28
आहाजले राज्य गर्न सुरु गर्दा तिनी बीस वर्षका थिए, र तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे । तिनले आफ्ना पुर्खा दाऊदले गरेझैँ परमप्रभुको दृष्टिमा जे असल थियो सो गरेनन् ।2 बरू, तिनी पनि इस्राएलका राजाहरूका चालमा हिँडे । तिनले बाल देवताहरूका निम्ति ढलौटे मूर्तिहरू बनाए ।3 यसको साथै तिनले बेन-हिन्नोमको बेँसीमा बलिदानहरू पनि चढाए र इस्राएलको सामुन्नेबाट परमप्रभुले देशबाट निकाल्नुभएको मानिसहरूका मूर्तिपूजाका घिनलाग्दा चालमा हिँडेर तिनले आफ्ना छोराछोरीहरूलाई आगोबाट हिँड्न लगाए ।4 तिनले अग्ला ठाउँहरू र डाँडाका टाकुराहरू र हरेक हरिया रुखमुनि बलिदानहरू चढाए र धूप बाले ।5 यसकारण परमप्रभु आहाजका परमेश्वरले तिनलाई अरामका राजाको हातमा सुम्पिदिनुभयो । अरामीहरूले तिनलाई परास्त गरे र तिनका मानिसहरूमध्ये धेरै जनालाई कैद गरेर दमस्कसमा लगे । आहाज इस्राएलका राजाको हातमा पनि परे, र ती राजाले तिनलाई ठूलो संहारका साथ पराजित गरे ।6 रमल्याहका छोरा पेकहले एकै दिनमा यहूदाका एक लाख बीस हजार सिपाहीहरूलाई मारे, र ती सबै जना शक्तिशाली योद्धाहरू थिए, किनभने तिनीहरूले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरलाई त्यागेका थिए ।7 जिक्री नामको एक जना वीर एफ्राइमीले राजाका छोरा मासेयाह र राजाका महलका रेखदेख गर्ने अधिकारी अज्रीकाम र राजापछिका मुख्य व्यक्ति एल्कानालाई मारे ।8 तिनीहरूका आफन्तबाट दुई लाख पत्नीहरू, छोराहरू र छोरीहरूलाई इस्राएलका फौजले कैद गरेर लगे । तिनीहरूले धेरै लूटका मालहरू पनि लगे, जुन तिनीहरूले सामरियामा ल्याए ।9 तर त्यहाँ ओदेद नामका परमप्रभुका एक अगमवक्ता थिए । तिनी सामरियामा फर्किरहेको फौजलाई भेट्न गए । तिनले तिनीहरूलाई भने, “परमप्रभु तिमीहरूका पुर्खाहरूका परमेश्वर यहूदासँग रिसाउनुभएको हुनाले तिनीहरूलाई तिमीहरूका हातमा उहाँले सुम्पिदिनुभयो । तर तिमीहरूले चाहिँ रीसमा तिनीहरूको संहार गर्यौ, जो स्वर्गसम्मै पुग्यो ।10 अब तिमीहरू यहूदा र यरूशलेमका पुरुषहरू र स्त्रीहरू दुवैलाई दास-दासी बनाउने इच्छा गर्छौ । तर त्यसो गर्दा के तिमीहरू पनि परमप्रभु तिमीहरूका परमेश्वरको सामु आफ्नो पापको दोषी हुँदैनौ ?11 यसैले अब मेरा कुरा सुनः आफ्ना दाजुभाइहरूबाट तिमीहरूले कैद गरेर ल्याएकाहरूलाई फर्काइदेओ, किनकि परमप्रभुको डरलाग्दो क्रोध तिमीहरूमाथि छ ।”12 तब एफ्राइमका कुनै अगुवाहरू, अर्थात् येहोहानानका छोरा अजर्याह, मशिल्लेमोतका छोरा बेरेक्याह, शल्लूमका छोरा येहिजक्याह र हद्लैका छोरा अमासा युद्धबाट फर्केकाहरूको विरुद्धमा खडा भए ।13 तिनीहरूले उनीहरूलाई भने, “यी कैदीहरूलाई तिमीहरूले यहाँ ल्याउनुहुन्न, किनकि तिमीहरूले जे विचार गरिरहेका छौ त्यसले गर्दा हामीहरूमा परमप्रभुको विरुद्धमा पाप ल्याउनेछ, हाम्रा पापहरू र दोषहरू थप्नेछ, किनकि हाम्रा दोषहरू ठूला छन् र इस्राएलको विरुद्धमा भयानक क्रोध आइपरेको छ ।”14 यसकारण योद्धाहरूले कैदीहरू र लुटेका मालहरू अगुवाहरू र सबै समुदायका उपस्थितिमा छोडिदिए ।15 नाम तोकेर जिम्मेवारी पाएका मानिसहरू खडा भए र कैदीहरूलाई लिए, र लुटेका मालबाट सबै नाङ्गा मानिसहरूलाई लुगा दिए । तिनीहरूलाई लुगा लगाइदिए र तिनीहरूलाई र जुत्ता दिए । तिनीहरूले उनीहरूलाई खान र पानी दिए । तिनीहरूले उनीहरूका घाउहरूको उपचार गरिदिए र कमजोरहरूलाई गधामा चढाए । तिनीहरूले उनीहरूलाई यरीहोमा (खजूरका रूखहरूको सहरमा) आफ्ना आफन्तहरूकहाँ लगे । त्यसपछि तिनीहरू सामरिया फर्के ।16 त्यस बेला राजा आहाजले अश्शूरका राजाकहाँ सहायताको निम्ति दूतहरू पठाए ।17 किनकि एदोमीहरूले फेरि आक्रमण गर्ने आएका र यहूदालाई जितेर कैदी बनाएर लगेका थिए ।18 पलिश्तीहरूले पनि पहाड र यहूदाको मैदानका र नेगेवका सहरहरूमा आक्रमण गरे । उनीहरूले बेथशेमेश, अय्यालोन र गदेरोत, अनि सोखो, तिम्ना र गिम्जो, तिनका बस्तीहरू कब्जा गरे । तिनीहरू ती ठाउँमा बसोबास गर्न गए ।19 किनकि इस्राएलका राजा आहाजको कारणले परमप्रभुले यहूदालाई तल होच्याउनुभयो । किनकि यहूदामा तिनले दुष्टतापूर्वक काम गरेका थिए र परमप्रभुको विरुद्धमा धेरै पाप गरेका थिए ।20 अश्शूरका राजा तिग्लत-पिलेसेर तिनीकहाँ आए र तिनलाई सहायता दिनुको साटोमा झन् तिनलाई कष्ट दिए ।21 किनकि आहाजले अश्शूरका राजालाई दिनको निम्ति परमप्रभुको मन्दिर, राजा र भारदारहरूका महलहरू लुटे । तर यसले तिनलाई केही फाइदा भएन ।22 तिनै राजा आहाजले आफ्नो कष्टको समयमा परमप्रभुको विरुद्धमा झन् धेरै पाप गरे ।23 किनकि तिनले आफूलाई परास्त गर्ने दमस्कसका देवताहरूलाई बलिदान चढाए । तिनले भने, “अरामका राजाहरूका देवताहरूले उनीहरूलाई सहायता गरेका हुनाले म तिनीहरूलाई बलिदान चढाउनेछु, ताकि तिनीहरूले मलाई सहायता गरून् ।” तर तिनीहरू नै तिनको र सारा इस्राएलको पतनको कारण बने ।24 आहाजले परमप्रभुको मन्दिरका भाँडाकुँडाहरू जम्मा गरे र तिनलाई टुक्राटुक्रा बनाए । तिनले परमप्रभुको मन्दिरका ढोकाहरू पनि बन्द गरिदिए र तिनले यरूशलेमका हरेक कुनामा आफ्ना निम्ति वेदीहरू बनाए ।25 यहूदाका हरेक सहरमा अरू देवतालाई बलिदान चढाउनका निम्ति डाँडाहरूका थानहरू बनाए । तिनले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरलाई क्रोधित तुल्याए ।26 तिनको राजकालका घटनाहरू सुरुदेखि अन्त्यसम्म यहूदा र इस्राएलका राजाहरूका पुस्तकमा लेखिएका छन् ।27 आहाज आफ्ना पुर्खारूसित सुते, र तिनीहरूले उनलाई यरूशलेम सहरमा गाडे, तर तिनीहरूले तिनलाई इस्राएलका राजाहरूका चिहानमा गाडेनन् । तिनको ठाउँमा तिनका छोरा हिजकिया राजा भए ।