20
यसपछि यस्तो हुन आयो, मोआब र अम्मोनका मानिसहरू र तिनीहरूसँग केही मोनीहरू यहोशापातको विरुद्धमा युद्ध गर्न आए ।2 त्‍यसपछि केही यहोशापातकहाँ यसो भन्‍दै आए, “मृत-सागर पारि एदोमदेखि एउटा ठूलो भीड तपाईंको विरुद्धमा आइरहेछ । हेर्नहोस्, तिनीहरू हासेसोन-तामार, अर्थात् एन-गदीमा छन् ।”3 यहोशापात डराए र परमप्रभुको खोजी गर्न अलग्गै गए । यहूदाभरि तिनले उपवासको घोषणा गरे ।4 परमप्रभुको खोजी गर्न यहूदाका मानिसहरू एकसाथ भेला भए । यहूदाका सबै सहरबाट तिनीहरू परमप्रभुको खोजी गर्न आए ।5 यहूदा र यरूशलेमका सभाको सामु परमप्रभुका मन्‍दिरको नयाँ चोकको अगि यहोशापात खडा भए ।6 तिनले भने, “हे परमप्रभु, हाम्रा पुर्खाहरूका परमेश्‍वर, के तपाईं स्वर्गका परमेश्‍वर हुनुहुन्‍न र ? के तपाईं जातिहरूका सबै राज्‍यहरूका शासक हुनुहुन्‍न र ? शक्ति र बल तपाईंका हातमा छन् । यसैले कसैले पनि तपाईंको विरोध गर्न सक्दैन ।7 हे हाम्रा परमेश्‍वर, के तपाईंले नै आफ्नो मानिसहरू इस्राएलका सामुबाट यस देशका बासिन्‍दाहरूलाई धपाउनुभएको र यसलाई सदासर्वदाको निम्ति अब्राहामका सन्‍तानलाई दिनुभएको होइन र ?8 तिनीहरू यसमा बसे र यसमा यसो भनेर एउटा पवित्रस्थान बनाए,9 ‘हामीमाथि विपत्ति - तरवार, न्‍याय, वा रोग,वा अनिकाल आउँछ भने - हामी यस मन्‍दिरको अगि र तपाईंको अगि खडा हुनेछौँ (किनकी तपाईंको नाउँ यस मन्‍दिरमा छ), र हाम्रो कष्‍टमा हामी तपाईंसित पुकारा गर्नेछौँ, र तपाईंले हाम्रा बिन्‍ती सुन्‍नुहुनेछ र हामीलाई बचाउनुहुनेछ ।’10 अब हेर्नुहोस्, यहाँ अम्मोन, मोआब, र सेइर पर्वतका मानिसहरू छन्, जसलाई तपाईंले मिश्र देशबाट आउँदा इस्राएललाई आक्रमण गर्न दिनुभएन । बरु, इस्राएल तिनीहरूबाट तर्केर गए र तिनीहरूलाई नष्‍ट गरेनन् ।11 हेर्नुहोस्, यिनीहरूले हामीलाई कस्तो प्रतिफल दिइरहेका छन् । तपाईंले हामीलाई अधिकार गर्न दिनुभएको ठाउँदेखि हामीलाई धपाउन तिनीहरू आउँदै छन् ।12 हे हाम्रा परमेश्‍वर, के तपाईं उनीहरूको न्‍याय गर्नुहुन्‍न र ? किनकि हाम्रो विरूद्धमा आइरहेको यो ठूलो फौजको सामना गर्ने शक्ति हामीसँग छैन । हामीले के गर्नुपर्ने हो सो हामी जान्‍दैनौँ, तर हाम्रा दृष्‍टि तपाईंमा छन् ।”13 सारा यहूदा आफ्ना ससाना बालबालिकाहरू, पत्‍नीहरू र छोराछोरीहरूसमेत परमप्रभुको अगि खडा भए ।14 तब सभाको बीचमा आसापका सन्‍तानहरूमध्‍येका एक जना लेवी, मत्तन्‍याहका जनाति, यहीएलका पनाति, बनायाहका नाति र जकरियाका छोरा यहासेलमाथि परमप्रभुका आत्मा आउनुभयो ।15 यहासेलले भने, “हे सारा यहूदा र यरूशलेमका सबै बासिन्‍दा र राजा यहोशापात, सुन्‍नुहोस् । परमप्रभु तपाईंहरूलाई यही भन्‍नुहुन्‍छ, ‘नडराओ, यस ठूलो फौजका कारणले हतास नहोओ, किनकि लडाइँ तपाईंहरूको होइन, तर परमप्रभुको हो ।16 तिमीहरू भोलि उनीहरूका विरुद्धमा जानुपर्छ । हेर, उनीहरू जीजको बाटो भएर आउँदैछन् । तिमीहरूले उनीहरूलाई बेँसीको पल्लो छेउमा यरूएलको उजाडस्थान अगि भेट्नेछौ ।17 यो लडाइँ तिमीहरूले लड्नुपर्नेछैन । ए यहूदा र यरूशलेम, आफ्नो पङ्‌क्तिमा खडा होओ, स्थिर खडा होओ, र परमप्रभुले तिमीहरूलाई बचाउनुभएको कामलाई हेर । नडराओ, न त हतास होओ । तिनीहरूको विरुद्धमा भोलि निस्केर जाओ, किनकि परमप्रभु तिमीहरूसँग हुनुहुन्‍छ’ ।”18 यहोशापातले आफ्नो शिरलाई भुइँमा घोप्‍टो पारे । यहूदा र यरूशलेमका सबै बासिन्‍दाहरू परमप्रभुको आराधना गर्दै उहाँको सामुन्‍ने घोप्‍टो परे ।19 कहाती र कोरहका वंशका कोही लेवीहरू चर्को स्‍वरमा परमप्रभु इस्राएलका परमेश्‍वरको प्रशंसा गर्न खडा भए ।20 तिनीहरू बिहान सबेरै उठे र निस्केर तकोको उजाडस्थानमा गए । जब तिनीहरू निस्केर गए, तब यहोशापात खडा भए र भने, “हे यहूदा र यरूशलेमका बासिन्‍दा हो, मेरो कुरा सुन । परमप्रभु आफ्ना परमेश्‍वरमा भरोसा राख र तिमीहरूलाई सहायता मिल्नेछ । उहाँका अगमवक्ताहरूमाथि भरोसा गर, र तिमीहरू सफल हुनेछौ ।”21 मानिसहरूसित सल्लाह लिएपछि, परमप्रभुको निम्ति गाउने र उहाँको प्रशंसा गर्नेहरूलाई तिनीहरू हिँड्दै गर्दा, उहाँको महान् वैभवताको प्रशंसा गरेर यसो भन्‍दै गाउनलाई केहीलाई तिनले नियुक्त गरे, “परमप्रभुलाई धन्‍यवाद देओ, किनकि उहाँको करारको विश्‍वसनीयता सदासर्वदा रहिरहन्‍छ ।”22 जब तिनीहरूले गाउन र प्रशंसा गर्न सुरु गरे, तब परमप्रभुले यहूदासँग युद्ध गर्न आइरहेका अम्मोनी, मोआबी र सेइर पर्वतका मानिसहरूको विरूद्धमा ढुकेर आक्रमण गर्ने मानिसहरू खडा गर्नुभयो । उनीहरू परास्त भए ।23 किनकि सेइर पर्वतका मानिसहरूलाई पूर्ण रूपले मारेर सिध्‍याउन र तिनीहरूलाई नाश गर्न भनेर अम्मोनी र मोआबीहरू तिनीहरूका विरुद्धमा उठे । जब तिनीहरूले सेइरका बासिन्‍दाहरूलाई नाश गरेर सिध्‍याए, तब तिनीहरू सबैले एक-अर्कालाई नाश गर्न मदत गरे ।24 जब यहूदाका मानिसहरू उजाडस्थान देखिने अग्‍लो ठाउँमा आइपुगे, तब तिनीहरूले फौजलाई हेरे । हेर, तिनीहरू मरेर भूइँमा ढलेका थिए । एक जना पनि बाँचेको थिएन ।25 जब यहोशापात र तिनका मानिसहरू उनीहरूका लूटका माल जम्मा गर्न आए, तिनीहरूले उनीहरूका बीचमा प्रशस्त सामानहरू, लुगाफाटा र बहुमूल्य थोकहरू भेटाए, जुन तिनीहरूले बोक्‍न सक्‍ने भन्‍दा धेरै आफूसँग लगे । लूटका माल ओसार्न तिनीहरूलाई तीन दिन लाग्यो । त्‍यो साह्रै धेरै थियो ।26 चौथो दिन तिनीहरू बराकाहको बेँसीमा भेला भए । तिनीहरूले त्‍यहाँ परमप्रभुको प्रशंसा गरे । यसैले त्‍यस ठाउँको नाउँ आजको दिनसम्म पनि, ‘बराकाहको बेँसी’ रहेको छ ।27 त्‍यसपछि यहूदा र यरूशलेमका हरेक मानिस यहोशापातलाई अगि लगाएर विजयको साथ यरूशलेम जानलाई फर्के, किनकि परमप्रभुले तिनीहरूका शत्रुमाथि तिनीहरूलाई आनन्‍दित तुल्याउनुभएको थियो ।28 तिनीहरू वीणा, सितार र तुरही बजाउँदै यरूशलेममा र परमप्रभुको मन्‍दिरमा आए ।29 परमप्रभुले इस्राएलका शत्रुहरूका विरुद्धमा युद्ध गर्नुभएको कुरा सुनेर सबै देशका राज्‍यहरूमा परमेश्‍वरको भय फैलियो ।30 यसरी यहोशापातको राज्‍यमा शान्‍ति भयो, किनकि तिनका परमेश्‍वरले तिनका चारैतिरबाट तिनलाई शान्‍ति दिनुभयो ।31 यहोशापातले यहूदामाथि राज्‍य गरेः तिनले राज्‍य गर्न सुरु गर्दा तिनी पैँतीस वर्षका थिए, र तिनले यरूशलेममा पच्‍चीस वर्ष राज्‍य गरे । तिनकी आमाको नाउँ अजूबा थियो, र तिनी शिल्हीकी छोरी थिइन् ।32 तिनी आफ्ना बुबा आसाका चालमा हिँडे । तीबाट तिनी तर्केर गएनन् । परमप्रभुको दृष्‍टिमा जे असल थियो सो तिनले गरे ।33 तापनि तिनले डाँडाका थानहरू हटाएनन् । मानिसहरूले अझैसम्म पनि आफ्ना पुर्खाहरूका परमेश्‍वरमाथि आफ्नो हृदय लगाएनन् ।34 यहोशापातको राजकालका अरू घटनाहरू सुरुदेखि अन्‍त्‍यसम्म नै हनानीका छोरा येहूको इतिहासमा लेखिएका छन्, जुन इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन् ।35 त्‍यसपछि यहूदाका राजा यहोशापातले इस्राएलका राजा अहज्‍याहसँग मित्रता गरे, जसले धेरै दुष्‍ट काम गरे ।36 तर्शीशमा जाने जहाजहरू बनाउनको निम्ति तिनले उनीसँग मित्रता गरे । तिनीहरूले एस्योन-गेबेरमा जहाजहरू बनाए ।37 तब मारेशाका दोदाबाहुका छोरा एलीएजरले यहोशापातको विरुद्धमा अगमवाणी बोले । तिनले भने, “तपाईंले अहज्‍याहसँग मित्रता गर्नुभएको हुनाले, परमप्रभुले तपाईंका योजनाहरू नष्‍ट पार्नुभएको छ ।” ती जहाजहरू नष्‍ट भए ताकि ती तैरन सकेनन् ।