23
सातौँ वर्षमा यहोयादाले आफ्नो शक्ति प्रकट गरे र तिनले सय-सयका दलका सेनापतिहरू, अर्थात् यहोरामका छोरा अजर्याह, येहोहानानका छोरा इश्माएल, ओबेदका छोरा अजर्याह, अदायाहका छोरा मासेयाह र जिक्रीका छोरा एलीशापातसित करार सम्झौता गरे ।2 तिनीहरू यहूदाका चारैतिर गए र यहूदाका सबै सहरहरूबाट लेवीहरूका साथै इस्राएलका पुर्ख्यौली घरानाका मुखियाहरूलाई भेला गरे र तिनीहरू यरूशलेममा आए ।3 सबै सभाले परमेश्वरको मन्दिरमा राजासित करार बाँधे । यहोयादाले तिनीहरूलाई भने, “हेर्नुहोस्, परमप्रभुले दाऊदका सन्तानहरूका विषयमा प्रतिज्ञा गर्नुभएझैँ राजाका छोराले राज्य गर्नेछन् ।4 तपाईंहरूले यसो गर्नुपर्छः शबाथमा आफ्नो काममा आउने पूजाहारीहरू र लेवीहरूको एक तिहाइचाहिँ ढोकाहरूका रक्षकहरू हुनुपर्छ ।5 अर्को एक तिहाइचाहिँ राजमहलमा, र अर्को एक तिहाइचाहिँ जगको ढोकामा हुनुपर्छ । सबै मानिसहरूचाहिँ परमप्रभुको मन्दिरका चोकहरूमा हुनुपर्छ ।6 सेवा गर्ने पूजाहारीहरू र लेवीहरूबाहेक अरू कसैलाई परमप्रभुको मन्दिरभित्र पस्न नदिनू । तिनीहरू भित्र पस्न सक्छन्, किनभने तिनीहरू अभिषेक गरिएका छन् । तर अरू सबै मानिसहरूले परमप्रभुको आज्ञा मान्नुपर्छ ।7 लेवीहरू हरेकले आ-आफ्नो हतियार हातमा बोकेर राजाका चारैतिर सुरक्षा दिनुपर्छ । कोही मन्दिरभित्र पस्यो भने, त्यसलाई मारिनुपर्छ । राजा भित्र आउँदा र बाहिर जाँदा तिनको साथमा हिँड्नुपर्छ ।”8 यसैले यहोयादा पूजाहारीले आज्ञा गरेबमोजिम लेवीहरू र सबै यहूदाले सेवा गरे । हरेक जनाले शबाथमा सेवा गर्न आएका मानिसहरू, र शबाथमा सेवा गर्न छाडेकाहरूलाई लिए, किनकि यहोयादा पूजाहारीले कुनै पनि दललाई हटाएका थिएनन् ।9 त्यसपछि सेनापतिहरूलाई परमेश्वरको मन्दिरमा भएका दाऊद राजाका भालाहरू, र साना तथा ठूला ढालहरू ल्याइदिए ।10 यहोयादाले सबै फौजलाई आफ्नो हातमा हतियार लिई मन्दिरको दाहिनेदेखि देब्रेपट्टिसम्म राजालाई घेर्न वेदी र मन्दिरको छेउमा राखे ।11 तब तिनीहरूले राजाका छोरालाई बाहिर ल्याए, तिनको शिरमा मुकुट लगाइदिए र तिनलाई करार-पत्र दिए । तब तिनीहरूले तिनलाई राजा बनाए र यहोयादा र तिनका छोराहरूले तिनलाई अभिषेक गरे । त्यसपछि तिनीहरूले भने, “राजा अमर रहून् ।”12 जब मानिसहरू दौडिरहेका र राजाको जयजयकार गरिरहेका हल्ला अतल्याहले सुनिन्, तब तिनी परमप्रभुको मन्दिरमा तिनीहरूकहाँ आइन्,13 र तिनले हेरिन् र हेर, राजा आफ्नो स्तम्भको छेउमा ढोकानेर खडा थिए र सेनापतिहरू र तुरही फुक्नेहरू राजाका छेउमा थिए । देशका सबै मानिसहरूले उत्सव मनाउँदै र तुरही बजाउँदै थिए । अनि गायकहरूले बाजाहरू बजाउँदै थिए र प्रशंसाको गानको नेतृत्व गरिरहेका थिए । तब अतल्याहले आफ्ना लुगा च्यातिन् र कराएर भनिन्, “राजद्रोह ! राजद्रोह !”14 तब यहोयादा पूजाहारीले फौजका सय-सयका दलका सेनापतिहरूलाई बाहिर ल्याए र तिनीहरूलाई भने, “तिनलाई मन्दिर बाहिर ल्याओ । तिनको पछि लाग्ने कुनै पनि व्यक्ति तरवारले मारियोस् ।” किनकि पूजाहारीले भनेका थिए, “तिनलाई परमप्रभुको मन्दिरमा नमार ।”15 यसैले तिनी राजाको घोडा ढोकामा आएको बेला तिनीहरूले तिनलाई समाते र तिनलाई त्यहीँ मारे ।16 त्यसपछि यहोयादाले आफू र सबै मानिसहरू र राजाको बीचमा तिनीहरू परमप्रभुको मानिस हुनुपर्छ भनी करार बाँधे ।17 यसैले सबै मानिसहरू बालको मन्दिरमा गए र त्यसलाई भत्काए । बालका वेदीहरू र त्यसका मूर्तिहरूलाई तिनीहरूले टुक्राटुक्रा पारे, र बालको पूजाहारी मत्तानलाई वेदीहरूका अगि मारे ।18 यहोयादाले परमप्रभुका मन्दिरको हेर-विचार गर्नको निम्ति पूजाहारीहरूका अधीनमा अधिकृतहरूको नियुक्ती गरे, जो लेवीहरू थिए । आफ्नो समयदेखि नै स्तुतिगान गर्दै र आनन्द मनाउँदै मोशाको व्यवस्थामा तोकिएबमोजिम र दाऊदले दिएको निर्देशन बमोजिम परमप्रभुको निम्ति होमबलि चढाउन र परमप्रभुको मन्दिरमा काम गर्न दाऊदले तिनीहरूलाई खटाइदिएका थिए ।19 अशुद्ध भएको कुनै मानिसलाई भित्र पस्न नदिनलाई यहोयादाले परमप्रभुको मन्दिरका मूल ढोकाहरूमा रक्षकहरू राखिदिए ।20 यहोयादाले सयका सेनापतिहरू, भारदारहरू, मानिसहरूका शासकहरू र देशका सारा मानिसहरूलाई साथमा लिए । तिनले राजालाई परमप्रभुको मन्दिरबाट तल ल्याए । मानिसहरू माथिल्लो ढोकाबाट भएर राजमहलमा पसे, र राजालाई सिंहासनमा बसाले ।21 यसरी देशका सारा मानिसहरू आनन्दित भए, र सहरमा शान्ति भयो । अतल्याहलाई तिनीहरूले तरवारले मारेका थिए ।