21
यहोशापात आफ्ना पुर्खाहरूसित सुते र तिनीहरूसँगै दाऊदको सहरमा गाडिए । तिनका ठाउँमा तिनका छोरा यहोराम राजा भए ।2 यहोरामका भाइहरू, यहोशापातका छोराहरू अजर्याह, यहीएल, जकरिया, अजर्याह, मिखाएल र शपत्‍याह थिए । यी सबै इस्राएलका राजा यहोशापातका छोराहरू थिए ।3 तिनका बुबाले तिनीहरूलाई सुन, चाँदी र बहुमूल्य थोकहरूका ठूला उपहारहरू र यहूदाका किल्ला भएका सहरहरू पनि दिए, तर राज्‍यचाहिँ तिनले यहोरामलाई नै दिए ।4 जब यहोराम आफ्ना बुबाको राज्‍यमा उदाएका र आफैलाई राजाको रूपमा बलियोसँग स्थापित गरेका थिए, तब तिनले आफ्ना सबै भाइहरूलाई र इस्राएलका धेरै जना अगुवाहरूलाई तरवारले मारे ।5 यहोरामले राज्‍य गर्न सुरु गर्दा तिनी बत्तीस वर्षका थिए र तिनले येरूशलेममा आठ वर्ष राज्‍य गरे ।6 आहाबका घरानाले गरेझैँ तिनी इस्राएलका राजाहरूका चालमा हिँडे, किनकि तिनले आहाबकी छोरीलाई आफ्नी पत्‍नीको रूपमा ल्याए, र तिनले परमप्रभुको दृष्‍टिमा जे खराब थियो सो गरे ।7 तापनि दाऊदसित परमप्रभुले गर्नुभएको करारको खातिर उहाँले दाऊदको घरानालाई नाश गर्ने इच्‍छा गर्नुभएन । उहाँले दाऊद र तिनका सन्‍तानहरूलाई सधैँ जीवन दिने प्रतिज्ञा गर्नुभएको थियो ।8 यहोरामको समयमा एदोमले यहूदाको अधीनताको विरोध गर्‍यो, र तिनीहरूले आफ्नै राजा स्थापित गरे ।9 तब यहोराम आफ्ना सेनाहरू र सबै रथहरूका साथमा एदोमतिर गए । तिनी उठेर एदोमीहरूसँग युद्ध गर्दा रात परेको थियो । एदोमीहरूले तिनी र तिनका रथका सेनापतिहरूलाई घेरेका थिए ।10 यसैले एदोम आजको दिनसम्मै यहूदाको अधीनताको विरुद्धमा छ । त्‍यसै बेला लिब्‍नाले पनि तिनको अधीनताको विरुद्धमा विद्रोह गर्‍यो, किनभने यहोरामले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्‍वरलाई त्‍यागेका थिए ।11 यसबाहेक यहोरामले यहूदाका पहाडमा अग्‍ला ठाउँहरू पनि बनाएका थिए र तिनले यरूशलेमका बासिन्‍दाहरूलाई वेश्याहरू जस्‍तै जिउने बनाए र यहूदालाई कुमार्गमा लगाए ।12 एलिया अगमवक्ताबाट यहोरामकहाँ एउटा पत्र आयो । त्‍यसमा लेखिएको थियो, “तपाईंका पुर्खा दाऊदका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः ‘तँ आफ्ना बुबा यहोशापात चालमा चलिनस्, न त यहूदाका राजा आसाको चालमा नै चलिस्,13 तर आहाबको घरानाले गरेझैँ इस्राएलका राजाहरूका चालमा चलेर आहाबको परिवारले गरे जस्‍तै तैँले यहूदा र यरूशलेमका बासिन्‍दाहरूलाई वेश्याहरू जस्‍तै गर्न लगाइस्, र तैँले तँ भन्‍दा असल तेरा बुबाका परिवारका आफ्नै भाइहरू, तँ भन्‍दा असल मानिसहरू पनि तैँले मारिस् -14 हेर्, तेरा मानिसहरू, तेरा छोराछोरीहरू, तेरी पत्‍नीहरू र तेरा सबै धन-सम्पत्तिमा परमप्रभुले प्रहार गर्नुहुनेछ ।15 तँ आफैलाई चाहिँ निको नहुने आन्‍द्राको रोग हुनेछ । त्‍यसले गर्दा दिनदिनै तेरा आन्‍द्राहरू बाहिर निस्केर आउनेछन् ।”16 परमप्रभुले यहोरामको विरुद्धमा कूशीहरूका नजिकै बस्‍ने पलिश्ती र अरबीहरूलाई उक्साउनुभयो ।17 तिनीहरूले यहूदालाई हमला गरेर आक्रमण गरे र राजाको महलमा फेला पारेका सबै धन-सम्पत्ति लिएर गए । तिनीहरूले तिनका छोराहरू र पत्‍नीहरू पनि लगे । कान्‍छा छोरा अहज्‍याहबाहेक तिनका कुनै छोरा पनि बाँकी रहेन ।18 यी सबै भएपछि परमप्रभुले यहोरामलाई निको नहुने रोगले आन्‍द्रामा प्रहार गर्नुभयो ।19 त्‍यस रोगले तिनलाई केही समयसम्म सताइरह्यो । अनि दोस्रो वर्षको अन्‍तमा त्‍यही रोगले तिनका आन्‍द्रा बाहिर निस्के, र तिनी गम्भीर रोगले मरे । तिनको सम्मान गर्नलाई तिनका मानिसहरूले आगो बालेनन्, जस्‍तो तिनीहरूले तिनका पुर्खाहरूका निम्ति गरेका थिए ।20 तिनी बत्तीस वर्षको हुँदा तिनले राज्‍य गर्न सुरु गरेका थिए । तिनले यरूशलेममा आठ वर्ष राज्‍य गरे, र तिनी मर्दा कसैले पनि शोक गरेन । तिनीहरूले तिनलाई दाऊदको सहरमा गाडे, तर राजाहरूका चिहानमा होइन ।