13
राजा यारोबामको अठारौँ वर्षमा, अबियाले यहूदामा राज्‍य गर्न सुरु गरे ।2 तिनले यरूशलेममा तीन वर्ष राज्‍य गरे । तिनकी आमा गिबाका उरीएलकी छोरी माका थिइन् । अबिया र यारोबामका बीचमा युद्ध भयो ।3 अबिया चार लाख छानिएका बलिया र वीर योद्धाहरू लिएर युद्ध गर्न गए । यारोबामले छानिएका बलिया र वीर आठ लाख योद्धाहरू लडाइँको निम्ति तैनाथ गरे ।4 अबिया एफ्राइमको पहाडी देशमा भएको समारैम डाँडामा खडा भए र यसो भने, “हे यारोबाम र सारा इस्राएल हो, मेरो कुरा सुन !5 परमप्रभु इस्राएलका परमेश्‍वरले औपचारिक करारद्वारा सधैँको निम्ति दाऊद र तिनका सन्‍तानलाई इस्राएलमाथि शासन गर्न दिनुभएको कुरा के तिमीहरूलाई थाहा छैन ?6 तापनि दाऊदका छोरा सोलोमनका सेवक नबातका छोरा यारोबाम उठ्‌यो र आफ्ना मालिकको विरुद्धमा बागी भयो ।7 केही बेकम्मा बदमाशहरू त्‍यसको साथमा भेला भए । तिनीहरू सोलोमनका छोरा रहबामको विरुद्धमा आए, जति बेला रहबाम कलिलै र अनुभव नभएको र तिनीहरूको सामना गर्न नसक्‍ने अवस्थामा थिए ।8 यसैले तिमीहरूसँग एउटा ठूलो फौज भएको हुनाले र तिमीहरूसँग देवताहरू हुनलाई यारोबामले बनाएका यी सुनका बाछाहरू तिमीहरूसँग भएको हुनाले, अब तिमीहरू दाऊदका सन्‍तानहरूका हातमा भएको परमप्रभुका राज्‍यको विरुद्धमा खडा हुने योजना गर्दछौ ।9 तर के तिमीहरूले हारूनको वंशका परमप्रभुका पूजाहारीहरू र लेवीहरूलाई लखेट्ने र अरू देशका मानिसहरूले गरेझैँ आफ्नै पूजाहारीहरूलाई नियुक्त गरेनौ र ? जुनसुकै मानिस पूजाहारी भएर सेवा गर्नलाई एउटा बाछो र सात वटा भेडा लिएर आउँछ, त्‍यो जो देवताहरू नै होइनन्, त्‍यसको पूजाहारी बन्‍छ ।10 तर हाम्रा बारेमा त, परमप्रभु नै हाम्रा परमेश्‍वर हुनुहुन्‍छ, र हामीले उहाँलाई त्‍यागेका छैनौँ । हामीसँग परमप्रभुको सेवा गर्ने हारूनका सन्‍तानहरू पूजाहारीको रूपमा छन्, र आफ्नो काम गर्ने लेवीहरू छन् ।11 तिनीहरू हरेक बिहान र बेलुकी परमप्रभुको निम्ति होमबलि र सुगन्धित धूप चढ़ाउँछन् । पवित्र टेबिलमा उपस्थितिको रोटीलाई मिलाएर राख्‍ने काम पनि तिनीहरू गर्छन् । तिनीहरू बेलुकैपिच्‍छे सुनको सामदानमा भएका बत्तीहरू बाल्दछन् । हामी परमप्रभु हाम्रा परमेश्‍वरका आज्ञा पालना गर्छौँ, तर तिमीहरूले उहाँलाई त्‍यागेका छौ ।12 हेर, परमेश्‍वर हाम्रा शिरमा हामीसँग हुनुहुन्‍छ, र उहाँका पूजाहारीहरू तिमीहरूका विरुद्धमा खतराको सङ्‍केत दिनलाई तुरही लिएर यहाँ छन् । हे इस्राएलका मानिसहरू हो, परमप्रभु तिमीहरूका पुर्खाहरूका परमेश्‍वरको विरुद्धमा युद्ध नगर, किनकि तिमीहरू सफल हुनेछैनौ ।”13 तर यारोबामले आफ्नो फौजको एक दल पछिल्तिर गएर ढुकिबस्‍नलाई पठाएका थिए, र तिनको फौज चाहिँ यहूदा, र तिनीहरूको पछाडि ढुकेर बसेका फौज थिए ।14 जब यहूदाका मानिसहरूले पछाडि हेरे, तब हेर, लडाइँ आफ्नो अगाडि र पछाडि दुवैतिर भएको देखे । तिनीहरूले परमप्रभुमा पुकारा गरे, र पूजाहारीहरूले आफ्ना तुरहीहरू फुके ।15 त्‍यसपछि यहूदाका मानिसहरूले ठूलो स्‍वरले कराए । जब तिनीहरूले ठूलो स्‍वरले कराए, तब परमेश्‍वरले यारोबाम र सबै इस्राएललाई अबिया र यहूदाको सामुन्‍ने प्रहार गर्नुभयो ।16 इस्राएलका मानिसहरू यहूदाका सामुन्‍नेबाट भागे, र परमेश्‍वरले तिनीहरूलाई यहूदाको हातमा सुम्पिदिनुभयो ।17 अबिया र तिनका फौजले ठूलो सङ्ख्यामा तिनीहरूको हत्‍या गरे । इस्राएलका पाँच लाख चुनिएका मानिसहरू मरेर ढले ।18 यसरी इस्राएलका मानिसहरूलाई त्‍यस बेला पराजित गरियो । यहूदाका मानिसहरूले जिते, किनभने तिनीहरूले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्‍वरमाथि भरोसा गरे ।19 अबियाले यारोबामलाई खेदे । तिनले उनीबाट बेथेल र त्‍यसका बस्ती, येशना र त्‍यसका बस्ती, अनि एप्रोन र त्‍यसका बस्तीसमेत कब्जा गरे ।20 अबियाको शासनको समयमा यारोबामले फेरि आफ्नो शक्ति कदापि प्राप्‍त गर्न सकेनन् । परमप्रभुले उनलाई प्रहार गर्नुभयो, र उनी मरे ।21 तर अबिया शक्तिशाली भए । तिनले आफ्नो निम्ति चौध जना पत्‍नी ल्याए, र बाइस छोराहरू र सोह्र छोरीहरूका पिता भए ।22 अबियाका बाँकी कामहरू र तिनका व्यवहार र वचनहरू इद्दो अगमवक्ताको इतिहासमा लेखिएका छन् ।