रभुले तिनीहरूमा आनन्‍द ल्याउनुभएको थियो, र इस्राएलका परमेश्‍वरको मन्‍दिर अर्थात् उहाँको घरको काममा तिनीहरूका हात बलियो पार्न अश्शूरका राजाको हृदय फर्काइदिनुभएको थियो ।