29
हिजकियाले राज्‍य गर्न सुरु गर्दा तिनी पच्‍चीस वर्षका थिए । तिनले यरूशलेममा उनन्‍तीस वर्ष राज्‍य गरे । तिनकी आमाको नाउँ अबिया थियो । तिनी जकरियाकी छोरी थिइन् ।2 आफ्ना पुर्खा दाऊदले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे असल थियो सो तिनले गरे ।3 तिनको राजकालको पहिलो वर्षको पहिलो महिनामा हिजकियाले परमप्रभुको मन्‍दिरका ढोकाहरू खोले र तिनको मर्मत गरे ।4 तिनले पूजाहारीहरू र लेवीहरूलाई ल्याए र तिनीहरूलाई पूर्वपट्टिको चोकमा एकसाथ भेला गराए ।5 तिनले तिनीहरूलाई भने, “ए लेवीहरू हो, मेरा कुरा सुन ! आफू-आफूलाई पवित्र गर, र आफ्ना पुर्खाहरूका परमप्रभु परमेश्‍वरको मन्‍दिरलाई पवित्र पार, र पवित्रस्थानबाट अपवित्र कुरा हटाइदेओ ।6 किनकि हाम्रा पुर्खाहरूले पाप गरे र परमप्रभु हाम्रा परमेश्‍वरको दृष्‍टिमा जे खराब थियो सो गरे । तिनीहरूले उहाँलाई त्‍यागे, परमप्रभु बस्‍नुहुने ठाउँबाट आफ्नो मुहारहरू फर्काए, र त्‍यसतर्फ आफ्ना पीठ फर्काए ।7 तिनीहरूले दलानका ढोकाहरू पनि बन्‍द गरिदिए र बत्तीहरू निभाए । तिनीहरूले इस्राएलका परमेश्‍वरको पवित्रस्थानमा धूप बाल्न र होमबलि चढाउन छोडिदिए ।8 यसकारण परमप्रभुको क्रोध यहूदा र यरूशलेममाथि परेको थियो, र उहाँले तिनीहरूलाई डर, आतङ्‌क र घृणाका पात्र बनाउनुभएको छ, जस्‍तो तिमीहरूका आफ्नै आँखाले तिमीहरू देख्‍न सक्छौ ।9 त्‍यसकाणले हाम्रा पुर्खाहरू तरवारले मारिएका छन्, र हाम्रा छोराहरू, हाम्री छोरीहरू र हाम्री पत्‍नीहरू यसैले कैदमा छन् ।10 अब इस्राएलका परमप्रभु परमेश्‍वरसँग एउटा करार गर्ने कुरा मेरो हृदयमा छ, ताकि उहाँको प्रचण्ड क्रोध हामीहरूबाट हटोस् ।11 ए मेरा छोराहरू, अब अल्छे नहोओ, किनकि परमप्रभुले उहाँको आराधना गर्नलाई उहाँको सामु खडा हुन, र तिमीहरू उहाँका सेवकहरू होऊ र धूप बाल भनेर तिमीहरूलाई चुन्‍नुभएको छ ।”12 तब लेवीहरू खडा भएः कहातीहरूका मानिसहरूबाट अमासैका छोरा महत र अजर्याहका छोरा योएल, अनि मरारीहरूका मानिसहरूबाट अब्दीका छोरा कीश र यहललेलका छोरा अजर्याह, अनि गेर्शोनीहरूबाट जिम्माहका छोरा योआ र योआका छोरा अदन ।13 एलीजापानका छोराहरूबाट शिम्री र यहीएल, अनि आसापका छोराहरूबाट जकरिया र मत्तन्‍याह ।14 हेमानका छोराहरूबाट यहीएल र शिमी, अनि यदूतूनका छोराहरूबाट शमायाह र उज्‍जीएल ।15 तिनीहरूले आ-आफ्ना दाजुभाइहरूलाई भेला गराए, र तिनीहरूले आफैलाई पवित्र गरे, अनि परमप्रभुको वचनको अनुसरण गर्दै राजाले हुकुम गरेबमोजिम परमप्रभुको मन्‍दिरलाई शुद्ध पार्न तिनीहरू त्‍यसभित्र पसे ।16 परमप्रभुको मन्‍दिर शुद्ध गर्न पूजाहारीहरू त्‍यसको भित्री भागमा पसे । तिनीहरूले परमप्रभुको मन्‍दिरभित्र भेट्टाएका सबै अशुद्ध कुराहरू बाहिर परमप्रभुका मन्‍दिरको चोकमा ल्याए । लेवीहरूले ती कुराहरू बोकेर किद्रोन खोल्सामा लगे ।17 पहिलो महिनाको पहिलो दिनमा तिनीहरूले शुद्ध पार्ने काम सुरु गरे । आठौँ दिनमा तिनीहरू परमप्रभुको दलानसम्म पुगेका थिए । अनि अझै आठ दिनसम्म तिनीहरूले परमप्रभुको मन्‍दिर पवित्र गरिरहे । पहिलो महिनाको सोह्रौँ दिनमा तिनीहरूले त्‍यो काम सिध्‍याए ।18 त्‍यसपछि तिनीहरू राजमहलभित्र हिजकिया राजाकहाँ गए र भने, “हामीले परमप्रभुको मन्‍दिर जम्मै पवित्र गरिसक्‍यौँ, अर्थात् होमबलिको वेदी, त्‍यसका सबै भाँडाकुँडासमेत, अनि अर्पण गरिएको रोटी राख्‍ने टेबिल, त्‍यसका सबै सामानसमेत ।19 यसैले हामीले राजा आहाजले आफ्नो शासनकालमा विश्‍वासघाती भएर हटाएका जम्मै सरसामान पनि तयारी र पवित्र गर्‍यौँ । हेर्नुहोस्, ती परमप्रभुका वेदीको सामुन्‍ने राखिएका छन् ।”20 तब राजा हिजकिया बिहान सबेरै उठेर सहरका अगुवाहरूलाई भेला गराए । तिनी परमप्रभुको मन्‍दिरमा उक्लेर गए ।21 तिनीहरूले सात वटा साँढे, सात वटा भेडा र सात वटा थुमा ल्याए, अनि राज्‍य, पवित्रस्थान र यहूदाको लागि पापबलिको निम्ति सात वटा बोका ल्याए । तिनले पूजाहारीहरू, हारूनका छोराहरूलाई यी सबै परमप्रभुको वेदीमा चढाउने हुकुम गरे ।22 यसैले तिनीहरूले ती साँढेहरू मारे, र पूजाहारीहरूले तिनका रगत लिएर वेदीमा छर्के । त्‍यसपछि तिनीहरूले भेडाहरू मारे, र तिनका रगत लिएर वेदीमा छर्के, र तिनीहरूले थुमाहरू पनि मारे र तिनका रगत वेदीमा छर्के ।23 तिनीहरूले पापबलिको निम्ति बोकाहरू राजा र समुदायको अघि ल्याए । तिनीहरूले तीमाथि आ-आफ्ना हात राखे ।24 पूजाहारीहरूले ती बोकाहरू मारे, र सारा इस्राएलको निम्ति प्रायश्‍चित गर्न पापबलि स्वरूप वेदीमा चढाए, किनकि होमबलि र पापबलिचाहिँ सारा इस्राएलको निम्ति चढाउनुपर्छ भन्‍ने हुकुम राजाले दिएका थिए ।25 हिजकियाले लेवीहरूलाई परमेश्‍वरको मन्‍दिरमा दाऊद राजा, राजाका दर्शी गाद र नातान अगमवक्ताले आज्ञा गरेअनुसार झ्याली, वीणा र सारङ्‌गीका साथमा आ-आफ्नो काममा खटाए, किनकि यो आज्ञा परमप्रभुले आफ्ना अगमवक्ताहरूद्वारा दिनुभएको थियो ।26 लेवीहरू दाऊदका बाजाहरू र पूजाहारीहरू तुरहीहरू लिएर खडा भए ।27 हिजकियाले वेदीमा होमबलि वेदीमा चढाउने हुकुम दिए । जब होमबलि सुरु भयो, तब तुरहीहरू र इस्राएलका राजा दाऊदका बाजाहरूका साथमा परमप्रभुको गीत पनि सुरु भयो ।28 सारा समुदायले आराधना गरे, गायकहरूले गाए, र तुरही बजाउनेहरूले बजाए । यो काम होमबलि खतम नहोउञ्‍जेल निरन्‍तर जारी रह्यो ।29 जब तिनीहरूले बलिदान चढाइसके, राजा र तिनीसँग भएका सबैले घोप्‍टो परे र आराधना गरे ।30 यसको साथै राजा हिजकिया र तिनका अगुवाहरूले लेवीहरूलाई दाऊद र दर्शी आसापका शब्दमा परमप्रभुको स्तुतिगान गर्न लाए । तिनीहरूले खुसीसाथ स्तुति गाए र घोप्‍टो परे र आरधना गरे ।31 तब हिजकियाले भने, “अब तिमीहरूले परमप्रभुमा आफैलाई अर्पण गरेका छौ । यहाँ आओ र परमप्रभुको मन्‍दिरमा बलिदान र धन्‍यवादका बलिहरू ल्याओ ।” समुदायले बलिदानहरू र धन्‍यवाद बलिहरू ल्याए, र राजीखुशी हृदय हुनेहरू सबैले आ-आफ्ना होमबलि ल्याए ।32 समुदायले ल्याएका होमबलिको सङ्‌ख्‍या सत्तरी वटा साँढे, एक सय वटा भेडा, र दुई सय वटा थुमा थिए । यी सबै परमप्रभुको निम्ति होमबलि थिए ।33 परमप्रभुमा अर्पण गरिएका बलिदानहरू छ सय साँढे र तीन हजार भेडा थिए ।34 तर सबै होमबलिका छाला काढ्नका निम्ति पूजाहारीहरू साह्रै थोरै थिए, यसैले तिनीहरूका दाजुभाइहरू लेवीहरूले त्‍यो काम नसिद्धिएसम्म र पूजाहारीहरूले आफूलाई पवित्र नपारेसम्म तिनीहरूलाई सघाए, किनकि आ-आफूलाई पवित्र पार्नलाई पूजाहारीहरू भन्‍दा लेवीहरू नै बढी होशियार भएका थिए ।35 यसबाहेक, त्‍यहाँ धेरै होमबलिहरू थिए । मेलबलिको बोसोको साथमा ती चढाइए र हरेक होमबलिको निम्ति त्‍यहाँ अर्घबलि थिए । यसरी परमप्रभुका मन्‍दिरको सेवा व्यवस्थित गरियो ।36 परमेश्‍वरले मानिसहरूका निम्ति तयार पार्नुभएको कामको कारणले हिजकिया र सबै मानिसहरू आनन्‍दित भए, किनकि त्‍यो काम चाँडै नै पूरा भयो ।