14
अबिया आफ्ना पुर्खाहरूसित सुते र तिनीहरूले उनलाई दाऊदको सहरमा गाडे । तिनको ठाउँमा तिनका छोरा आसा राजा भए । तिनको समयमा दश वर्षसम्म देशमा शान्‍ति भयो ।2 आसाले परमप्रभु आफ्ना परमेश्‍वरको दृष्‍टिमा जे कुरा असल र ठीक थियो त्‍यही गरे,3 किनकि तिनले विदेशी वेदीहरू र डाँडाका थानहरू हटाए । तिनले ढुङ्‌गाका खम्बाहरू भत्काइदिए, र अशेरा देवीका खम्बाहरूलाई ढालिदिए ।4 तिनले यहूदालाई परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्‍वरको खोजी गर्ने, र व्यवस्था र आज्ञाहरू पालन गर्ने हुकुम गरे ।5 साथै तिनले यहूदाका सबै सहरहरूमा भएका अग्‍ला थानहरू र धूप बाल्ने वेदीहरू पनि हटाइदिए । तिनको अधीनमा देशले शान्‍ति पायो ।6 तिनले यहूदामा किल्ला भएका सहरहरू निर्माण गरे, किनकि देशमा शान्‍ति थियो, र ती वर्षहरूमा तिनले युद्ध गर्नु परेन, किनभने परमप्रभुले तिनलाई शान्‍ति दिनुभएको थियो ।7 किनकि आसाले यहूदालाई भने, “हामी यी सहरको निर्माण गरौँ र तिनका चारैतिर पर्खाल, धरहरा, ढोका र बारहरू बनाऔँ । यो देश अझ हाम्रै हो, किनभने हामीले परमप्रभु हाम्रा परमेश्‍वरको खोजी गरेका छौँ । हामीले उहाँलाई खोज्‍यौँ, र हरेकतिरबाट उहाँले हामीलाई शन्‍ति दिनुभएको छ ।” यसैले तिनीहरूले निर्माण गरे र सफल भए ।8 आसाका ढाल र भालाहरू बोक्‍ने फौज थियो । यहूदाबाट तीन लाख मानिसहरू र बेन्‍यामीनबाट दुई लाख असी हजार मानिसहरू थिए जो ढालहरू बोक्‍थे र धनुर्धारीहरू थिए । ती सबै शक्तिशाली योद्धाहरू थिए ।9 कूशी जेरह तिनीहरूका विरुद्धमा दश लाख फौज र तीन सय रथ लिएर आए । तिनी मारेशामा आइपुगे ।10 तब आसा उनको सामना गर्न निस्केर आए, र मारेशानेरको सपताको बेँसीमा तिनीहरूले एक-अर्कामा युद्ध गरे ।11 आसाले परमप्रभु आफ्ना परमेश्‍वरसित पुकारा गरे र भने, “हे परमप्रभु, धेरै जनाको सामना गर्नुपर्दा जससँग बल छैन त्‍यसलाई सहायता गर्ने तपाईंबाहेक अरू कोही पनि छैन । हे परमप्रभु हाम्रा परमेश्‍वर, हामीलाई सहायता गर्नुहोस्, किनकि हामी तपाईंमा भर पर्छौं, र तपाईंकै नाउँमा यस ठूलो फौजको विरुद्धमा सामना गर्न हामी आएका छौँ । हे परमप्रभु, तपाईं हाम्रा परमेश्‍वर हुनुहुन्‍छ । मानिसले तपाईंलाई पराजित गर्न नदिनुहोस् ।”12 यसैले परमप्रभुले आसा र यहूदाको सामु कूशीहरूलाई प्रहार गर्नुभयो । कूशीहरू भागे ।13 आसा र तिनीसित भएका फौजले उनीहरूलाई गरारसम्म खेदे । यति धेरै कूशीहरू ढले कि तिनीहरू फेरि खडा हुन सकेनन्, किनकि तिनीहरू परमप्रभु र उहाँका फौजका सामु पूर्ण रूपले नष्‍ट भए । फौजले धेरै मात्रामा लूटका समान लिएर आए ।14 फौजले गरारका चारैतिरका सबै बस्तीलाई नाश गरे, किनकि त्‍यहाँका बासिन्‍दाहरूमा परमप्रभुको त्रास परेको थियो । फौजले सबै बस्तीमा लूट मच्‍चाए र तिनीहरूसित धेरै लूटका माल भए ।15 फौजले धेरै फिरन्‍ते गोठालाहरूका पालका बस्तीहरूसमेत नाश गरे । तिनीहरूले प्रशस्त मात्रामा भेडा र ऊँटहरू लिएर आए, र त्‍यसपछि तिनीहरू यरूशलेममा फर्के ।