3
इस्राएलीहरू आ-आफ्ना सहरमा फर्केको सातौँ महिनामा तिनीहरू एक जना मानिसझैँ यरूशलेममा भेला भए ।2 योसादाकका छोरा येशूअ र तिनका पूजाहारी दाजुभाइहरू, शालतिएलका छोरा यरुबाबेल र तिनका दाजुभाइहरू उठे, र परमेश्‍वरका मानिस मोशाको व्यवस्थामा लेखिएझैँ होमबलिहरू चढाउन इस्राएलका परमेश्‍वरको वेदी निर्माण गरे ।3 त्‍यसपछि तिनीहरूमा देशका मानिसहरूको डर परेको भए तापनि तिनीहरूले वेदीलाई त्‍यसको आधारमा स्थापित गरे । तिनीहरूले बिहान र बेलुका परमप्रभुका निम्ति होमबलिहरू चढाए ।4 लेखिएअनुसार तिनीहरूले छाप्रोवासको चाड पनि मनाए, र हरेक दिनको निम्ति आदेश भएअनुसार दिनदिनै होमबलिहरू चढाए ।5 यसैगरी, सबै स्वेच्‍छिक भेटीहरूका साथै परमप्रभुका सबै तोकिएका चाडका लागि दैनिक होमबलिहरू र मासिक होमबलिहरू र भेटीहरू पनि थिए ।6 मन्‍दिरको जग नै नबसालिएको भए तापनि तिनीहरूले सातौँ महिनाको पहिलो दिनमा परमप्रभुका निम्ति होमबलिहरू चढाउन थाले ।7 तिनीहरूले ढुङ्‌गा काट्ने र कारीगरहरूलाई चाँदी दिए, अनि फारसका राजा कोरेसले सीदोन र टुरोसका मानिसहरूलाई अधिकार दिएका हुनाले लेबनानदेखि योप्‍पासम्म समुद्राबाट उनीहरूले देवदारुका काठहरू ल्याइदिऊन् भनी तिनीहरूले उनीहरूलाई खाना, पानी र तेल दिए ।8 त्‍यसपछि तिनीहरू यरूशलेममा परमेश्‍वरको मन्‍दिरमा आएको दोस्रो वर्षको दोस्रो महिनामा शालतिएलका छोरा यरुबाबेल, योसादाकका छोरा येशूअ, बाँकी पूजाहारीहरू, लेवीहरू र निर्वासनबाट यरूशलेममा फर्केकाहरूले काम गर्न सुरु गरे । तिनीहरूले बीस वर्ष र त्‍यस भन्‍दा माथिका लेवीहरूलाई परमप्रभुको मन्‍दिरको निरीक्षण गर्ने जिम्मा दिए ।9 येशूअ र तिनका छोराहरूसाथै दाजुभाइहरू, कादमीएल र तिनका छोराहरू (जो होदबियाका सन्‍तानहरू थिए), हेनादादका छोराहरू र तिनीहरूका छोराहरू र दाजुभाइहरू जो सबै लेवी थिए, तिनीहरू परमप्रभुको मन्‍दिर निर्माण गर्नेहरूको निरीक्षण गर्न एकजुट भए ।10 जब निर्माणकर्ताहरूले परमप्रभुको मन्‍दिरको जग बसाले, तब पूजाहारीहरूले आ-आफ्ना पोशाकहरूमा तुरहीहरू लिए अनि लेवीहरू र आसापका छोराहरूले झ्यालीहरू लिएर परमप्रभुको प्रशंसा गर्न खडा भए, जसरी इस्राएलका राजा दाऊदले आज्ञा गरेका थिए ।11 तिनीहरूले परमप्रभुलाई प्रशंसा र धन्‍यवादको गीत गाए, “उहाँ भलो हुनुहुन्‍छ ! इस्राएलसित बाँधिएको उहाँको करारको विश्‍वसनीयता सदासर्वदा रहन्‍छ ।” मन्‍दिरको जग बसालिएको हुनाले सबै मानिसहरूले परमप्रभुको प्रशंसा गर्दै आनन्‍दले कराए ।12 तर पूजाहारीहरू, लेवीहरू र मुख्य मानिसहरूमध्‍ये धेरै जना जो धेरै वृद्ध थिए र पहिलो मन्‍दिरलाई देखेका थिए, जब तिनीहरूको आँखाको सामु यो मन्‍दिरको जग बसालियो, तब तिनीहरू धुरुधुरु रोए । तर खुसी र आनन्‍दको चर्को स्वरको आनन्‍दले कराउने मानिसहरूको सङ्ख्या धेरै थियो ।13 फलस्वरूप, मानिसहरूले आनन्‍द र खुसीको आवाजलाई रोएका मानिसहरूको आवाजबाट छुट्‌ट्‌याउन सकेनन् किनकि मानिसहरू ठूलो आनन्‍दले कराउँदै थिए, र आवाज टाढा-टाढासम्म सुनिएको थियो ।