4
यतिबेला निर्वासनबाट फर्केका मानिसहरूले परमप्रभु इस्राएलका परमेश्‍वरको लागि मन्‍दिर बनाउँदै छन् भनी यहूदा र बेन्‍यामीनका केही शत्रुहरूले सुने ।2 त्‍यसैले तिनीहरू यरुबाबेल र परिवारका मुख्य मानिसहरूकहाँ आए । तिनीहरूले उनीहरूलाई भने, “हामीलाई पनि तपाईंहरूसँगै निर्माण गर्न दिनुहोस्, किनकि अश्शूरका राजा एसरहदोनले हामीलाई यहाँ ल्याएदेखि नै तपाईंहरू जस्‍तै हामी तपाईंका परमेश्‍वरको खोजी गर्छौं, र हामीले उहाँलाई नै बलिदान चढाएका छौँ ।3 तर यरुबाबेल, येशूअ र परिवारका मुख्य मानिसहरूले भने, “तपाईंहरूले होइन, तर हामीले परमेश्‍वरको मन्‍दिर बनाउनुपर्छ, किनकि हामीले नै परमप्रभु इस्राएलका परमेश्‍वरको निम्ति मन्‍दिर बनाउनेछौँ, जस्‍तो फारसका राजा कोरेसले आज्ञा गर्नुभएको छ ।4 त्‍यसैले त्‍यस देशका मानिसहरूले यहूदा मानिसहरूका हात कमजोर तुल्याए । तिनीहरूले निर्माणमा यहूदीहरूलाई डर देखाए ।5 यहूदीहरूका योजनालाई निराश तुल्याउन तिनीहरूले सल्लाहकारहरूलाई घूस पनि दिए । तिनीहरूले फारसका राजा कोरेसको शासनकाल र दाराको शासनकालभरि नै यसो गरे ।6 तब अहासूरसको (अर्तासास्त) शासनकालको सुरुमा तिनीहरूले यहूदा र यरूशलेमका बासिन्‍दाहरूको विरुद्धमा एउटा अभियोग-पत्र लेखे ।7 अर्तासास्तको शासनकालमा विश्‍लाम, मित्रेता, ताबेल र तिनका सहयोगीहरूले अर्तासास्तलाई लेखे । उक्त चिठी आरमेइक भाषामा लेखियो र अनुवाद गरियो ।8 सेनापति रेहूम र सचिव शिम्शैले यरूशलेमको बारेमा अर्तासास्तलाई यसरी चिठी लेखे ।9 रेहूम, शिम्शै र तिनीहरूका सहयोगीहरू अर्थात् फारस, एरेक र बेबिलोनका मानिसहरूमाथि अधिकार गर्ने न्‍यायाधीशहरू र अधिकारीहरू अनि शूशनका मानिसहरूले (अर्थात् एलामीहरू) एउटा चिठी लेखे,10 र महान् अनि प्रसिद्ध अशूरवनिपलले देश निकाला गरेर सामरिया र यूफ्रेटिस नदीपारिको प्रान्‍तमा बसालेका मानिसहरू पनि तिनीहरूसँगै मिले ।11 तिनीहरूले अर्तासास्तलाई पठाएका चिठीको प्रतिलिपी यही हो, “हजूरका सेवकहरू, यूफ्रेटिस नदी पारिको प्रान्‍तका मानिसहरू यसो लेख्‍छन्ः12 हजूरकहाँबाट आएका यहूदीहरू यरूशलेममा एउटा विद्रोही सहर निर्माण गर्न हाम्रो विरुद्ध आएका छन् भन्‍ने कुरो राजालाई जाहेर होस् । तिनीहरूले पर्खालहरू बनाएर सिध्‍याएका छन्, र जगहरू मर्मत गर्दैछन् ।13 यो सहर निर्मण भयो र उक्त पर्खाल सम्पन्‍न भयो भने, तिनीहरूले कुनै राजकर, आयकर, वा महसूल तिर्नेछैनन्, र त्‍यसले राजाहरूको कोषलाई हानि गर्नेछ ।14 हामीले दरबारको नून खाएका हुनाले राजालाई कुनै अनादर भएको देख्‍नु हाम्रो लागि निश्‍चय नै उचित हुँदैन । यही कारणले गर्दा हामीले राजालाई जानकारी गराउँदैछौँ,15 जसले गर्दा हजूरले आफ्ना पिताको अभिलेख खोज्‍न र राजाहरूसाथै प्रान्‍तहरूलाई हानि गर्ने यो एउटा विद्रोही सहर रहेछ भनी पुष्‍टि गर्न सक्‍नुहुन्‍छ । यसले राजाहरू र प्रान्‍तहरूलाई धेरै समस्या दिएको छ । पहिलेदेखि नै यो विद्रोहको केन्‍द्र बनेको छ । यही कारणले गर्दा यो सहर नष्‍ट पारिएको थियो ।16 यो सहर र पर्खाल निर्माण गरियो भने हजूरको लागि यूफ्रेटिस नदीपारिको प्रान्‍तमा केही बाँकी रहनेछैन भनी हामी राजालाई जानकारी गराउँदैछौँ ।17 त्‍यसैले राजाले सामरियामा बस्‍ने रेहूम, शिम्शै र तिनीहरूका सहयोगीहरू अनि यूफ्रेटिस नदीपारिको प्रान्‍तमा बस्‍ने बाँकी सबैलाई एउटा जवाफ पठाए, “तिमीहरूलाई शान्‍ति होस् ।18 तिमीहरूले पठाएका चिठी अनुवाद गरियो र मेरो सामु पढियो ।19 त्‍यसैले मैले छानविन गर्न आदेश दिएँ, र लामो समयसम्‍म त्‍यस सहर राजाहरूका विरुद्धमा बागी भएको, र त्‍यसमा विद्रोह र राजद्रोह गरेका रहेछन् भनी पत्ता लगाइयो ।20 शक्तिशाली राजाहरूले यरूशलेममा राज्‍य गरेका रहेछन्, र यूफ्रेटिस नदीपारिको प्रान्‍तका हरेक कुरामा अधिकार जमाएका रहेछन् । तिनीहरूलाई करहरू र महसूलहरू तिरिएका रहेछन् ।21 अब मैले आज्ञा नदिएसम्म यी मानिहरूले यो सहर निर्माण गर्न रोक्‍नुपर्छ भनी एउटा आज्ञा जारी गर्नू ।22 यसलाई बेवास्ता नगर्न होशियार हुनू । यस खतरालाई बढ्न दिने र राजकीय हितको बढी क्षति हुन किन दिने ?23 जब राजा अर्तासास्तको आदेश रेहूम, शिम्शै र तिनीहरूका सहयोगीहरूका सामु पढियो, तिनीहरू तुरुन्‍तै यरूशलेममा गए, र यहूदीहरूलाई जबरजस्‍तीसाथ निर्माण रोक्‍न लगाए ।24 यसरी फारसका राजा दाराको शासनकालको दोस्रो वर्षसम्म यरूशलेममा परमेश्‍वरको मन्‍दिरको काम रोकियो ।