31
जब यी सबै कुरा सकिए, तब उपस्थित भएका सबै इस्राएलका मानिसहरू यहूदाका सहरहरूमा गए र तिनीहरूले ढुङ्‌गाका खम्बाहरू फुटाइदिए र अशेरा देवीका मूर्तिहरू काटेर ढालिदिए, अनि सारा यहूदा र बेन्‍यामीन, अनि एफ्राइम र मनश्शेका डाँडाका थानहरू र वेदीहरू, ती सबै नाश नभएसम्म भत्काइदिए । तब इस्राएलीहरू हरेक आ-आफ्ना सम्पति र आ-आफ्ना सहर भएको ठाउँमा फर्के ।2 पूजाहारीहरू र लेवीहरूका दलअनुसार हिजकियाले तिनीहरूका दलहरूलाई हरेक मानिसलाई, पूजाहारीहरू र लेवीहरू दुवैलाई आ-आफ्ना काममा लगाइदिए । तिनीहरूलाई होमबलि र मेलबलि चढाउन, सेवा गर्न, धन्‍यवाद दिन र परमप्रभुको मन्‍दिरका ढोकाहरूमा प्रशंसा गर्ने काम तिनले तिनीहरूलाई दिए ।3 तिनले आफ्नै भण्डारबाट बिहान र बेलुकाका होमबलिका निम्ति, अनि शबाथ, औँसी र तोकिएका चाडहरूका निम्ति परमप्रभुको व्यवस्थामा लेखिएबमोजिम जुटाइदिए ।4 यसको साथै तिनले यरूशलेममा बस्‍ने मानिसहरूलाई तिनीहरूले पूजाहारीहरू र लेवीहरूलाई दिनुपर्ने भाग दिन हुकुम गरे ताकि तिनीहरूले परमप्रभुको व्यवस्था पालन गर्ने कुरामा ध्‍यान दिन सकून् ।5 हुकुम पठाउने बित्तिकै इस्राएलका मानिसहरूले आ-आफ्ना अन्‍नका अगौटे फल, नयाँ दाखमद्य, तेल, मह र जमिनका सबै उब्जनीका अगौटे फल उदारचित्तले दिए । तिनीहरूले हरेक कुराका दशांश ल्याए, जुन प्रशस्त मात्रामा भयो ।6 यहूदाका सहरहरूमा बस्‍ने इस्राएलका मानिसहरू र यहूदीहरूले पनि गाईवस्तु र भेडाबाख्राको दशांश, अनि परमप्रभु आफ्ना परमेश्‍वरमा अर्पण गरिएका सबै थोकको दशांश ल्याएर थुपारे ।7 तिनीहरूले आफ्नो योगदान तेस्रो महिनामा थुपार्न सुरु गरे, र तिनीहरूले त्‍यो सातौँ महिनामा सिध्‍याए ।8 जब हिजकिया र तिनका अधिकारीहरू आए र ती थुपारिएका कुरा देखे, तब तिनीहरूले परमप्रभु र उहाँका मानिसहरू इस्राएललाई आशिष् दिए ।9 तब हिजकियाले यी थुपारिएका कुराहरूका विषयमा पूजाहारीहरू र लेवीहरूसित सोधपुछ गरे ।10 सादोकका घरानाका प्रधान पूजाहारी अजर्याहले जवाफ दिए र यसो भने, “मानिसहरूले परमप्रभुको मन्‍दिरमा आ-आफ्ना भेटी ल्याएको समयदेखि हामीहरूले खाएका छौँ, र प्रशस्त भयो र प्रशस्त उब्रेका छन्, किनकि परमप्रभुले आफ्ना मानिसहरूलाई आशिष् दिनुभएको छ । उब्रेकाबाट यो ठूलो मात्रा यहाँ छ ।”11 तब हिजकियाले परमप्रभुको मन्‍दिरमा भण्डारहरू तयार गर्न हुकुम गरे, र तिनीहरूले ती तयार गरे ।12 तब तिनीहरूले आ-आफ्ना भेटीहरू, दशांश र परमप्रभुका थोकहरू ईमान्‍दारीसाथ ल्याए । तिनको जिम्मा लिने अधिकृत लेवी कोनन्‍याह थिए, र तिनका भाइ शिमी तिनीपछिका दोस्रा थिए ।13 हिजकिया राजा र परमेश्‍वरको मन्‍दिरका अधिकारी अजर्याहले नियुक्त गरेका कोनन्‍याह र तिनका भाइ शिमीको मातहतमा रही तिनीहरूलाई सहायता गर्ने यहीएल, अजज्‍याह, नहत, असाहेल, यरीमोत, योजाबाद, एलीएल, यिस्मक्याह, महत र बनायाह थिए ।14 परमप्रभुलाई दिएका भेटीहरू र अर्पण गरिएका दानहरू बाँड्नको निम्ति परमेश्‍वरको निम्ति ल्याएका राजीखुशीका भेटीहरूको जिम्मा लेवी यिम्‍नाका छोरा पूर्व ढोकाका रक्षक कोरेलाई दिइएको थियो ।15 तिनको मातहतमा पूजाहारीहरूका सहरहरूमा अदन, मिन्‍यामीन, येशूअ, शमायाह, अमर्याह र शकन्‍याह थिए । तिनीहरूका महत्त्‍व भएका र नभएका दुवै दाजुभाइहरूलाई दल-दलअनुसार हिस्सा बाँड्ने कामको जिम्मा तिनीहरूको थियो ।16 आफ्ना पुर्खाहरूका विवरणमा नाउँ भएका परमप्रभुको मन्‍दिरमा आफूलाई तोकिएको काममा दिनदिनै खट्ने तीन वर्ष र त्‍यस भन्‍दा बढी उमेरका सबै पुरुषहरूलाई आ-आफ्ना दल र जिम्माअनुसार तिनीहरूले भाग बाँडिदिए ।17 आफ्ना पुर्खाहरूका विवरणमा नाउँ लेखिएका पूजाहारीहरू अनि बीस वर्ष र त्‍यस भन्‍दा बढी उमेरका लेवीहरू सबैलाई आ-आफ्ना दल र जिम्माअनुसार तिनीहरूले भाग बाँडिदिए ।18 तिनीहरूले सारा समुदाय भरका तिनका साना बालबालिकाहरू, पत्‍नीहरू र छोराछोरीहरू सबैलाई पनि समावेश गरे, किनकि आफैलाई शुद्ध गर्नमा तिनीहरू विश्‍वासयोग्य थिए ।19 आफ्ना सहरहरूका छेउछाउका बस्तीहरूमा वा हरेक सहरमा बस्‍ने हारूनका वंशका पूजाहारीहरूमध्‍ये सबै पुरुषलाई र लेवीहरूका आफ्ना पुर्खाहरूका विवरणमा नाउँ लेखिएका पूजाहारीहरू सबैलाई पनि आ-आफ्ना भाग दिन विशेष मानिसहरू खटाइए ।20 हिजकियाले यहूदाभरि नै यसो गरे । तिनले परमप्रभु आफ्ना परमेश्‍वरका दृष्‍टिमा असल, ठीक र विश्‍वासयोग्य काम गरे ।21 परमप्रभुका मन्‍दिरको सेवाका हरेक काममा, व्यवस्था, र आज्ञाहरूमा, र उहाँको खोजी गर्ने हरेक कुरा तिनले आफ्नो पूरा हृदयले गरे, र तिनी सफल भए ।