24
योआशले राज्‍य गर्न सुरु गर्दा तिनी सात वर्षका थिए । तिनले यरूशलेममा चालीस वर्ष राज्‍य गरे । तिनकी आमा बेर्शेबाकी सिब्या थिइन् ।2 यहोयादा पूजाहारीका समयभरि नै योआशले परमप्रभुको दृष्‍टिमा जे असल थियो सो गरे ।3 यहोयादाले तिनका निम्ति दुई वटी पत्‍नीहरू ल्याएदिए, र तिनी छोराछोरीहरूका पिता भए ।4 यसपछि यस्तो भयो, योआशले परमप्रभुको मन्‍दिरको पुननिर्माण गर्ने निर्णय गरे ।5 तिनले पूजाहारी र लेवीहरूलाई एकसाथ भेला गरे र तिनीहरूलाई भने, “हरेक वर्ष यहूदाका सहरहरूमा जाओ र सबै इस्राएलबाट परमप्रभुको मन्‍दिरको पुनर्निर्माण गर्नलाई पैसा जम्मा गर । तिमीहरू यो काम झट्टै सुरु गरिहाल ।” लेवीहरूले सुरुमा केही पनि गरेनन् ।6 यसैले राजाले प्रधान पूजाहारी यहोयादालाई बोलाए र तिनलाई भने, “करारका आदेशहरूका पालको निम्ति परमप्रभुका दास मोशा र इस्राएलको समुदायले लगाएको कर यहूदा र यरूशलेमबाट ल्याउन भनी लेवीहरूलाई किन भन्‍नुभएको छैन ?”7 किनकि ती दुष्‍ट स्‍त्री अतल्याहका छोराहरूले परमप्रभुको मन्‍दिर भत्काएका थिए र परमप्रभुको मन्‍दिरका सबै पवित्र थोक बाललाई दिएका थिए ।8 यसैले राजाले आदेश दिए र तिनीहरूले एउटा सन्‍दूक बनाए र त्‍यो परमप्रभुका मन्‍दिरको मूल ढोकाको बाहिर राख्‍ने हुकुम गरे ।9 तब तिनीहरूले यहूदा र यरूशलेमभरि नै परमेश्‍वरका दास मोशाले उजाडस्थानमा इस्राएलमाथि लगाएको तिरो मानिसहरूले परमप्रभुकहाँ ल्याउनुपर्छ भनी घोषणा गरे ।10 सबै अगुवा र सबै मानिसहरू आनन्‍दित भए र रकम ल्याए र त्‍यो सन्‍दूक नभरिएसम्म त्‍यसमा हाले ।11 यस्तो भयो, जब लेवीहरूले राजाका अधिकारीहरूकहाँ त्‍यो सन्‍दूक ल्याउँथे, र जब त्‍यसमा तिनीहरूले धेरै पैसा देख्थे, तब राजाका सचिव र प्रधान पूजाहारीका अधिकृत त्‍यो खाली गर्न आउँथे, र त्‍यो सन्‍दूक फेरि त्‍यसकै स्थानमा राखिदिन्‍थे । तिनीहरूले दिनदिनै त्‍यसो गरेर धेरै रुपियाँपैसा सञ्‍चय गरे ।12 राजा र यहोयादाले त्‍यो रुपियाँपैसा परमप्रभुको मन्‍दिरमा काम गर्न लाउने मानिसहरूको जिम्मामा दिए । ती मानिसहरूले मन्‍दिरको पुनर्निर्माण गर्न डकर्मी, सिकर्मीहरू, फलाम र काँसाको काम गर्नेहरूलाई ज्‍यालामा लगाए ।13 यसरी कामदारहरूले श्रम गरे, र तिनीहरूकै हातमा यस मर्मतको काम अगाडि बढ्‌यो । तिनीहरूले पहिलेकै नमूनाअनुसार परमप्रभुका मन्‍दिरको पुनर्निर्माण गरे र त्‍यसलाई बलियो बनाए ।14 जब तिनीहरूले त्‍यो काम सिध्‍याए, तब तिनीहरूले बाँकी बचेको रुपियाँपैसा राजा र यहोयादाकहाँ ल्याइदिए । ती पैसा परमप्रभुका मन्‍दिरमा चाहिने सामानहरूको निम्ति प्रयोग गरियो, सेवाको काम र होमबलिको काम दुवैका निम्ति भाँडाहरू - सुन र चाँदीका चम्चा र भाँडाहरू । यहोयादाको समयभरि नै तिनीहरूले परमप्रभुको मन्‍दिरमा निरन्‍तर होमबलि चढाए ।15 यहोयादा वृद्ध भए र दीर्घायु भए अनि त्‍यसपछि तिनी मरे । तिनको मृत्‍यु हुँदा तिनी एक सय तीस वर्षका थिए ।16 तिनीहरूले तिनलाई दाऊदको सहरमा राजाहरूकै चिहानमा गाडे, किनभने तिनले इस्राएलमा परमेश्‍वर र परमेश्‍वरको मन्‍दिरको निम्ति असल काम गरेका थिए ।17 यहोयादाको मृत्‍युपछि यहूदाका अधिकारीहरू राजाकहाँ आएर आदर देखाए । तब राजाले तिनीहरूका कुरा सुने ।18 तिनीहरूले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्‍वरको मन्‍दिरलाई त्‍यागे र अशेरा देवीका खम्बाहरू र मूर्तिहरूको पूजा गरे । तिनीहरूका यस खराबीले गर्दा यहूदा र यरूशलेममाथि परमेश्‍वरको क्रोध आइपर्‍यो ।19 तापनि तिनीहरूलाई फेरि आफूकहाँ फर्काएर ल्याउन परमप्रभुले अगमवक्ताहरू पठाउनुभयो । ती अगमवक्ताहरूले तिनीहरूका कामको विरुद्धमा बोले, तर तिनीहरूले त्‍यो सुन्‍नलाई इन्कार गरे ।20 यहोयादाका छोरा जकरिया पूजाहारीमाथि परमेश्‍वरका आत्मा आउनुभयो । जकरिया मानिसहरूका सामु खडा भए र तिनीहरूलाई भने, “परमेश्‍वर यसो भन्‍नुहुन्‍छः ‘तिमीहरू किन परमप्रभुका आज्ञा उल्लङ्‌घन गर्छौ, जसले गर्दा तिमीहरूले उन्‍नति गर्न सक्दैनौ ? तिमीहरूले परमप्रभुलाई त्‍यागेका हुनाले उहाँले पनि तिमीहरूलाई त्‍याग्‍नुभएको छ ।”21 तर तिनीहरूले तिनको विरुद्धमा षड्‌यन्‍त्र रचे । राजाको हुकुम पाएर तिनीहरूले परमप्रभुका मन्‍दिरको चोकमा ढुङ्‌गा हानेर तिनलाई मारे ।22 यस किसिमले, योआश राजाले जकरियाका बुबा यहोयादाले आफूप्रति गरेको दयालाई बेवास्ता गरे । बरु, यहोयादाका छोरालाई मारे । जब जकरियाको मृत्‍यु हुन लागेको थियो, तब तिनले यसो भने, “परमप्रभुले यो देख्‍नुभएको होस् र तिमीहरूका लेखा लिनुभएको होस् ।”23 वर्षको अन्‍त्‍यमा यस्तो भयो, अरामी छाउनीका फौज योआशको विरुद्धमा आयो । तिनीहरू यहूदा र यरूशलेममा आए । तिनीहरूले मानिसहरूका सबै अगुवाहरूलाई मारे र तिनीहरूबाट लूटका माल लिएर दमस्कसका राजालाई पठाइदिए ।24 अरामीहरू थोरै सिपाहीहरू लिएर आएका भए तापनि परमप्रभुले एउटा ठूलो फौजमाथि तिनीहरूलाई विजय दिनुभयो, किनभने यहूदाका मानिसहरूले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्‍वरलाई त्‍यागेका थिए । यसरी अरामीहरूले योआशमाथि दण्ड ल्याए ।25 अरामीहरू जाने बेलासम्म योआश गम्भीर रूपले घाइते भएका थिए । पूजाहारी यहोयादाका छोराहरूका मृत्‍युको कारणले तिनका आफ्नै सेवकहरूले तिनको विरुद्धमा षड्‌यन्‍त्र रचे । तिनको ओछ्यानमा तिनीहरूले तिनलाई मारे, र तिनी मरे । तिनीहरूले तिनलाई दाऊदको सहरमा गाडे, तर राजाहरूका चिहानमा चाहिँ होइन ।26 तिनको विरुद्धमा षड्‌यन्‍त्र गर्ने व्यक्तिहरू अम्मोनी स्‍त्री शिम्मतका छोरा जाबाद र मोआबी स्‍त्री शिम्रितका छोरा यहोजाबाद थिए ।27 अब तिनका सन्‍तानको विवरण, तिनको विषय गरिएका महत्त्वपूर्ण अगमवाणीहरू, र परमेश्‍वरको मन्‍दिरको पुनर्निर्माण गर्ने कामका विषय, हेर, ती राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन् । तिनका छोरा अमस्याह तिनको ठाउँमा राजा भए ।