30
हिजकियाले सबै इस्राएल र यहूदाकहाँ दूतहरू पठाए र एफ्राइम र मनश्शेलाई चिट्ठीहरू पनि लेखे ताकि तिनीहरू यरूशलेममा परमप्रभु इस्राएलका परमेश्‍वरको निम्ति निस्तार-चाड मान्‍न यरूशलेमको परमप्रभुको मन्‍दिरमा आउन् ।2 किनकि राजा, तिनका अगुवाहरू र यरूशलेममा भेला भएका सबै समुदायले मिलेर सल्लाह गरी दोस्रो महिनामा निस्तार-चाड मनाउने सहमति गरे ।3 तिनीहरूले नियमित समयमा मनाउन सकेनन्, किनभने उत्सवको निम्ति पुग्‍दो पूजाहारीहरूले आफूलाई शुद्ध पारेका थिएनन् र मानिसहरू यरूशलेममा एकसाथ भेला हुन सकेका थिएनन् ।4 यो प्रस्ताव राजा र सारा समुदायको दृष्‍टिमा असल लाग्यो ।5 यसैले तिनीहरूले बेर्शेबादेखि दानसम्मै परमप्रभु इस्राएलका परमेश्‍वरको निम्ति निस्तार-चाड मान्‍न मानिसहरू यरूशलेममा आउनैपर्छ भनी सारा इस्राएलभरि घोषणा गर्ने कुरामा सहमत भए । किनकि यसअघि लेखिएबमोजिम मानिसहरूका यति धेरै सङ्ख्याले यो चाड मानेका थिएनन् ।6 यसैले राजाको हुकुमअनुसार राजा र तिनका अगुवाहरूका पत्रहरू लिएर पत्रवाहकहरू सारा इस्राएल र यहूदाभरि गए । तिनीहरूले भने, “इस्राएलका मानिसहरू हो, अब्राहाम, इसहाक र इस्राएलका परमप्रभु परमेश्‍वरतिर तिमीहरू फर्क, ताकि अश्शूरका राजाहरूका हातबाट उम्कनेहरूतिर उहाँ पनि फर्कनुभएको होस् ।7 तिमीहरू आफ्ना पुर्खाहरू वा आफ्ना दाजुभाइहरू जस्‍तै नहोओ, जसले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्‍वरको विरुद्धमा विश्‍वासघात गरे, जसले गर्दा उहाँले तिनीहरूलाई त्रासका पात्र तुल्याउनुभयो, जुन तिमीहरूले देख्छौ ।8 तिमीहरूका पुर्खाहरूझैँ तिमीहरू पनि हठी नहोओ । बरू तिमीहरू आफूलाई परमप्रभुमा समर्पण गर, र उहाँले सदासर्वदाको निम्ति पवित्र पार्नुभएको उहाँको पवित्रस्थानमा प्रवेश गर, र परमप्रभु तिमीहरूका परमेश्‍वरको आराधना गर, ताकि उहाँको भयानक क्रोध तिमीहरूबाट हटोस् ।9 किनकि तिमीहरू परमप्रभुतिर फर्क्यौ भने, तिमीहरूका दाजुभाइहरू र तिमीहरूका छोराछोरीहरूलाई कैद गरेर लैजानेहरूबाट तिनीहरूले दया पाउनेछन्, र तिनीहरू यस देशमा फर्केर आउन पाउनेछन् । किनभने परमप्रभु तिमीहरूका परमेश्‍वर दयालु र करुणामय हुनुहुन्‍छ, र तिमीहरू उहाँतर्फ फर्क्यौ भने, उहाँ तिमीहरूबाट फर्कनुहुनेछैन ।”10 यसैले ती पत्रवाहकहरू एफ्राइम र मनश्शेका प्रदेशहरूभरि नै सहर-सहरमा भएर जबूलूनसम्मै गए, तर मानिसहरू तिनीहरूलाई हेरेर हाँसे र तिनीहरूको गिल्ला गरे ।11 तापनि आशेर, मनश्शे र जबूलूनका कोही मानिसहरूले आफैलाई नम्र तुल्याए र यरूशलेममा आए ।12 परमप्रभुको वचनअनुसार राजा र तिनका अधिकारीहरूले दिएको हुकुम एकमत भई पालन गर्न परमेश्‍वरको हात यहूदाका मानिसहरूमा पनि आयो ।13 धेरै मानिसहरू, अर्थात् एउटा साह्रै ठूलो समुदाय दोस्रो महिनामा अखमिरी रोटीको चाड मान्‍न यरूशलेममा भेला भए ।14 तिनीहरू उठे र यरूशलेममा भएका वेदीहरू, र धूप बाल्ने सबै वेदीसमेत हटाइदिए, र तिनीहरूले तिनलाई किद्रोनको खोल्सामा फ्याँकिदिए ।15 तब तिनीहरूले दोस्रो महिनाको चौधौँ दिनमा निस्तार-चाडको थुमा मारे । पूजाहारीहरू र लेवीहरू साह्रै लज्‍जित भए । यसैले तिनीहरूले आफूलाई शुद्ध गरे, र परमप्रभुको मन्‍दिरमा होमबलि ल्याए ।16 तब परमेश्‍वरका मानिस मोशाको व्यवस्थाले दिएको निर्देशनअनुसार तिनीहरू आ-आफ्नो स्थानमा दल-दल भएर खडा भए । पूजाहारीहरूले लेवीहरूबाट लिएको रगत वेदीमा छर्के ।17 किनकि आफूलाई शुद्ध नपारेकाहरू समुदायमा धेरै जना थिए । यसैकारण आफैलाई शुद्ध नपारेका र परमप्रभुको सामुन्‍ने आ-आफ्नो थुमा अर्पण नगरेकाहरू सबैका निम्ति लेवीहरूले निस्तार-चाडका थुमाहरू मारे ।18 एफ्राइम, मनश्शे, इस्साखार र जबूलूनबाट आएकाहरूमध्‍ये धेरै जनाले आफैलाई शुद्ध पारेका थिएनन्, तापनि तिनीहरूले लेखिएको निर्देशनहरूको विरुद्धमा निस्तार-चाडको भोज खाए । किनकि हिजकियाले यसो भनेर तिनीहरूका निम्ति प्रार्थना गरेका थिए, “भला हुनुहुने परमप्रभुले हरेक व्यक्तिलाई क्षमा गर्नुभएको होस्19 जसले पवित्रस्थानका शुद्धीकरणको मानकबमोजिम शुद्ध नभए तापनि परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्‍वरको खोजी गर्ने सङ्‌कल्प गरेको छ ।”20 यसैले परमप्रभुले हिजकियाको प्रार्थना सुन्‍नुभयो, र मानिसहरूलाई निको पार्नुभयो ।21 यरूशलेममा उपस्थित भएका इस्राएलका मानिसहरूले सात दिनसम्म ठूलो रमाहटको साथ अखमिरी रोटीको चाड मनाए । लेवीहरू र पूजाहारीहरूले ठूलो स्वरमा परमप्रभुका बाजाहरू बजाएर दिनहुँ परमप्रभुको प्रशंसा गरे ।22 परमप्रभुको सेवा बुझेका सबै लेवीहरूलाई हिजकियाले उत्साहको वचनले बोले । यसरी मेलबलिका बलिदानहरू चढाउँदै, र परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्‍वरसँग आफ्ना पापहरू स्वीकार गर्दै चाडका सात दिनभरि खाँदै बिताए ।23 सारा समुदाय अरू सात दिनसम्म चाड मान्‍न सहमत भए, र तिनीहरूले रमाहटसित सो गरे ।24 किनकि यहूदाका राजा हिजकियाले समुदायको निम्ति एक हजार साँढे र सात हजार भेडा बलिदानको रूपमा दिए । अनि अगुवाहरूले समुदायको निम्ति एक हजार साँढे र दश हजार भेडा दिए । ठूलो सङ्‌ख्‍यामा पूजाहारीहरूले आफूलाई शुद्ध पारे ।25 यहूदाका सारा समुदाय, पूजाहारीहरू र लेवीहरूसमेत, अनि इस्राएलबाट आएका सबै समुदायसाथ इस्राएल र यहूदामा बसोबास गर्ने विदेशीहरूले पनि रमाहट गरे ।26 यसरी यरूशलेममा ठूलो रमाहट भयो, किनभने त्‍यस्तो त इस्राएलका राजा दाऊदका छोरा सोलोमनको पालोदेखि यता त्‍यहाँ भएको थिएन ।27 तब पूजाहारीहरू र लेवीहरू खडा भए र मानिसहरूलाई आशीर्वाद दिए । तिनीहरूको आवाज सुनियो, र तिनीहरूका प्रार्थना स्वर्गमा परमेश्‍वर बस्‍नुहुने पवित्र वासस्थानसम्मै पुग्यो ।