22
यरूशलेमका बासिन्दाहरूले यहोरामको सट्टामा तिनका कान्छा छोरा अहज्याहलाई राजा बनाए, किनकि आक्रमणमा अरबीहरूसित मिलेर आएका मानिसका झुण्डले तिनका सबै ठूला छोराहरूलाई मारेका थिए । यसैले यहूदाका राजा यहोरामका छोरा अहज्याह राजा भए ।2 अहज्याहले राज्य गर्न सुरु गर्दा तिनी बाईस वर्षका थिए । तिनले यरूशलेममा एक वर्ष राज्य गरे । तिनकी आमाको नाउँ अतल्याह थियो । तिनी ओम्रीकी छोरी थिइन् ।3 तिनी पनि आहाबको घरानाका चालमा हिँडे, किनकि दुष्ट कुराहरू गर्नलाई तिनकी आमा सल्लाहकार थिइन् ।4 आहाबको घरानाले गरेझैँ अहज्याहले परमप्रभुको दृष्टिमा जे खराब थियो सो गरे, किनकि तिनका बुबाको मृत्युपछि तिनीहरू नै तिनको पतन गराउने सल्लाहकारहरू थिए ।5 तिनीहरूका सल्लाहको अनुसरण पनि तिनले गरे । तिनी इस्राएलका राजा आहाबका छोरा योरामसित मिलेर रामोत-गिलादमा अरामका राजा हजाएलको विरुद्धमा युद्ध गर्न गए । अरामीहरूले योरामलाई घाइते बनाए ।6 रामोतमा अरामका राजा हजाएलसँग भएको युद्धमा पाएको चोटबाट निको हुन तिनी यिजरेलमा फर्केर गए । यसैले यहूदाका राजा यहोरामका छोरा अहज्याह योरामलाई हेर्न भनी यिजरेलमा गए, किनभने योराम घाइते भएका थिए ।7 अहज्याहले योरामलाई भेटेको कारण परमप्रभुले अहज्याहको पतन ल्याउनुभयो । जब तिनी आइपुगेका थिए, तब तिनी योरामसँग निम्शीका छोरा येहूलाई आक्रमण गर्न गए, जसलाई परमप्रभुले आहाबको घरानालाई नाश गर्नको निम्ति रोज्नुभएको थियो ।8 यस्तो भयो, जब येहूले आहाबको घरानामाथि परमेश्वरको न्याय पूरा गर्दै थिए, तब यहूदाका अगुवाहरू र अहज्याहका दाजुहरूका छोराहरूले अहज्याहको सेवा गरिरहेको तिनले भेट्टाए । येहूले तिनीहरूलाई मारे ।9 येहूले अहज्याहलाई खोजे । तिनीहरूले तिनलाई सामरियामा लुकिरहेको अवस्थामा समाते, तिनलाई येहूकहाँ ल्याए र तिनलाई मारे । त्यसपछि तिनीहरूले तिनलाई गाडे, किनकि तिनीहरूले भने, “यिनी आफ्नो पूरा हृदयले परमप्रभुलाई खोज्ने यहोशापातका छोरा हुन् ।” यसरी राज्यमा शासन गर्नलाई अहज्याहका घरानासँग फेरि कुनै शक्ति बाँकी रहेन ।10 अब अहज्याहकी आमा अतल्याहले आफ्ना छोरा मरेका देखिन्, तिनी उठिन् र यहूदाका सारा राजकीय सन्तानहरूलाई मारिन् ।11 तर राजाकी छोरी यहोशेबाले अहज्याहका छोरा योआशलाई मारिन लागेका राजाका छोराहरूका बीचबाट सुटुक्क भगाएर लगिन् । तिनले त्यसलाई र त्यसकी धाईआमालाई एउटा सुत्ने कोठाभित्र राखिन् । यहोराम राजाकी छोरी र पूजाहारी यहोयादाकी पत्नी यहोशेबाले (किनकि तिनी अहज्याहकी दिदी थिइन्) योआशलाई अतल्याहको हातबाट लुकाइराखिन्, जसले गर्दा अतल्याहले त्यसलाई मार्न पाइनन् ।12 अतल्याहले देशमा राज्य गर्दा तिनी परमप्रभुको मन्दिरमा छ वर्षसम्म तिनीहरूसँगै लुकाएर राखिए ।