19
यहूदाका राजा यहोशापात सुरक्षासाथ यरूशलेमको आफ्नो दरबारमा फर्के ।2 तब हनानीका छोरा दर्शी येहू तिनलाई भेट्न आए र यहोशापात राजालाई भने, “के दुष्‍टलाई तपाईंले सहायता गर्नुपर्छ र ? के परमप्रभुलाई घृणा गर्नेहरूलाई तपाईंले प्रेम गर्नुपर्छ र ? यस कामको कारणले गर्दा परमप्रभुको क्रोध तपाईंमाथि परेको छ ।3 तापनि तपाईंमा केही असल कुरा छन्, किनभने तपाईंले अशेराका खम्बाहरूलाई देशबाट हटाउनुभएको छ, र तपाईंले आफ्नो हृदय परमप्रभुलाई खोज्‍नमा लाउनुभएको छ ।”4 यहोशापात यरूशलेममा बसे । अनि तिनी फेरि बेर्शेबादेखि एफ्राइमको पहाडी देशमा मानिसहरूका माझमा गए र तिनीहरूलाई परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्‍वरकहाँ फर्काएर ल्याए ।5 यहूदाका किल्लाबन्‍दी गरिएका सबै सहरहरूमा तिनले न्‍यायकर्ताहरू नियुक्त गरे ।6 तिनले न्‍यायकर्ताहरूलाई भने, “तिमीहरूले गर्ने कुरामा ध्‍यान देओ, किनभने तिमीहरूले मानिसहरूका निम्ति होइन तर परमप्रभुको निम्ति फैसला गर्दछौ । फैसलाको क्रममा उहाँ नै तिमीहरूसँग हुनुहुन्‍छ ।7 यसैले अब, परमप्रभुको भय तिमीहरूमा रहोस् । न्‍याय गर्दा होशियार होओ, किनकि परमप्रभु हाम्रा परमेश्‍वरमा अधर्म हुँदैन, नता उहाँमा पक्षपात र घूस लिने काम नै हुन्‍छ ।”8 यसबाहेक यहोशापातले यरूशलेममा केही लेवीहरू र पूजाहारीहरू, र इस्राएलका पुर्ख्यौली घरानाका केही अगुवाहरूलाई परमप्रभुको न्‍याय कायम राख्‍न र झगडाहरू मिलाउन नियुक्त गरे । तिनीहरू यरूशलेममा बसे ।9 तिनले उनीहरूलाई यसो भनेर निर्देशन दिए, “तिमीहरूले सधैँ परमेश्‍वरको भय राखेर विश्‍वाससित र आफ्ना सारा हृदयले काम गर्नुपर्छ ।10 जब आफ्ना सहरमा बस्‍ने तिमीहरूका दाजुभाइहरूबाट तिमीहरूका सामु कुनै पनि मुद्दा आउँछन्, चाहे ती रक्तपातसम्बन्धी होउन्, वा व्यवस्था र आज्ञा, विधिहरू वा आदेशहरूका विरुद्धमा होउन्, तिमीहरूले तिनीहरूलाई चेताउनी दिनू, ताकि तिनीहरू परमप्रभुको अगि दोषी नठहरिऊन्, नत्रता तिमीहरू र तिमीहरूका दाजुभाइहरूमा क्रोध आइपर्नेछ । तिमीहरूले यसो गर्नू र तिमीहरू सबै दोषी ठहरिनेछैनौ ।11 हेर, परमप्रभुका सबै विषयमा मुख्य पूजाहारी अमर्याह तिमीहरूमाथि छन् । राजाका सम्बन्धमा सबै विषयमा यहूदाका घरानाका अगुवा इश्माएलका छोरा जबदियाह निरीक्षक छन् । साथै लेवीहरूले अधिकारीहरूका रूपमा तिमीहरूका सेवा गर्नेछन् । बलिया होओ र तिमीहरूलाई दिइएका निर्देशनहरू पालना गर, र असल गर्नेहरूका साथमा परमप्रभु रहनुभएको होस् ।”